१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एसईईको नतिजासँगै अलमलमा विद्यार्थी र अभिभावक


4.316k
Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भइसकेपछि स्कुल र कलेजको तानातानमा कतातिर जाने भन्नेमा अभिभावक र स्वयं विद्यार्थी अलमलमा छन् ।

आफ्ना सन्तानको क्षमता नबुझी देखासिकीका भरमा प्राविधिक शिक्षामा ठेल्न खोज्ने अभिभावकको इच्छा र साथीभाईको संगतमा लागेर आफ्नो रुचि बाहिरको विषय पढ्ने विद्यार्थीको छनोट दुवै गलत हुन सक्छन् । अबको पढाईमा आर्थिक पाटोसमेत जोडिएकाले विवेकपूर्ण निर्णय जरुरी रहेको शिक्षा क्षेत्रका जानकारहरुको भनाई छ ।

एसईई पछिको शिक्षामा कुन विषय मुख्य मानेर पढ्ने र पढाउने भन्नेमा धेरै विद्यार्थी र अभिभावकहरुलाई चिन्तित बनाउने गरेको छ । सामान्यतया एसईईको रिजल्ट अनुसार उच्च जीपीए भएकाले विज्ञान विषय पढ्ने र अरुले क्रमश : व्यवस्थापन, शिक्षा र मानविकी तर्फका मुख्य विषय पढ्ने गरेको पाइन्छ ।

तर अंक अनुसारको विषय रोज्नु वैज्ञानिक तरीका नभएको विज्ञको भनाई छ । एसईईको रिजल्ट आईसकेपछि कुन विषयमा भर्ना हुने भन्ने विषय विद्यार्थीको रुचि, एसईइको नतिजा, कक्षा १० सम्मको क्षमता, भविष्यको गन्तव्य तथा अभिभावको आर्थिक पाटोसंग जोडिने शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउनुुहुन्छ ।

त्यस्तै, पछिल्लो समयमा गणित बाहेकका विषयमा प्रयोगात्मक नम्बर हुने र शिक्षकले जुन नम्बर दिएपनि परीक्षा बोर्डले त्यो नम्बरलाई मान्यता दिने हुनाले विद्यार्थीले ए देखी सी जीजीएसम्म ल्याउने विद्यार्थीको संख्या बढेको छ । यो बर्ष गणितको परीक्षामा सहभागी ४ लाख ८३ हजार ५ सय ६५ विद्यार्थीमध्ये ग्रेड ’इ’ ल्याउने १ लाख ५५ हजार ४ सय ५८ छन् । जसले गर्दा विद्यार्थीले ल्याएको ग्रेड र विद्यार्थीको क्षमता मिलेको देखिदैन, जसले गर्दा विद्यार्थीलाई पछि गएर बीचमै विषय परिवर्तन गर्नुपर्ने, नतिजा नराम्रो आउने लगायत जोखिम रहने पनि शिक्षाविद् कोईराला बताउनुहुन्छ ।

एसईई दिएसंगै कतिपय विद्यार्थीहरुले विज्ञान, व्यवस्थापन तथा प्राविधिक धारका विषय पढ्ने तयारीका साथ बृजकोर्स गरिरहेका छन् भने कतिपय विद्यार्थी अझै अन्योलमा छन् ।

कक्षा ११/१२ मा विज्ञान विषयका अतिरिक्त, व्यवस्थापन, त्यस्तै साहित्यतर्फ बढि रुचि हुने र भविष्यमा सरकारी सेवामा प्रवेश गर्न चाहने विद्यार्थी मानविकि पढ्न सक्छन् । शिक्षण तथा अन्य सरकारी सेवामा प्रवेश गर्न शिक्षा संकाय तर्फका विषयलाई प्रमुख विषयको रुपमा राखेर अध्ययन गर्न विज्ञको सुझाव छ । त्यो बाहेक सिटीईभिटी अन्तर्गत थुप्रै विषयमा ११/१२ पढ्दा लाभदायी हुन्छ । यसका लागि सुक्ष्म अध्ययन र लगनशिलता आवश्यक देखिन्छ ।