
काठमाडौं । स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौं महानगरपालिकाको फोहोर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ ।
महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिनुभयो ।
‘यही साउन १ गतेदेखि महानगरपालिका फोहर उठेको छैन, अझै चार/पाँच दिनसम्म उठ्ने सम्भावना छैन’, उहाँले भन्नुभयो, ‘कि मान्छे हटाऊ, कि फोहोर हटाऊ भन्ने त्यहाँका स्थानीय बासिन्दाको मुख्य माग रहेको छ । विस्तारै माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको हो ।’
फोहर विसर्जनका लागि महानगरपालिका छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो ।
‘स्थानीय बासिन्दाले फोहोरकै दुर्गन्धका कारण बस्न कठिनाइ भएको भन्दै अवरोध गरेका छन् । महानगरपालिका यस विषयमा छलफल गरी स्थानीयवासीको मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ’ उहाँले भन्नुभयो ।
राज्यले ऐक्यबद्धता नजनाएसम्म अवरोध नहट्ने स्थानीयवासीको माग रहेको धुनिबेँसी नगरपालिकाका-१ का वडाध्यक्ष मानबहादुर तामाङले बताउनुभयो ।
‘राज्यले स्थानीयवासीलाई कहिलेसम्म समस्या समाधान हुनसक्छ भन्ने यकिन गर्नुपर्ने उहाँले भन्नुभयो ।
यस सम्बन्धमा काठमाडौंमा भइरहेको विभिन्न सम्झौतालाई स्थानीयमाझमा ल्याई सहमति जनाउनुपर्ने उहाँको भनाइ थियो । ‘यति समयभित्र समस्या समाधान हुनसक्छ भन्ने ऐक्यबद्धता राज्यले जनाउनुपर्ने स्थानीयवासीको माग छ’, उहाँले भन्नुभयो, ‘पटक-पटक महानगरपालिकासँग गरिएका सम्झौता के कति पूरा भए भन्नेबारे एकीन हुनुपर्छ । स्थानीयवासीको माग नयाँ होइन, पुरानै हो ।’
प्रतिक्रिया दिनुहोस्