
नवलपरासी । मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा खस्ने मत बदरको संख्या बढ्ने देखिएको छ ।
पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा हिँडेका उम्मेदवारहरूले मत कसरी खसाल्ने भन्ने विषयमा मतदातालाई बुझाएका छैनन् । आफ्नो उम्मेदवारलाई मत माग्दै हिँडेका नेता कार्यकर्ताले मतदाता शिक्षालाई प्राथमिकता नदिँदा बदर मतको चिन्ता बढेको छ ।
पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा हिँडेका राजनीतिक दल र उम्मेदवारहरूले मतदाता शिक्षातर्फ ध्यान नदिँदा भोट बदरको सम्भावना बढ्ने देखिएको छ । हरेक मतदाताको घरमा पुग्नु पर्ने भएकाले समय अभावमा उनीहरूले आफ्नो चुनाव चिन्ह अंकित मतपत्र मात्र बाँडेर मतदातासँग भोट मागे ।
कुन अवस्थामा आफूले दिएको मत बदर हुन्छ भन्ने विषयमा मतदातालाई सजग गराउन उनीहरूलाई फुर्सद नै भएन । भोट पाउने आशामा घरदैलोमा दगुरेका उम्मेदवारलाई आफैँले पाएको मत पनि बदर हुन सक्छ भन्नेमा हेक्का राख्न भ्याएनन् ।
उनीहरूको प्राथमिकतामा मतदाता शिक्षा नपर्दा कसरी भोट हाल्ने, मतपत्र कसरी पट्याउने लगायतका विषयमा जानकारी नभएको मतदाताको गुनासो छ ।
स्थानीय तह निर्वाचन भएकाले राजनीतिक दलभन्दा पनि व्यक्ति हेरेर मत दिने मतदाताको संख्या धेरै देखिएको छ । मतपत्रमा भएका लहर र चिन्ह बढी भएकाले मतदाताले विभिन्न चिन्हमा मत हाल्न सक्छन् ।
एउटै वडामा धेरै उम्मेदवार छन् । मतदातालाई सबै उम्मेदवार आफ्नै जस्तो लागेको छ । त्यसैगरी केही राजनीतिक दलले गठबन्धन गरेर चुनवी प्रतिष्पर्धा गर्दा मत दिने मतदाता झन् अलमलमा परेका छन् ।
घरदैलो अभियानमा आएका प्रत्यासीले आफूलाई भोट मागेर मात्र जाने तर कसरी खसाल्ने भन्ने विषयमा जानकारी नदिँदा अलमलिने सम्भावना बढेको मतदाताको भनाइ छ ।
विगतका निर्वाचनमा मतदातालाई जानकारी गराउन मतदाता शिक्षा सम्बन्धी घरदैलो कार्यक्रमसमेत सञ्चालन भएका थिए । त्यति गर्दा पनि मतदान सम्बन्धमा त्रुटी हुँदा धेरैको मत बदर भएको थियो ।
निर्वाचन आयोगले पनि विगतका निर्वाचनमा मतदाता शिक्षालाई जोड दिएर कार्यक्रम सञ्चालन गर्ने गरेको थियो । तर अहिले त्यस्ता कार्यक्रम सञ्चालन गरेको छैन । मतदान स्थलमा मात्र मतदाता शिक्षा सञ्चालन गर्ने मुख्य निर्वाचन अधिकृत रुद्रप्रसाद रेग्मी बताउनुहुन्छ ।
एकातिर मतदाता शिक्षाको अभावका कारण मतदान गर्न नजान्नेको संख्या बढ्न सक्छ भने अर्कोतिर भोट दिएर नै के हुन्छ भन्ने सोच पनि मतदातामा छ । जसका कारण मतदाता नामावलीमा नाम हुँदा–हुँदै मतदान नगर्दा मतदाताको सहभागितामा कमी आउने देखिन्छ ।
मतदातालाई उम्मेदवारले आश्वस्त पार्न नसक्दा उनीहरूमा देखिएको नैराश्यताले पनि मतदाता शिक्षाको आवश्यकता खड्किएको छ ।
प्रतिक्रिया दिनुहोस्