१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कुनले बढायाे संक्रमण ? ओमिक्राेन कि डेल्टा !


9.555k
Shares

काठमाडौं । १ प्रतिशतमा झरेको कोरोनाको संक्रमणदर केही दिनयता निकै बढेको छ । विश्वका विभिन्न देशमा ओमिक्रोन भेरियन्टले आक्रान्त पारिरहेको छ ।

नेपालमा पुनः सक्रिय भएको भेरियन्ट डेल्टा कि ओमिक्रोन भन्ने प्रश्न उब्जिएको छ । सामान्यतया भेरियन्टहरू एउटा अवस्थामा पुगेपछि विस्तारै निष्कृय बन्ने विज्ञहरू बताउँछन् । सोअनुसार दोस्रो लहरमा बढी आक्रान्त पारेको डेल्टा भेरियन्ट गत भदौ महिनासम्म उच्च नै थियो ।

असोजदेखि भने संक्रमण विस्तारै ओरालो लाग्याे । ४ महिनासम्म संक्रमण कम भइ स्थिर बन्याे । भारतमा ओमिक्रोनसँगै अन्य भेरियन्टहरू सक्रिय भएर संक्रमित बढ्न थालेसँगै नेपालमा पनि प्रत्येक दिन रेकर्ड तोड्दै संक्रमण एक सातादेखि उकालो लागेको छ ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन अहिले बढिरहेको संक्रमण ठ्याक्कै यहि भेरियन्टबाट बढ्यो भनेर एकीन गर्न नसकिने बताउनुहुन्छ । नेपालमा अझै डेल्टा भेरियन्टको प्रभाव रहेको उहाँको बुझाइ छ ।

‘नेपालमा डेल्टा देखिँदै आएको थियो, ओमिक्रोन बीचमा देखिरहेको अवस्था छ,’ उहाँ भन्नुहुन्छ, ‘केही दिनअघि जीन सिक्वेन्सिङ गरिएका २२ प्रतिशतमा संक्रमण देखिएपछि ओमिक्रोन भेरियन्ट केही समय अघिदेखि नै नेपालमा रहेछ भन्ने पुष्टि हुन्छ ।’

उहाँ थप्नुहुन्छ, ‘डेल्टा पूर्ण रूपमा हराएको छैन, ओमिक्रोनले च्याप्दै गएको छ ।’

भारतमा मंगलबार झण्डै दुई लाख व्यक्तिमा संक्रमण देखियो । तीमध्ये ४ सय ७ जनामा मात्र ओमिक्रोन देखिएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक गरेको एस जिन स्क्रिनिङमा नेगेटिभ आउने सबैमा नै ओमिक्रोन देखिएको थियो ।

ओमिक्रोन भएको हो कि होइन भन्ने पत्ता लगाउने विधि नै एसजिन नेगेटिभ आउनु हो । एस जिन नेगेटिभ आउनेहरूको स्क्रिनिङ गर्दा मात्र ओमिक्रोन हो वा होइन भन्ने थाहा हुन्छ । नेपालमा ओमिक्रोन कुन रूपमा बढेको छ भन्ने पत्ता लगाउन एसजिन नेगेटिभ आउने सबैमा स्क्रिनिङ गर्नुपर्ने डा.पुन बताउनुहुन्छ ।

‘परीक्षणको क्रममा एस जीन पोजेटिभ देखिए पहिलाकै भेरियन्ट भन्ने बुझ्नुपर्छ, यसमा दुईमत रहेन,’ उहाँ भन्नुहुन्छ, ‘एस जीन नेगेटिभ देखिएको खण्डमा भने ओमिक्रोन हुनसक्ने सम्भावना छ, त्यसले पहिलाको भेरियन्टलाई प्रतिस्थापन गर्यो भनेर बुझ्नुपर्छ ।’

एक सातादेखि उकालो लागेको संक्रमण नियन्त्रण गर्न सरकार र सर्वसाधारणले बेवास्ता गर्ने हो भने सम्भावित तेस्रो लहरमा झनै धेरै क्षति निम्त्याउन सक्छ ।