
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले स्वास्थ्यकर्मीको दरबन्दी बढाउन र स्रोत साधन सम्पन्न बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद भण्डारीले स्वास्थ्य क्षेत्रमा थोरै जनशक्तिले काम गरिरहेको भन्दै स्वास्थ्यकर्मीको जनशक्ति थप्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको हो । उहाँले स्वास्थ्यकर्मीहरुको संख्या बढाउँदा मात्रै पनि बिरामीको समस्या सम्बोधन हुने बताउनुभयो ।
सांसद भण्डारीले चिकित्सकलाई रोग पहिचानका लागि उपकरण दिनै नसकिएको भन्दै कानून भएपनि कार्यान्वयन नभएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीहरुले अस्पताल बन्द गरिदिँदा धेरै बिरामीको मृत्यु हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।
समितिमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले स्वास्थ्यकर्मीहरुको ऐन कानून सुधार्न आन्दोलनरत पक्ष वार्तामा आउनुपर्ने बताउनुभयो । उहाँले अरु तरीकाले राज्य अराजकतातर्फ जाने भन्दै वार्तामार्फत कानून, नियमावली र कार्यविधिमा सुधार गर्न सकिने बताउनुभयो । सांसद पौडेलले समस्याको हल भनेकै वार्ता भएको भन्दै चिकित्सकलाई कुट्ने कुरा अक्षम्य रहेको बताउनुभयो । उहाँले अपराध गर्ने जो सुकैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्