
काठमाडौं, असार १६ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले उल्लेखनीय भूमिका खेलेको बताउनुभएको छ ।
राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबार बसेको बैठकमा मन्त्री त्रिपाठीले कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहले असाधारण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभएको हो ।
उहाँले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा भारतीय सीमासँग जोडिएका स्थानीय तहको भूमिका अझ बढी प्रभावकारी देखिएको जिकिर गर्नुभयो ।
मन्त्री त्रिपाठीले ‘क्वारेन्टिन’ व्यवस्थापनका लागि स्थानीय तहलाई सरकारले पठाएको बजेट मन्त्रालयमार्फत् नभइ सिधै कोरोना कोषबाट निकासा भएको जानकारी दिनुभयो ।
क्वारेन्टिन व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिएको भन्दै मन्त्री त्रिपाठीले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको बताउनुभयो ।
बैठकमा सदस्यहरुले कोरोना नियन्त्रणको लागि भएको खर्च, महामारी रोकथामका लागि सरकारले गरेको काम र तीनै तहका सरकाबीचको समन्वयबारे जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्