असारे बिकासको रफ्तारले दुर्घट्नामा देश

news

-सन्जिव कार्की 

आदर्श, सिद्धान्त र दर्शनको जुनसुकै र जस्तोसुकै आकर्षक लेपन र जामा पहिरे पनि लोभ लालच र स्वार्थको घैलो सबैको उस्तै उस्तै हुनेरहेछ । कहिल्यै नभरिने, जहिल्यै अभाव नै अभावमा रहेको लोभ र स्वार्थको घैलो । लोभ, मोह र निस्वार्थ , निस्कपट केवक यन्त्र या मानव निर्मित मेशिन बन्न सक्ला , रोबर्ट यसको उदाहरण हुनसक्छ ,बन्न सक्ला तर मान्छे बन्न सक्दैन् ।

मान्छे अरुलाई, लोभी, स्वार्थी, लालची र ढोंंगीको उपमा आलंकार र पदवी भिडाउन एक नम्बर देखिन्छ सोही मान्छे समय क्रममा आदर्श, निस्वार्थ, त्यागी र समाजको लागि केही गर्न खोज्ने मान्छे आफैं स्वयं स्वार्थ र फोहोरी आहालमा चुर्लुम्म डुबेको देखिन्छ, अनिति र अनियमको पर्यायवाची बन्न पुग्छ मान्छे । आदर्श च्युत बनेर अनाचार, भ्रस्टाचार ,दुराचार , दुराग्रह र दुर्विचारको प्रबक्ता बन्न पुग्छ ।

कम्युनिस्ट आदर्श सिद्धान्त र नीति आज लगभग त्यस्तै भएको छ ।  सत्तामा पुगेर आफ्नो सबलता देखाउन नसक्ने बरु विकृति र विसंगतिको मुल योजनामै समाहित हुने र निरन्तर जारी राख्ने प्रवृतिले कम्युनिस्ट आदर्श आज हासी मजाकको विषय बनेको छ । कम्युनिस्ट नेता–कार्यकर्ता बिग्रेको उदाहरण दिएर मान्छेहरुलाई जिस्काइन्छ । कुनै बेला भ्रष्टाचारीहरुको डम्पिन्ङ साइट मानिएको काङ्ग्रेसको स्थिति आज नेकपा हुनु दुर्भाग्यपूर्ण स्थिति हो । वि.स. २०५१ सालको मनमोहन अधिकारी सरकारको रोल मोडल बन्नुपर्ने नेकपा शेर बहादुरको असल अनुयायी र अनुशरणकर्ता बनेको छ । अत्याधिक विवादित र नीतिगत भ्रष्टाचार भनेर चर्चित प्राडो, पजेरो कान्डको प्रार्दुभाव भनेर सांसदलाई सांसद विकास कोषको नाममा नीजि तजबिजको आधारमा खर्च गर्ने गरि  निर्वाचित सांसद करोडौं रकम दिनु र ल्यापटप खरिद गरि दिनुमा अन्तर कहाँनेर छ र ? राजनीति सेवा भनेर आउनेहरू सुबिधाक लागि मरिहत्ते गर्छन । सुबिधा कुराको तिव्र बिरोध, निरन्तर खिलाफमा कम्युनिस्ट सिद्धान्त बोकेर मान्छेहरु आफुलाई बलिदान गर्न राजी भए । बर्षौं बर्षौं वर्ष जेल नेल यातना र अभाव दुख झेले आज त्यही वृत्ति र प्रवृति बोकेर लज्जाहीन शासक बनिरहे छन् ।

हिजोका शासक प्रशासकको झल्को हैन अनुसरण गरिरहे छन् । सेवक सरकार बन्नुपर्ने हो तर शासक सरकारको क्रमभङ्ग गर्ने हिम्मत कसैले गरेन । शास्त्रीय शासकहरुको सिको गरेर आफुलाई उस्तै र उही देखाउने होडबाजीमा लोकतान्त्रिक श्रीपेच लगाएका, प्रगतिशील समाजवादी श्रीपेच लगाएका अरु थुप्रै भुरे टाकुरे राजाहरू देखिन थाले । हिजो भन्दा आज राम्रो हुनुपर्ने हो र किन आज राम्रो हुन सकेन भनेर प्रश्न गर्दा उसको पालामा पनि यसै भएको थियो हैन र भन्ने प्रतिप्रश्न जबाफ बनेर उपस्थित हुन्छ । बिग्रे भत्केको कुरा गरियो, त्रुटी, कमजोरीको बारेमा बोलियो र प्रश्न उठाइयो भने प्रधानमन्त्री यो मैले गरेको हो ? बाढी पहिरो मैले ल्याएको हो र ? या मेरो पालामा मात्रै आएको हो बाढिपहिरो र भनेर चेतनाशुन्य तर्क र जबाफ फर्काएको प्रशस्त दृस्टान्त छन्  ।

