१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अफगानिस्तानलाई सहयोग सामाग्री राष्ट्रसंघमार्फत नेपालले बुझायो


247
Shares

काठमाडौं, माघ २ । नेपाल सरकारले अफगानिस्तानी जनताका लागि पठाएको सहायता सामाग्री संयुक्त राष्ट्रसंघलाई काबुलमा हस्तान्तरण गरिएको छ ।

परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा टोलीले आइतबार अफगानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरु र लत्ता कपडा काबुलस्थित राष्ट्रसंघको मिसनलाई हस्तान्तरण गरेको हो । हिमालय एयरलाइन्सको जहाजमार्फत् औषधि, लत्ताकपडा र घरायसी सामग्री गरी करिब १४ टन सामग्री अफगानिस्तान पठाइएको थियो ।

जहाज करिब साढे ३ घन्टामा काबुलस्थित विमानस्थलमा पुगेको थियो । जहाज बाबुल उड्नुअघि परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको बताउनुभएको थियो ।

परराष्ट्र मन्त्री खड्काका अनुसार अफगानिस्तानका करिब २ करोड ७० लाख मानिस मानवीय सहयोगको पर्खाइमा छन् । तीमध्ये ३० लाख बालबालिका कुपोषणबाट ग्रस्त रहेको उहाँको भनाई छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि गत अगस्टमा असरफ घानी नेतृत्वको सरकार ढलेको थियो ।

तालिबानहरूले सत्ता कब्जा गरे पनि उनीहरूको सरकारलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन । नेपालले पनि तालिबान नेतृत्वको सरकारलाई मान्यता दिएको छैन । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता रोकिएको छ । चरम आर्थिक संकट र खाद्यान्न अभावबाट गुज्रिरहेको अफगानिस्तानलाई पछिल्लो समय विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाले मानवीय सहायता गरिरहेका छन् ।