
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता बारम्बार ठगीमा पर्ने गरेको बताउनुभएको छ ।
रौतहटका विभिन्न नगरपालिकाहरूमा निर्माण हुने ४५ कराेड बराबरका महत्त्वपूर्ण सहरी पूर्वाधारहरूको शिलान्यासका क्रममा गृहनगर पुग्नुभएका नेपालले गौरमा आयोजित समारोहमा जनता बारम्बार ठगीमा पर्ने गरेको बताउनुभयो ।
जनता जहिल्यै पनि ठगीमा पर्ने गरेको भन्दै उहाँले जनता ठगीमा नपर्नेगरी काम गर्न निर्देशन दिनुभयो । उहाँले जनताको काम गर्ने भनेर धेरैले झुक्याएर जनतालाई ठगेको निष्कर्ष निकाल्नुभयो । रेल, घर–घरमा ग्यासका पाइपका सपना देखाएर बोलीमा मात्र ठिक्क पारेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा शहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास भएका सबै योजनाहरू समयमै सकिने बताउनुभयो ।
मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को वार्षिक विकास कार्यक्रम अनुसार विनियोजित शहरी पूर्वाधार निर्माण अन्तर्गत गौर नगरपालिका–२ मा सभाहल, राजदेवी र गौर नगरपालिकाका विभिन्न सडक कालोपत्रे तथा ढलानका योजनाहरू छन् ।
६ कट्ठा क्षेत्रफलमा बन्ने ५ सय सिट क्षमताको सभाहलको अनुमानित लागत २० करोड रुपैयाँ रहेको छ । वातानुकुलित, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी बन्ने सभाहलमा आपतकालीन द्वारहरूका साथै वाटर फाउन्टेनसहित पर्कसमेत बन्नेछ । सभाहल २४ महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।
त्यसैगरि, गौर नगरपालिका–४ टिकुलिया मठदेखि तटबन्धसम्म र ट्रान्फर्मर चोकदेखि मुडवलवासम्म सडक कालोपत्रे तथा सडक ढलान गर्न १२ करोड, रामजानकी विवाह मण्डप निर्माणका लागि करिब ८ करोडका योजना रहेका छन् भने राजदेवी नगरपालिका १ देखि ९ सम्मका विभिन्न स्थानका सडक कालोपत्रे तथा ढलानका लागि ५ करोड छुट्याइएको छ ।
शिलान्यास समारोहमा संघीय संसदको विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्का, संघीय सांसद सरला यादव, मधेष प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभाका सदस्यहरूको विशेष उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्