चेम्बरद्वारा निकासीमा ‘सर्टिफिकेट अफ ओरिजिन’को अनलाइन सुरु

news

काठमाडौं, साउन ३ । नेपाल चेम्बर अफ कमर्सले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) अब अनलाइन पद्दतिबाट जारी हुने व्यवस्था गरेको छ ।

चेम्बरको सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा वाणिज्य तथा आपूर्तिसचिव केदारबहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अनलाइन प्रणालीको शुभारम्भ गरे ।

यसबाट निकासी प्रवर्द्धनको क्षेत्र अर्को युगमा प्रवेश भएको चेम्बरको दाबी छ ।

यसबाट निकासी व्यापार क्रमशः ‘डिजिटाइजेसन’ युगमा प्रवेश गर्दै निकासी व्यापार सहज, सरल, छिटो र झन्झटमुक्त हुने अपेक्षा चेम्बरको छ ।

वाणिज्य तथा आपूर्तिसचिव अधिकारीले उत्पत्तिको प्रमाणपत्र जारी गर्दा स्वनियमनमा बसी जारी हुने विश्वास व्यक्त गरे ।

साथै, यो प्रणाली आउँदो भदौ १ गतेदेखि पूर्णरुपमा लागू हुने, निकासीको महत्वपूर्ण दस्तावेज भएकाले कति मूल्यमा, कुन अवधिमा निकासी भयो आदिजस्ता विषयको अनुगमन गर्न सजिलो हुने बताए ।

चेम्बर अध्यक्ष श्रेष्ठले सरकारले अवलम्बन गरेको ‘डिजिटल इकोनोमी, डिजिटल नेपाल’को अवधारणाअनुरुप नै विदेशी व्यापारजस्तो अत्यन्तै गतिशील क्षेत्रमा अनलाइन सर्टिफिकेट अफ ओरिजिनको ‘सफ्ट लन्च’ हुनु समय सान्दर्भिक रहेको बताए ।

उनले मुलुकको निकासी अभिवृद्धि गर्न र व्यापार घाटा घटाउन कागजातकोे संख्या बढी भयो भन्ने सन्दर्भमा यो अत्यन्तै सकारात्मक भएको बताउँदै यसबाट लागत घट्ने र समयको बचत भइ प्रभावकारितामा वृद्धि हुने बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...