बालिका मृत्यु प्रकरणः सरकारी निकायहरुबाट किटानी जाहेरी लिन अस्वीकार

news

प्रज्ञा तिमल्सिना र सुन्दर तामाङ (इमेज)

काठमाडौं, वैशाख ३१ । यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाहीकी बालिका आकृतिकुमारी साहका आफन्तले न्याय खोज्दै दिनहुँ विभिन्न निकायहरुमा धाइरहेका छन् ।

उनीहरुले मेडिकल काउन्सिलदेखि स्वास्थ्य मन्त्रालयसम्म पुगेर घटना छानबिनका लागि हारगुहारसमेत गरेका छन् ।

तर, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उनीहरुको उजुरी दर्तासमेत गर्न मानेका छैनन् ।

छोरीको मृत्युको सत्यतथ्य छानबिनका लागि ९ दिन भयो आकृतिका बुवा रामप्रवेश साह सरकारी कार्यालय धाउन थालेको ।

कहिले प्रहरी कार्यालय महाराजगन्ज त कहिले सरकारी वकिलको कार्यालय र कहिले जिल्ला प्रशासन कार्यालय धाइरहेका छन्, रामप्रवेश साह । तर, उनको उजुरी दर्ता गराउन कोहीपनि तयार छैनन् ।

छोरीको मृत्युका कारण चोटमा रहेका यिनलाई मृत्युको कारण के हो भन्ने निर्क्योल गर्न सरकारी कार्यालय धाउँदा पनि सुनुवाइ नहुने अर्को पीडादायी कारण बनेको छ ।

पीडित परिवार शल्यक्रियामा संलग्न चिकित्सक, ल्याबका व्यक्तिको नाम उल्लेख गरेर मुद्दा दर्ता गराउन गएका थिए ।

तर, प्रहरी वृत्त महाराजगन्जले भने व्यक्तिको नाम हटाएर उजुरी दिए तत्काल मुद्दा दर्ता गर्ने भन्दै फकाउने गरेको आकृतिका आफन्त सुरेन्द्र साहले बताए ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा फरक रगतका कारण आकृतिकुमारीको मृत्यु भएको थियो । आकृतिको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छ ।

‘ओ’ पोजेटिभ भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत दिइएको थियो । जसका कारण उनको मृत्यु भयो । तर, आकृतिको मृत्यु प्रकरणबारे सरकारले पनि वास्ता गरेको छैन ।

उता, अस्पतालले भने अस्पतालसँग असन्तुष्ट कर्मचारीका कारण यो घटना बढ्दै गएको भन्दै पन्छिन खोजेको छ ।

अस्पतालले छानबिन समिति गठन गरेको जनाएको छ भने नेपाल मेडिकल काउन्सिलले पनि छानबिन समिति गठन गरेको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...