
काठमाडौं । २०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगर स्थित मझगाउँ विमानस्थल झण्डै दुई दशकपछि निर्माण कार्य सुरु भएको छ ।
विमानस्थल निर्माणका लागि ठेक्का प्रक्रिया मार्फत विमानस्थलको धावनमार्ग निर्माण कार्य अगाडि बढेको महेन्द्रनगर विमानस्थल आयोजना सहायक प्रमुख प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले विमानस्थल निर्माणको ठेक्का कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभिले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार काम सुरु भएको जानकारी दिनुभयो ।
विमानस्थलको निर्माणको लागि ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
मझगाउँ विमानस्थल पुर्नसञ्चालन समिति संयोजक रमेश चन्दले विमानस्थल निर्माण सम्पन्न भएर सुदुरपश्चिममा पर्ने कञ्चनपुर जिल्लाको पर्यटक विकासको ढोका खोल्ने बताउनुभयो ।
उहाँले कञ्चनपुर जिल्ला सुदूरपश्चिमका नौ जिल्ला मध्ये सबैभन्दा बढी पर्यटकिय सम्भावना रहेकाले विमानस्थल बन्न आवश्यक रहेको बताउनुभयो ।
अहिले विमानस्थलको धावन मार्गको रोलिङ र फिलिङको काम सुरु भएको छ । विभिन्न चरणमा निर्माण गरिन लागेको विमानस्थलको पहिलो चरणमा १५ सय २५ मिटर क्षेत्रमा धावन मार्ग निर्माण गरिने छ ।
५० प्रतिशत नागरिक उड्यन प्राधिकरण, २५ प्रतिशत सूदूरपश्चिम प्रदेश, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधरा चाँदनी नगरपालिकाको लगानी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्