
बारा । मधेश प्रदेशका जनप्रतिनिधिहरूले पाँच वर्षमा मुख्यमन्त्री लालबाबु राउतले स्टन्टबाजी र चर्चामा बिताएको आरोप लगाएका छन् ।
प्रदेशका विभिन्न स्थानमा मुख्यमन्त्रीद्वारा गरिएका घोषणा र शिलान्यास गरिएका योजनाहरूले पूर्णता पाउन नसकेको भन्दै उनीहरूले चर्चा बटुल्ने मात्र काम भएको आरोप लगाएका हुन् ।
तीन वर्षअघि पथलैयामा प्रादेशिक ट्रमा अस्पताल बनाउने घोषणा र कलैया उपमहानगर–१६ मा प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास गरिए पनि अहिलेसम्म काम सुरु नहुँदा स्थानीय र जनप्रतिनिधिले मुख्यमन्त्रीप्रति आक्रोश व्यक्त गरेका हुन् ।
घोषणा र शिल्यान्यास गरिएका योजना सञ्चालनका लागि बजेट बिनियोजन, आवश्यक उपकरण खरिद तथा जनशक्ति लगायतका विषयमा मुख्यमन्त्रीको कार्यालय बेखबर बनेको स्थानीयको आरोप छ ।
घोषणा र शिलान्यास भएका दुवै अस्पताल अहिलेसम्म सञ्चालनमा ल्याउन नसक्नु मुख्यमन्त्रीको अकर्मण्यताको पराकाष्टा भएको जितपुर सिमरा उपमहानगरका प्रमुख राजन पौडेलको टिप्पणी छ । मुख्यमन्त्रीले क्षणिक चर्चामा आउनका लागि मात्र यस्ता घोषणा गरेको उहाँको आरोप छ ।
दुई वर्षअघि मुख्यमन्त्री राउतले पथलैयामा प्रदेश सरकारको निती तथा कार्यक्रममा रहेको ट्रमा अस्पताललाई संघिय सरकारको समेत सहयोग लिएर मधेश प्रदेशकै नमुना ट्रमा अस्पताल बनाउने घोषणा गर्नुभएको थियो ।
यसअघि प्रदेश सरकार अन्तर्गत ५ बिगाह क्षेत्रफलमा फैलिएको स्वास्थ्य तालिम केन्द्रको खाली संरचना र भवनमा नेपाल प्रहरीले स्वास्थ्य मन्त्रालयको सहकार्यमा प्रहरी अस्पताल सञ्चालन गर्ने अन्तिम तयारी थालेको थियो ।
प्रतिक्रिया दिनुहोस्