
काठमाडौं । मछिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार चर्च ब्वाइज युनाईटेडलाई २–१ गोल अन्तरले हराउँदै मछिन्द्र अन्तिम चारमा पुगेको हो ।
मछिन्द्रलाई जित दिलाउन कप्तान सुजल श्रेष्ठ र रंजित धिमालले एक एक गोल गरे । चर्चले एक गोल आत्मघाती उपहार पाएको थियो । अब मछिन्द्रले सेमिफाइनलमा आयोजक टोली केपी ओली एफसी र जावलाखेल युथ क्लबबीचको विजेतासँग खेल्ने छ ।
आजै भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले न्युरोड टिम (एनआरटी) लाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलको यात्रा निश्चित गरेको छ । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट १–१ गोल भएपछि खेल पेनाल्टीमा गएको थियो ।
जसमा आर्मी ५–४ ले विजयी भयो । अब आर्मीले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग खेल्ने छ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्