
काठमाडौं । नयाँ बसपार्कस्थित ल्होत्से मलमा प्रवेश गरेर लुटपाट गरेको आशंकामा ४ जना पक्राउ परेका छन् ।
सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल र काठमाडौं सुपर मार्केटमा तोडफोड र लुटपाट भएको थियो । घटनामा अरु मानिस पनि संलग्न हुनसक्ने भन्दै पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
काठमाडौं प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अंगुर जिसीले घटनास्थलमा रहेका सीसीटीभी फुटेजको अध्ययन अनि प्रत्यक्षदर्शीसँग सोधपुछ जारी रहेकाले अरु मानिसको पनि संलग्नता हुनसक्ने बताउनुभयो ।
प्रदर्शनका क्रममा हिंसा भड्काएर लुटपाट र आगजनीमा संलग्नको खोजीमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी र महाराजगञ्ज प्रहरीको टोली खटिएको छ । प्रहरीले घटनास्थलका सीसीटीभीका फुटेजहरू पनि संकलन गरिसकेको छ । सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीका भनाइ, प्रहरीसँग आएका अन्य तथ्य र प्रमाणका आधारमा अपराधमा संलग्नको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।
यसैबीच गृहसचिव विनोदप्रकाश सिंहले काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दिवेश लोहनीलाई बोलाएर घटनाबारे जानकारी लिनुका साथै लुटपाटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्