१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते


1.625k
Shares

काठमाडौं । धादिङमा बुधबार मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक ३ वटा सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालका अनुसार धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ८३९५ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ४८६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल काठमाडौंतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६ नंको कारमा समेत ठोकिन पुगेको हो ।

दुर्घटनामा घाइते हुनुभएका मोटरसाइकलका चालक धादिङ गल्छी गाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र पाठक र उहाँका श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ ‘रिफर’ गरिएको प्रनाउ जैसवारले जानकारी दिनुभयो ।

बसमा सवार काठमाडौं चन्द्रागिरि नगरपालिका–१४ का ३० वर्षीय सुनीता कार्की, उहाँकी छोरी ३ वर्षकी कृतिका कार्की, धादिङ नीलकण्ठ नगरपालिका–११ का ७३ वर्षीय जीवप्रसाद धमला, ७० वर्षीय धनिमाया धमला घाइते हुनुभएको छ । त्यस्तै, धादिङ सिद्धलेक गाउँपालिका–१ का ५५ वर्षीय खुसकुमारी तिमिल्सेना, ९ वर्षीय सन्ध्या तिमिल्सेना, नीलकण्ठ–११ का ४४ वर्षीय राजकुमारी श्रेष्ठ, ४३ वर्षीय सोमबहादुर गुरुङ घाइते हुनुभएको छ ।

थाक्रे गाउँपालिका–२ का ४५ वर्षीय नवराज रिजाल र उहाँकी छोरी २१ वर्षीया सम्झना रिजाल पनि घाइते हुनुभएको छ । तीव्र गतिमा रहेको बस एक्कासि दुर्घटनामा पर्दा बसमा सवार अघिकांशको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

सामान्य घाइतेहरुको गल्छीस्थित अम्वी भरोसा अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार दुई जना र बसमा सवार तीन जनालाई काठमाडौं पठाइएको छ । तीनवटै सवारीसहित बस चालक र कारका चालक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङमा सवारी दुर्घटनाको घटना बुधबार मात्रै यो चौथोे हो । यसअघि गजुरी गाउँपालिका– ६ बन्छेटारमा काठमाडौंतर्फ जाँदै गरेको बा४ख ४१७७ नंको माइक्रोबस र काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको बा२१प ६०९० नंको कार आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजना घाइते भएका थिए । त्यस्तै, बेनीघाट रोराङ–३ शीतलबजारमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा तीनजना घाइते भएका थिए भने त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका थिए ।