
अर्घाखाँची । ‘स्वास्थ्यमा सहज पहुँच’ भन्ने सरकारी नारा अर्घाखाँचीको ग्रामीण बस्तीका नागरिकका लागि नारामै सिमित भएको छ ।
ग्रामीणमुखी भन्दा शहरमुखी स्वास्थ्य सेवा प्रणालीमा केन्द्रित हुँदा ग्रामीण बस्तीका नागरिक स्वास्थ्य जस्तो आधारभूत अधिकारबाट बञ्चित भएका हुन् । पैसा अभावका कारण ग्रामीण क्षेत्रमा धेरै जसोले रोग लुकाउने चलन हुँदा रोग छिप्पिदै जादाँ समस्या थपिंदै गएको चिकित्सकहरुको भनाइ छ ।
अर्घाखाँचीका ग्रामीण बस्तीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट करिब १ हजार बढीले स्वास्थ्य सेवा पाएका छन् । महँगो स्वास्थ्य सेवा हुँदा पहुँचका पुर्याउन नसक्ने ग्रामीण भेगका जनताले निःशुल्क स्वास्थ्य सेवा पाएपछि अधिकांशले घरघरमा पुगेको स्वास्थ्य सेवाबाट लाभ लिएका हुन् ।
सामान्य स्वास्थ्य परीक्षणदेखि आँखाको मोतीयाबिन्दु, दाँत, नाक, कान घाँटी र स्त्रीरोगको परिक्षण गरिएको थियो । ग्रामीण क्षेत्रमा सरकारी स्वास्थ्य सेवा पुग्न नसकेपछि दिगो विकास केन्द्र अर्घाखाँची, रोटरी क्लब अफ महाराजगञ्ज र ग्लोबल फाउन्डेसन मेडिकल अष्ट्रेलीयाले ग्रामीणमुखी साताव्यापी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।
उपचार गराउन शहरको ठूला ठाउँमा जानका लागि घरको आर्थिक अवस्थाले नभ्याएर रोग पाल्न बाध्य बनेकाहरुले निःशुल्क शिविरमा उपचार गराएको रोटरी क्लब अफ महाराजगञ्जका चार्टरप्रेसीडेण्ट डा. जयबहादुर टण्डनले बताउनुभयो । उपचारका लागि सन्धिखर्क, बुटवल तथा काठमाडौं जानुपर्ने बिरामीले ग्रामीण क्षेत्रमा सेवा प्राप्त गर्दा निकै खुशी भएका थिए ।
वर्षो वर्षदेखि आँखा नदेख्नेहरु आँखा देख्ने भएर घर फर्कीएका छन् भने स्त्रीरोगको उपचार गरेर फर्कनेको संख्या त झन धेरै थियो । शिविरमा करिब १ सय १३ जनाको आँखाको अपरेशन गरेर चस्मा वितरण गरिएको छ । पैसा अभावका कारण ग्रामीण क्षेत्रमा धेरै जसोले रोग लुकाउने चलन हुँदा रोग छिप्पिदै जादाँ समस्या थपिंदै गएको चिकित्सकहरुको भनाइ छ ।
जिल्लाको छत्रदेव र मालारानी गाउँपालिकामा गरिएको शिविरमा छिमेकी जिल्लाबाट समेत बिरामी आउँदा भीड लागेको थियो । ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष रुपमा सेवा दिने उदेश्यले सञ्चालन गरिएका यस्ता, शिविर समय समयमा गरेमा आर्थिक रुपले विपन्न जनताले राहत पाउने निश्चित थियोे ।
प्रतिक्रिया दिनुहोस्