१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


लोत्से मलमा लुटपाटमा संलग्न ४० जना पक्राउ, घटनाको अनुसन्धान जारी


1.274k
Shares

काठमाडौं । नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न भएका ४० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यातायात मजदुरका नाममा प्रहरीका दुई वटा भ्यानमा आगो लगाउने, लोत्से मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज र एयरफोन लगायतका सामग्री लुटपाट गरेका थिए।

उनीहरुले प्रहरी वृत्त बालाजुको बा २ झ १४४ नम्बरको स्कार्पियो र बा १ झ ७२२४ नम्बरको गाडी समेत जलाउनुका साथै बालाजु र माछापोखरी चोकको ट्राफिक आयल्यान्डमा क्षति पुर्याएको प्रहरीको आरोप छ । आन्दोलनका क्रममा बालाजु चोकको अस्थायी प्रहरी पोष्टमा समेत आगो लगाइएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले आगजानी र तोडफोडमा संलग्न भएका २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान गर्न थालिएको जानकारी दिनुभयो ।

लुटपाटमा संलग्न भएकाहरूलाई मुलुकी अपराधसंहिता (ऐन), २०७४ परिच्छेद २० चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्नका साथै आगजानी तथा तोडफोड गर्नेलाई मुलुकी अपराधसंहिता (ऐन) को परिच्छेद २६ को दफा २ सय ८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताउनुभयाे ।