१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


निजी बाटोका लागि ऐतिहासिक हिति मासिँदै


2.366k
Shares

काठमाडौं । काठमाडौं उपत्यका कलात्मक ढुंगेधाराहरुका लागि पनि प्रसिद्ध स्थल हो । विगतमा पानी आपूर्तिका लागि बनाइएका ढुंगेधाराहरु बढ्दो शहरीकरणसँग मासिने क्रम तीब्र बनेको छ । स्वयम्भूमा रहेको ऐतिहासिक महत्वको ढुंगेधारा पनि निजी बाटो बनाउँदा मासिएको छ ।

हाम्रो मौलिक हिति सभ्यता र संस्कृति नेपालको पहिचान हो । यहाँ लिच्छवीकालदेखिका हितिहरु रहेका छन् । तर समयकालसँगै हितिहरु मासिएका पनि छन् । यसैमध्ये वडा नं १५ स्वयम्भूमा रहेको ऐतिहासिक हिति पनि नासिने अवस्थामा छ ।

काठमाडौ महानगरपालिकाको स्वर्णिम योजनाअन्तरर्गत यो हिति पुननिमार्णको क्रममा छ । तर पनि स्थानीयले हितिको अस्तित्व मेटिने भन्दै तत्काल पुननिमार्ण रोक्न माग गरेका छन् । जानकारी नदिई र सुचना पाटी समेत नराखी हिति परिसर खुम्च्याएर हिति पुननिमार्ण गरिरहेको स्थानीयको आरोप छ । बाटो नभएको निजी जग्गामा बाटो दिएर हिति परिसर खुम्च्याइएको आरोप उनीहरुको छ । हाल ऐतिहासिक हितिको ठाउँमा पाईप राखेर पानी बगाइरहेको देखिन्छ ।

स्थानीय सुरेश मानन्धर यो ऐतिहासिक हिति महानगरले नै संरक्षणको नाममा मौलिकता मास्न खोजेको बताउनु हुन्छ । व्यक्तिको प्रभावमा परेर सार्वजनिक हिति परिसर खुम्च्याइएको उहाँको दावी छ ।

स्थानीयको विरोधका कारण निजी जग्गामा बाटो खुलाउन बनाएको पर्खाल भड्काइएको छ । बैशाख महिनामा बालाजुमा मेला भर्न र हितिमा स्नान गर्र्नेे परम्परा समेत रहेको छ । संम्पदा अभियन्ता नविन सिंहले लिच्छवीकालीन हिति र हिति परिसरलाई अतिक्रमणबाट रोक्नु पर्ने बताउनुभयो । संरक्षणको नाममानै हिति नष्ट गर्न खोजेको भन्दै आवश्यक अनुसन्धार गर्नु पर्ने उहाँको भनाइ छ ।

विकासको नाममा यस्ता सम्पदा नासिनु दुखद पक्ष हो । त्यसमा पनि व्यक्तिको प्रभावमा सार्वजनिक जग्गा अतिक्रमणलाई राज्यले रोक्ने ल्याकत पनि राख्न सक्नुपर्छ ।