
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरू गरेको थियो । सुरूमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रूपमा ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । प्राधिकरणले भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।
जुन महिनामा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरिएको छ । प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सम्पूर्ण शुल्कहरू कटाएर खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएको छ । जुन महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युतको औसत प्रतियुनिट दर ९ रुपैयाँ ६७ पैसा छ । प्राधिकरणले यस अवधिमा विद्युत बिक्रीको औसत दर सबै भन्दा बढी यहि असार १ गते पाएको थियाे ।
त्यस दिनको प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा थियो । सबै भन्दा कम औसत दर असार ७ गते थियो । त्यसदिन औसत दर प्रतियुनिट ४ रुपैयाँ ९२ पैसा थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गत वर्षबाट सुरू गरिएको भारतीय प्रतिस्पर्धी बजारमा विद्युत व्यापार यस वर्षबाट थप प्रभावकारी रूपमा अगाडि बढेको बताउनुभयो । उहाँले चालूआर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत निर्यातको प्रक्षेपण गरिएको बताउनुभयो ।
भारतसँगको विद्युत व्यापारले नेपालको जलविद्युतको विकासमा ठूलो सहयोग पुग्ने उहाँले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्