
काठमाडौं, असोज ७ । चीनले नेपालको भूमि नमिचेको दाबी गरेको छ । नेपालसँग सीमा जोडिएको कुनै पनि ठाउँमा भौगोलिक विवाद नरहेको जिकीर पनि उसको छ ।
नेपालको भूमिमा भवन नबनाएको जिकीर गर्दै उसले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने पनि प्रष्ट गरेको छ ।
हुम्लाको लाप्चाबगरमा शदीयौंदेखि नेपालीले भोगचलन गरिरहेको नेपाली भूमि अतिक्रमण गरेर चीनले भवन बनाएको खबर आएकै बेला चीनको यो प्रष्टीकरण आएको हो ।
काठमाडौंस्थित चिनियाँ दूतावासले निकालेको प्रेस नोटमा भनिएको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद छैन । दुबै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’
नेपाल–चीन निकटका छिमेकी रहेको र नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको चीनले सँधै सम्मान गरेको पनि दूतावासले भनेको छ ।
नेपालस्थित चिनियाँ दूताबासका लुआन सिउतानले लेखेका छन्, ‘चीन र नेपाल मित्रवत् छिमेकी हुन् । चीनले सधैँ नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको छ । सञ्चार माध्यमले उल्लेख गरेका भवनहरू नेपाल–चीन सीमाको चिनियाँ खण्डमा रहेको कुरा प्रमाणित भएको छ ।’
नेपालले यसको आफैले परीक्षण गर्नसक्ने भन्दै दूतावास भन्छ, ‘नेपाली पक्षले यसको परीक्षण गर्न सक्छ । नेपाल र चीनबीच कुनै भौगोलिक विवाद छैन । सीमा मामिलामा दुबै पक्षले निकटरूपमा सञ्चार सम्बन्ध कायम गरेका छन् ।’

केही भारतीय मिडियाले यो विषय उछालेको पनि दूतावासले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्