
काठमाडौं । नेपालले घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलको फराकिलो जित निकाल्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन् । खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । रश्मीले हिराको क्रसमा हेडर मार्फत गोल गरिन् । खेलको ११ औं मिनेटमा सरुले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाईन् । खेलको १७ औं मिनेटमा अमृताले गोल गर्दा नेपाल ३–० ले अघि रह्यो ।
पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनायो । खेलको ७६ औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई ५–० को अग्रता दिलाईन् । भुटानविरुद्ध डेब्यु गरेकी अमिषाले नेपालको लागि यो पहिलो गोल हो ।
त्यसपछि खेलको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६–० को जित दिलाईन् । यस जितसँगै नेपालले अपराजित रहदै अन्तिम चारमा स्थान बनाएको हो । यस्तै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतिक्रिया दिनुहोस्