१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रोकियो फोहोर वर्गीकरण


2.171k
Shares

काठमाडौं । करिब ५ महिनाअघि काठमाडौं महानगरपालिकाले सुरु गरेको फोहोर वर्गीकरण कार्य तत्कालका लागि स्थगन भएको छ ।

फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भन्दै गत साउन १ गतेदेखि कामपाले ३२ वटै वडाबाट स्रोतमै फोहोर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापनका लागि लैजान सुरु गरेको थियो । सुरुको एक दुई हप्ता महानगरको योजनाअनुरुप काम भए पनि यसले निरन्तरता भने पाउन सकेन ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्साल स्थान अभावको कारण उक्त कार्यले निरन्तरता पाउन नसकेको बताउनुभयो । महानगरसँग खुला स्थानको अभाव भएकाले केन्द्र सरकासँग एकै स्थानमा कम्तीमा दुई सय रोपनी जग्गा उपलब्ध गराउन माग गरिएको छ ।

‘सरकारले जग्गा उपलब्ध गराउने आश्वासन दिएको छ । जग्गा प्राप्त भएसँगै कुहिने र नकुहिने फोहोरको स्रोतमा नै वर्गीकरणको काम पुनः सुरु हुन्छ, आशा छ नयाँ सरकार गठन भएसँगै उक्त कार्यले पुर्णता पाउने छ’, लम्सालले भन्नुभयो, ‘महानगरलाई कानूनीरुपमा आफ्नो क्षेत्रभन्दा बाहिर जग्गा अतिग्रहण गर्ने अधिकार छैन । त्यसैले केन्द्र सरकारलाई आग्रह गरिएको हो ।’

स्थान पहिचान भएसँगै कामपाले कुहिने फोहोरको प्रयोग गरी मल बनाउने तयारी गरेको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा अन्तिम विसर्जन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट दुई सय गाडीले फोहर ओसार्छन् ।

काठमाडौं उपत्यकाको १८ पालिकाको फोहोर दैनिकरूपमा बञ्चरेडाँडा व्यवस्थापन हुँदै आएको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न थालिएको हो । सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्‍याउन कहिले स्थानीयको अवरोध त कहिले सडकका कारण समस्या सिर्जना हुँदै आएको थियो ।

आगामी दिनमा प्रभावकारीरुपमा फोहरको दीर्घकालिन समाधानका लागि स्थान पहिचान गरी कुहीने फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्ने भने पनि उक्त कार्यले पूर्णताः पाउन सकेको छैन ।