१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणले सकारात्मक सन्देश प्रवाह गरेको विश्वास


143
Shares

काठमाडौं । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण सम्पन्न गरी आज न्युयोर्क फर्किंनुभएको छ । नेपालमा रहँदा उच्च स्तरीय राजनीतिक भेटघाट, संसद बैठकलाई सम्बोधनदेखि हिमाली क्षेत्रको अवलोकन भ्रमण र लुम्बिनीको भ्रमण गर्नुभयो । गुटेरेसको भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालबारे सकारात्मक सन्देश प्रवाह भएको विश्वास गरिएको छ ।

गत आइतबार नेपाल आईपुग्नु भएका गुटेरेसले उच्च स्तरीय राजनीतक भेटघाटबाट आफ्नो भ्रमणको शिलशिला शुरु गर्नुभयो भने संसदका दुबै सदनका संयुक्त बैठकलाई सम्बोधन गर्दै भ्रमणलाई समापन गर्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालदेखि पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी ओलीसंग भेटवार्ता गर्नुभएका गुटेरसले नेपालको शान्ति प्रक्रिया, नेपालमा जलवायु परिवर्तनबाट परेको असर, नेपालले विश्व शान्तिका लागि पु¥याएको योगदान र नेपाल विकासोन्मुख देशहरुको सूचिमा स्तरोन्नती हुँदै गर्दाका विषयहरुमा छलफल गर्नुभयो ।

जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली क्षेत्रका देशहरुमा पु¥याएको असरको अवलोकन गर्न महासचिव गुटेरेस सगरमाथा आधार क्षेत्र स्याङ्बोचेदेखि अन्नपूर्ण आधार क्षेत्रसम्म पुग्नुभयो । महासचिव गुटेरेसले स्याङबोचेबाटै विश्व समुदायलाई जलवायु परिवर्तनलाई थप घातक हुन नदिन सन्देश समेत प्रवाह गर्नुभयो । विश्वभरी प्रद्धिस सगरमाथ र अन्नपूर्ण आधार शिविरको भ्रमणले जलवायु परिवर्तन न्युनिकरण गर्न विश्व समुदायलाई थप घच्घच्याएकोमा शंका छैन ।

यस्तै, जलवायु परिवर्तनको शिकार भए वापत नेपालले पाउनु पर्ने सहयोगका लागि गुटेरेसको भ्रमणले सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ । त्यसमाथि महासचिव गुटेरस जस्ता उच्च कोटीका कूटनीतिज्ञको भ्रमणले नेपालको पर्यटन क्षेत्रको विकासमा समेत सकारात्मक सन्देश प्रवाह भएको छ ।

हिमाली क्षेत्रहरुको अवलोकन भ्रमणपछि शान्तिका अग्रदूत भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर उहाँले विश्वमा युद्धरत् र द्वन्द्वरत् पक्षहरुलाई शान्तिको मार्ग अवलम्बन गर्न आह्वान गर्नुभयो । गुटेरेसले लुम्बिनी वौद्धमार्गीहरुको तीर्थस्थल मात्रै नभई विश्व शान्तिको मुहान पनि भएको सन्देश लुम्बिनीबाट दिनुभयो । जुन नेपालका लागि ज्यादै महत्वपूर्ण विषय हो ।

नेपालको संसदलाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय महासचिव बन्नु भएका गुटेरेसले नेपालमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न थप प्रोत्साहन पनि गर्नुभएको छ । साथै त्यसका लागि नेपाल एक्लो नरहेको सन्देश पनि उहाँले दिनुभएको छ । संसदबाट नेपाललाई विश्वको मित्र भनेर गुटेरेसले विश्व समुदायसामु नेपालको छवि उजागर गर्ने सन्देश पनि दिनुभएको छ ।

संयुक्त राष्ट्रसंघ जस्तो विश्व संस्थाका प्रमुखले चार चार दिन नेपालमा बिताउनु आफैंमा ठूलो सन्देश हो । त्यसमाथि महासचिव गुटेरेसले नेपाल भौगोलिक सुन्दरता, नेपालीहरुको आत्मीयता, यहाँको साँस्कृतिक विविधता तथा नेपालले विश्व शान्तिका लागि पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुले पछिल्ला केहि वर्ष यता विश्व मञ्चमा ओझेलमा पर्दै नेपालको छवि पुनस्थापित गर्न सहयोग पुग्ने पक्का छ ।