१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नवलपरासीमा सशस्त्र प्रहरीद्वारा १ करोड बढीको अवैध सामान बरामद


260
Shares

नवलपरासी । नवलपरासीका विभिन्न नाकाबाट हुने अवैध सामान बरामदबाट सशस्त्र प्रहरीले एक महिनाको अवधिमा १ करोड १२ लाख बढी राजस्व जम्मा गरेको जनाएको छ ।

जिल्लाका विभिन्न नाकाबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नं. २६ गण र मातहतका युनिटले साउन महिनामा मात्र उक्त बराबरको सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको गणका प्रमुख एसपी प्रकाश वाग्लेले जानकारी दिनुभयो ।

बरामद सामानमा सबैभन्दा बढी ५१ लाख ९५ हजार बराबरका चाइनिज लसुन, चिनी, ब्याट्री, मोबाइल, मोबाइलमा प्रयोग हुने टेम्पर, हार्डवेयरलगायतका छन् ।

त्यसैगरी अवैध सामान ओसारपसारमा संलग्न मिनी ट्रक, बोलेरो, मोटरसाइकल नियन्त्रणमा लिई त्यसबाट ४३ लाख ६० हजार जम्मा भएको छ । त्यस्तै ४ लाख ६ हजार बराबरका बोइलर कुखुरा, माछा र ५० हजार बराबरको नदीजन्य पदार्थ ओसारपसारमा संलग्न सवारीसाधनबाट राजस्व जम्मा भएको सशस्त्र प्रहरीले जनाएको छ ।

जिल्लामा पछिल्लो पटक नेपाल र भारत दुवै देशतर्फ अवैध सामान ओसारपसार हुने गरेको गुनासो बढेको छ । जिल्लाको भूजहवा, महेशपुर, पाचपेडा, बसैया, गेर्मी, अमानिगञ्ज, रामनगरलगायतका नाकाबाट त्यस्तो ओसारपसार हुने गरेको बताइएको छ।

सबैभन्दा बढी भारतबाट नेपालतर्फ खसी बोका, राँगा र चामलको तस्करी हुने गरेको छ । त्यस्तै नेपालबाट भारततर्फ चाइनिज लसुन, चाइनिज लाइटरलगायतका सामान तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।

त्यसैगरी भारतबाट नेपालतर्फ सामान तस्करी हुने अन्यमा माछा, मोबाइल, चिनी लत्ताकपडालगायतका रहेको बताइएको छ । तस्करीका सामान बरामद गर्ने कार्य बढेकोले राजस्व संकलनमा समेत वृद्धि भएको सशस्त्र प्रहरीले जनाएको हो ।