
काठमाडौं । नर्वेमा फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि अभिनेत्री केकी अधिकारी र अभिनेता आर्यन सिग्देलले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस गरेको आरोप लागेपछि सामाजिक सञ्जाल मार्फत केकीले स्पष्टीकरण दिएकी छन् ।
उनले उक्त शीर्षकको फिल्म निर्माण गर्ने कम्पनी भनिएको ‘ब्लु बर्ड एचडी’सँग आफूले कुनै पनि सम्झौता नगरेको बताएकी छन् । केही सञ्चार माध्यमले नक्कली कागजपत्र पेस गरेको भन्ने समाचार प्रकाशित भएपछि केकीले सामाजिक सञ्जालमार्फत खण्डन गरेकी हुन् ।
यस्ता, किसिमक अवान्छित गतिविधिबारे कुनै जानकारी नभएको उनले बताएकी छन् । उनले आफ्नो व्यक्तिगत विवरण समेटिएको सरकारी कागज पत्र, हस्ताक्षर र नामको दुरुपयोग गरि गैरकानूनी क्रियाकलाप गरे कानूनी प्रक्रियामा जाने चेतावनी दिएकी छन् ।
फिल्म छायांकनका लागि १४ जना कलाकारसहितको भिसा आवेदन परेपछि नर्वेजियन दूतावासले पर्यटन बोर्डसँग सम्पर्क गरेको थियो । तर, बोर्डले कुनै पनि नेपाली फिल्मको सुटिङको लागि नर्वेसँग अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजपत्र पेस भएको खुलेको हो । उक्त कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलेको थियो ।
आफ्नो नाम दुरुपयोग भएपछि केकीले सामाजिक सञ्जालमा यसरी स्पस्टिकरण दिएकी छन् –
विभिन्न संचार माध्यममा प्रकाशित समाचार अनुसार ‘ब्लु बर्ड एच डि’ नामक चलचित्र निर्माण कम्पनीले ‘तिम्रो नजर’ नाम गरिएको चलचित्र निर्माण गर्ने बहानामा कलाकारको रूपमा मेरो संलग्नता देखाई सरकारी कागजपत्र समेतको दुरुपयोग गरेको भन्ने समाचार प्रति सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु।
मैले त्यस्तो नाम गरेको कुनै चलचित्र निर्माण कम्पनीसंग कुनै पनि नामको चलचित्रमा सम्झौता गरेकी छैन। र यस किसिमको अवान्छित गतिविधिबारे कुनै पूर्व जानकारी पनि थिएन।
साथै मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागज पत्र, हस्ताक्षर र नामको दुरुपयोग गरि गैरकानूनी कृयाकलाप गरिएको रहेछ भने दोषी उपर कडा कारवाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्न चाहन्छु।
प्रतिक्रिया दिनुहोस्