बाढी प्रभावित क्षेत्र निरीक्षणका दुई तस्वीर : जसले प्रष्ट्याउँछ मधेसप्रतिको सोच

news

काठमाडौं, साउन २ । तराई मधेसका अधिकांश भाग बाढी र डुबानको चपेटामा छन् । केहीदिन अघि अविरल वर्षाका कारण तराई मधेसका कयौं जिल्ला बाढी तथा डुबानमा परेका हुन् । प्रभावित क्षेत्रमा अझै पनि राहत तथा उद्धारको अवस्था दयनीय रहेको पीडित पक्षको भनाइ छ ।

बुधबार बाढी प्रभावित क्षेत्रमा काठमाडौंबाट मन्त्रीहरुसहितको ‘जम्बो टोली’ स्थलगत निरीक्षणमा गयो । नेपाली सेनाको हेलिकप्टरमा विभिन्न जिल्लाका प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्न निस्किएको टोली ‘हवाई निरीक्षण’ मै सीमित रह्यो ।

बाढी तथा डुबानले सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला रौतहटमा सरकारी जम्बो टोलीले गरेको निरीक्षण बाढी प्रभावितहरुका लागि एउटा नराम्रो ठट्टाको विषय बनेको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनलगायतका उच्चस्तरीय सरकारी टोली नेपाली सेनाको इन्द्रबक्स गणमा बसेर फर्किएको थियो ।

सरकारी उच्चस्तरीय टोली आफ्नो जिल्लामा आएको थाहा पाएपछि गुनासो राख्नका लागि भेला भएका स्थानीयवासीहरु त्यतिबेला निराश भए, जब उच्चस्तरीय सरकारी टोलीका सदस्यहरु हेलिकप्टर चढेर अचानक फर्किए ।

प्रभावित क्षेत्रमा पुग्ने बाटो सहज नभएको तथा सुरक्षासमेतका कारण उच्चस्तरीय टोली बाढी प्रभावित क्षेत्रमा नपुगी फर्किएको स्थानीय प्रशासनको भनाइ छ ।

स्थानीयवासी भने प्रमुख राजनीतिक दल र सत्तामा रहेकाहरुले मधेसलाई हेर्ने दृष्टिकोण, मधेस र मधेसवासीका समस्याप्रतिको गम्भीरता यस्ता घटनाले बारम्बार प्रकट गर्दै आएको बताउँछन् । ‘उहाँहरु आफ्नो औपचारिकता पूरा गर्न आउनु भयो,’ गौर निवासी रामदयाल यादव भन्छन्, ‘पीडितहरुको समस्या उहाँहरुले हेलिकप्टरबाट कति देख्नु भयो होला र ? भोट माग्ने समय भए पो उहाँहरु घर–घर हात जोड्दै आउनु हुन्थ्यो ।’

जनताप्रतिको जिम्मेवारी र इच्छाशक्ति भएमा बाढी–डुबानले जनताको घरदैलो जान रोक्दैन भन्ने तथ्यलाई मधेसवासीका सामू केही दिनअघि सिके राउतले पुष्टि गरिसकेका छन् । सिके राउत तिनै व्यक्ति हुन्, जसलाई राज्यले केही महिना अघिसम्म ‘विखण्डनवादी’ मान्थ्यो । सरकारले उनीसँग सम्झौता गरेपछि मूलधारको राजनीतिमा स्वतन्त्रता पाएसँगै उनले आफ्नो राजनीतिक समूहलाई ‘जनमत पार्टी’ का नामबाट खुला राजनीतिक प्रतिश्पर्धामा उतारेका छन् । यतिमात्र होइन, पछिल्ला दिनमा उनले बाढी प्रभावित क्षेत्रमा राहत वितरण, उद्धारलगायतका काममा आफ्ना कार्यकर्ता उतारेका छन् । उनी स्वयं पनि घुँडा–घुँडासम्म पानीमा हिँड्दै पीडित परिवारको घरदैलोमा पुगेर वस्तुस्थितिबारे जानकारी लिएका तस्वीर उनकै सामाजिक सञ्जालमा भेट्न सकिन्छ । 

शासनसत्तामा रहेका नेताहरुले ‘सुकिला–मुकिला प्रवृत्ति’ देखाएर सुविधासम्पन्न स्थानमा पुगेर सरकारी अधिकारीहरु छलफल गर्ने, हेलिकप्टरबाट बाढीप्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रम एकातिर चलिरहँदा सिके राउत र उनका कार्यकर्ता बाढी र डुबानकै बीचमा पीडित सर्वसाधारणको घर–घरमा पुग्छन् भने मधेसका जनताले प्रमुख राजनीतिक दलहरुप्रति विश्वास गर्दछन् कि सिके राउतलाई ? जवाफ पाउन त्यति कठिन नहोला । 

प्रमुख राजनीतिक दलहरुको यही व्यवहार र कार्यशैलीका कारण मधेसवासी साना–तिना राजनीतिक घटनामा चाँडै तरंगित हुने गरेको राजनीतिक विश्लेषकहरुको भनाइ छ । त्यसैको परिणामस्वरुप कहिले आन्दोलन, कहिले विभिन्न समूहले मधेसवासीलाई सजिलै दिग्भ्रमित तुल्याएर आफ्नो स्वार्थ पुरा गर्दै आएको तर्क उनीहरु गर्दछन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...