१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


मोरङमा सनपाट खेती घट्दै, सिंचाई र बीउकाे अभाव


208
Shares

विराटनगर । मोरङमा नगदे बालीको रूपमा चिनिने सनपाटको खेती घट्दै गएको छ ।

सिंचाई असुविधा, मलखाद र बीउको अभावमा किसानहरू विस्तारै सनपाट खेतीबाट पलायन हुँदै गएका छन् । साथै सरकारले विराटनगर जुट मिललाई पुन: सञ्चालन गर्ने भएको छ । त्यसैले यो भन्दा अगाडि जुट खेतीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।

सनपाट नगदेबालीको रूपमा परिचित छ । केही वर्ष अगाडि किसानहरूले यो खेतीलाई पहिलो प्राथमिकतामा राख्दै आएका थिए । तर, पछिल्लो समय भने किसानहरूले सनपाट खेतीलाई घटाउदै लगेका छन् । अन्य खेतीको तुलनामा यो खेतीमा बढी मिहिनेत गर्नुपर्ने, खर्चिलो र झनझटिलो हुने गरेको किसानहरूको अनुभव छ ।

तर, मेहनत अनुसारको प्रतिफल नहुने भएकोले किसानहरू सनपाट खेतीबाट विस्थापित हुन थालेका हुन् । सिंचाईको व्यवस्था नहुनु, समयमा मलखाद र बीउ उपलब्ध हुन नसक्नु र मजदुर अभावले पनि किसानहरूले यो खेतीलाई घटाउदै लगेका हुन् । हिलोमा काम गर्ने मजदुर अभावसँगै समयमा उचित मूल्य नपाएकोले सनपाटको खेतीबाट किसानहरू निराश हुँदै गएका छन् ।

जुट तयार गर्ने काम निकै झन्झटिलो र खर्चिलो हुने गरेकोले किसानहरू सनपाटको खेती गर्न हिचकिचाउने गरेका छन् । पछिल्लो समय किसानहरू व्यवसायीक जुट खेती गर्नु भन्दा पनि घरायसी प्रयोजनमा प्रयोग हुने डोरी, नाम्लो, दाम्लो र अन्य घरायसी सामान बनाउन थालेका छन् । दाउराको रूपमा चुल्हो बाल्न प्रयोग हुने सन्ठीको लागि पनि सनपाट लगाउने गरेको देखिन्छ । सनपाट खेतीमा लाग्ने मेहनत र खर्च अनुसार आम्दानी नहुने भएपछि किसानहरू सनपाट खेतीलाई घटाएर यसको विकल्पमा धान र तरकारी खेतीलाई प्रोत्साहन गर्न थालेका छन् ।

कृषि ज्ञान केन्द्रले प्रत्येक वर्ष सनपाटको खेतीको उत्पादन घट्दै गएको जनाएको छ । सनपाट खेतीमा मजदुर बढी लाग्नुका साथै सनपाटलाई जुट बनाउन पानीमा कुहाउनुपर्ने, पोखरी र खोला नालामा पानी नभएको कारण कुहाउने ठाउँको समेत समस्या हुने गरेकोले पनि जुट खेती घट्दै गएको हो ।

जुट खेतीले नगद आमदानी दिनुको साथै खेतलाई मलिलो बनाई उब्जाउ समेत बढाउने गर्छ । तर, व्यापारीहरूले किसानसँग कम मूल्यमा जुट खरिद गर्ने र बढी मूल्यमा बिक्री गर्ने गरेकाले पनि किसानहरू हतोत्साहित भएको देखिन्छ ।

मोरङ जुट उत्पादनमा अग्रणी जिल्लाको रूपमा चिनिन्छ । जुट उत्पादनको मुख्य क्षेत्र भएकाले देशकै पहिलो जुट उद्योग, विराटनगर जुट मिल्स यसै क्षेत्रमा स्थापना भएको थियो । अहिले पनि विराटनगरमा बाबा जुट मिल लगायत जुट मिलहरू यसै क्षेत्रमा सञ्चालनमै रहेका छन् ।

उद्योगलाई चाहिने कच्चा पदार्थको रूपमा आवश्यक पर्ने जुट खेती घटेकै कारण मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल बन्द हुन पुगेको छ । सरकारले विराटनगर जुट मिललाई पुन: सञ्चालन गर्ने भएको छ । त्यसैले यो भन्दा अगाडि जुट खेतीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।