
काठमाडौं, असोज १९ । तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौं ।
सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माउनु भएको छ ।
उहाँले सोमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माउनुभएको अस्पतालका निर्देशक डा. सङ्गीताकौशल मिश्रले जानकारी दिनुभयो ।
तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् ।
उहाँका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ ।
“आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन,” उहाँले भन्नुभयो, “अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।”
डा. मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् ।
जीवित शिशुमा चार जना छोरी हुन् ।
ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको ८०० ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ ।
डा. मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो ।
अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा डा. दिप्ति श्रेष्ठ, डा. नमिता सिङ्देन र डा. मुकेश कुमारले शल्यक्रिया गर्नुभएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्