तत्कालीन नयाँ शक्तिकी केन्द्रीय सदस्य नेकपामा, दाहालले गराए प्रवेश

news

काठमाडौं, वैशाख २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।

तत्कालीन नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य सीमा विकलाई बुधबार पार्टी मुख्यालय धुम्बाहारीमा पार्टी प्रवेश गराउँदै उनले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताए ।

‘आजमात्र हामीले पार्टी एकताको काम एक कदम अगाडि बढ्ने गरी गरेका छौं’–उनले भने–‘पोलिटब्यूरो, जनवर्गीय संगठनको एकता र केन्द्रीय सदस्यको कार्यविभाजनको केही दिनमा टुंग्याएर हामी सार्वजनिक गर्दछौं ।’

अध्यक्ष दाहालले एउटै कम्युनिस्ट पार्टी बनाएर मुलुकलाई समृद्धितर्फ लैजान पार्टी लागिपरेकोसमेत बताए ।

२०१९ सालबाट विभाजित कम्युनिस्ट दुई ठूला कम्युनिस्ट पार्टी एक भएपछि एकीकृत कम्युनिस्ट पार्टी बनेको उल्लेख गरे ।

उनले नेकपामा प्रवेश गर्नेको लहर देशव्यापीरुपमा बढेको बताए ।

‘पार्टीमा जोडिनका लागि थुप्रैसँग सम्पर्क भइरहेको छ । हामी पनि यही पार्टीमा जोडिन चाहन्छौं भनेर देशभरबाट खबर आइरहेका छन्’–उनले भने–‘केही दिनमा ठूला, साना कम्युनिस्ट पार्टी नेकपामा जोडिन आउनेछन् । पार्टीलाई अझ पूर्णता बनाउने हो ।’

अध्यक्ष दाहालले पार्टी एकता देखेर के गरेर बिथोल्न सकिन्छ र के गरेर नेताबीच कचिंगल गर्न सकिन्छ भनेर प्रयास भइरहेको भन्दै ती प्रतिक्रियावादीका भ्रमलाई परास्त गदै पार्टी एकतालाई अगाडि बढाइने जानकारी गराए ।

उनले कम्युनिस्ट आन्दोलन मुलुकमा समाजवादको आधार निर्माण गर्ने कडीकारुपमा रहेको बताए ।

उनले विगतको अनुभवको समीक्षासहित जनताको चाहना तथा उत्साह हुने गरी नीति तथा कार्यक्रममा समेटिएका कुरालाई आधार बनाएर बजेट बनाइने बताए ।

विकलाई अध्यक्ष दाहालले टीकामाला लगाइ पार्टी प्रवेश गराएका थिए । 

विकले नेकपाको सिद्धान्त, विचारले नै मुलुकलाई सही दिशा दिने भएकाले प्रवेश गरेको बताइन् ।

उनी जनमुक्ति पार्टीबाट दोस्रो संविधानसभा सदस्य रहेकी थिइन् ।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल सहभागी थिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...