
काठमाडौं । उत्तर कोरियाले कोरोना भाइरस विरुद्धको लडाइमा चम्किलो जित हासिल गरेको घोषणा गरेको छ ।
गत अप्रिल र मे महिनामा करिब ४८ लाख उत्तर कोरियालीमा संक्रमण भएकोमा ७४ जनाको मात्रै ज्यान गएको भन्दै उत्तर कोरियाले भाइरसमाथि जित हासिल गरेको बताएको हो ।
उत्तर कोरियाली नेता किम जोङले स्वास्थ्यकर्मीहरुसँग कुरा गर्दै कोरोनामाथि चम्किलो विजय हासिल गरेको घोषणा गर्नुभएको त्यहाँको सरकारी मिडिया केसीएनएले किमकी बैनी किम यो जोङलाई उद्धृत गर्दै जनाएको छ ।
नेता किमले उत्तर कोरियाली जनताको अदम्य दृढताले भाइरसलाई पराजित गर्न सम्भव भएको भन्दै स्वास्थ्यकर्मी र वैज्ञानिकहरुको प्रशंसा गर्नुभएको जनाइएको छ ।
संक्रमणका क्रममा नेता किमलाई पनि उच्च ज्वरो आए पनि उनी कुनै पनि बेला ओछ्यान नपरेको दाबी पनि बैनी किमले गरेकी छन् । बैनी किमले दक्षिण कोरियाको एउटा पर्चाका आफ्नो देश पनि संक्रमणबाट गुज्रिनु परेको आरोप पनि लगाएकी छन् ।
उत्तर कोरियामा कोरोना संक्रमणको तुलनामा शून्य दशमलव शून्य शून्य दुई प्रतिशत मात्रै मृत्यु भएको देखिएको छ, जुन विश्वकै सवैभन्दा कम मृत्युदर हो । संक्रमणको समयमा पनि त्यहाँ घरेलु उपचार पद्धति अपनाइएको र कुनै खोप कार्यक्रम नचलाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्