१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


महिला पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा अभिनेता श्रीनाथ भासी पक्राउ


325
Shares

एजेन्सी । महिला पत्रकारसँग दुर्व्यवहार गरेको आरोपमा दक्षिण भारतीय अभिनेता श्रीनाथ भासीलाई केरला प्रहरीले पक्राउ गरेको छ ।

श्रीनाथले आफ्नो आगामी फिल्म ‘चट्टाम्बी’ को प्रमोशनको क्रममा एक यूट्यूब च्यानलको महिला पत्रकारलाई दुर्व्यवहार गरेका थिए, त्यसपछि ती महिला पत्रकारले श्रीनाथविरुद्ध प्रहरी स्टेशनमा उजुरी दिएकी थिइन् । अब यस मामिलामा प्रहरीले श्रीनाथलाई कारबाही गर्न पक्राउ गरेको छ ।

प्रहरीका अनुसार यो सम्पूर्ण घटना तब भयो जब च्यानलको महिला पत्रकारले श्रीनाथलाई दक्षिण भारतीय फिल्मका कलाकारहरूलाई उनीहरूको रिसाहा स्वभाव अनुसार कति नम्बर दिन चाहनुहुन्छ भनेर सोधिन् । यो प्रश्न सुनेर श्रीनाथ रिसाए र क्यामेरा अफ गरेपछि महिला पत्रकार र क्रु-मेम्बरलाई गाली गर्न थाले । तर, प्रहरीको सोधपुछका क्रममा श्रीनाथले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् । अब उक्त घटनामा भिडियो अन्तर्वार्ताको फुटेजसँगै प्रहरीले त्यहाँ जडान गरिएका सीसीटीभी फुटेज पनि लिएको छ ।

महिला पत्रकारको उजुरीका आधारमा गत हप्ता श्रीनाथविरुद्ध मुद्दा दर्ता गरिएको थियो। श्रीनाथलाई आईपीसीको धारा ३५४ ए (१) ५०९ र २९४ बी अन्तर्गत पक्राउ गरिएको छ । श्रीनाथलाई धरौटीमा छोड्न मिल्ने अपराध भएकाले स्वास्थ्य परीक्षणपछि धरौटीमा रिहा गरिने प्रहरीले जनाएको छ ।

श्रीनाथले संगीत क्षेत्रबाट आफ्नो करियर सुरू गरेका थिए। श्रीनाथ दक्षिण भारतीय चर्चित अभिनेता हुन् । उनले फिल्ममा कमेडी गरेर मानिसको मनमा आफ्नो स्थान बनाएका छन् ।