जिम्मेवारी र उत्तरदायित्व अनि जबाफदेहिताको प्रायः अवसान भएको पाइन्छ । जनता सोचमग्न छन हिजोको जस्तै आज हुने हो भने हिजो र आज शासन गर्ने प्रशासन गर्नेमा फरक के रह्यो र ? किन फरक फरक मान्छे, बेग्लाबेग्लै सिद्धान्त भनेर रोज्नु पर्यो र ?  किन गर्नुपर्यो चुनाव ?  किन सक्नु पर्यो आबधिक निर्वाचन भनेर अरबौ अरब बिनासित्ती ?  जन्मसिद्ध श्रेष्ठता होइन जनताको रोजाईको श्रेष्ठता किन चाहियो ? जन्म श्रेष्ठता रोज्न छोडेर ब्यक्तिको क्षमता र योग्यतामा आधारित प्रतिस्पर्धात्मक ब्यबस्था असल र प्रजातान्त्रिक हुन्छ भनेर अब पनि विश्वास गर्ने आधार के ?  सकारात्मक भिन्नता हुनुको साटो नकारात्मक समानता किन देखिन्छ ?  नकारात्मक समानतामा आधिक्यता रहेपछि सकारात्मक समानताको बाट अपेक्षा गर्ने ?

बिकृती सच्याउन ब्यबस्था परिवर्तन गर्न तयार नेपाली जनता नेताको अवस्था मात्रै परिवर्तन भएको देखेर निराश र खिन्न छन । जतासुकै बेथिति र अनिति ब्याप्त छ । प्रजातन्त्र , लोकतान्त्रिक गणतन्त्र नितिको लागि ल्याइएको हो अनितिको लागि होइन तर विगतमा जे हुन्थ्यो आज पनि सोही शैली चालढाल र तौरतरिका कायम गर्ने हो भने नयाँ पात्र निर्वाचित हुनुको मतवलब के रह्यो र ? असल र सुशासनको लागि , समृद्धि र विकासको लागि नेपाली जनताले कम्युनिस्ट पार्टीलाई दुई तिहाई मत दिएर विश्वास गर्नुको अर्थ के भयो र ?  सदाझैं यो वर्ष पनि असारे विकासको तिव्रता र निरन्तरता देखेर पुराना कम्युनिस्ट, पुर्व राजदूत , पुर्व सांसद कोइराला खान्दान भित्रका कम्युनिस्ट कमल कोइराला आफ्नो फेसबुक पेजमा यस्तो पोस्ट गर्छन ।  ‘कम्युनिस्ट सरकार र लुटाहा ठेकेदारले मिलेर असारमा सांढे दुई खर्ब र यस मध्य अन्तिम दिनमा ७६ अर्ब बांडेछन’ यो आक्रोश यो पीडा यो प्रहारको अर्थ कोइराला भित्रको आक्रोश जनताको पीडा र आक्रोश होइन र ?

कम्युनिस्टहरु सिद्धान्त च्युत बनेको स्खलनमा गएको पक्कै पनि इमानदार नेता कार्यकर्तालाई मन पर्दैन, चित्त दुख्छ । पीडावोध हुन्छ । यही पीडाको अभिव्यक्ति हो कमल कोइरालाको पनि । कम्युनिस्टहरु कम्युनिस्ट बन्न त असम्भव छ तर कम्युनिस्ट जस्तो मात्रै देखिए भए पनि धेरै फरक पर्थ्यो हिजो र आजमा । घूस खाने कर्मचारी , नेता, कालोबजारी गर्ने ब्यापारी, गुणस्तरहीन काम गर्ने ठेकेदार, मेडिकल कलेजको नाममा मृत्यु र भय बेच्ने ब्यापारी, जिराहा मान्छेहरु, पिराहा समाजका गुन्डा डन, बदमासहरु निर्धक्क आफुलाई कम्युनिस्ट भन्न मन पराउँछ्न र असली कम्युनिस्ट भएको दावी गर्छन् । शासन ब्यबस्था चालकहरूको रवैया पनि त्यस्तै छ अनि कहाँबाट प्राप्त हुन्छ अमन चैन, शान्ति सुरक्षा, समृद्धि बिकास र सुशासन ? कमसल र गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्ने, समयमा काम नस्कने, प्राबिधिक डिजाइन भन्दा बाहिर बसेर काम सकेको भान दिने, देशभरी नै निर्माण ठेक्का होल्ड गर्ने ठेकेदार कम्पनी र मालिकको आश्रय देशका ठूल्ठूला नेताले पाएपछि ठेकेदार मालिक नभएर को हुन्छ ? पहुँच ठेकेदारले नदेखाएर कसले देखाउछ ? अनि किन असारको अन्तिम अन्तिम घडीमा बिकासको कामले गति नलिओस ?  जबजब असार लाग्छ तबतब गाउँ गाउँमा निर्वाचित जनप्रतिनिधिहरु तिनका नातेदार र आफन्त कार्यकर्ताको डोजरले बिकास निर्माणको करामत देखाउन थाल्छन् । बाटोको डिजाइन, नापनक्सा, लागत स्टिमेट, वातावरणीय मुल्यांकन ,  प्राबिधिक सीप र दक्षता डोजर चालक, उपभोक्ता समितिका मुखिया र केही राजनीति कार्यकर्ता आफैंले बहन गर्छन र रातारात निर्माण सम्पन्न गरेको कागज बनाएर असार मसान्तको भरपुर उपयोग गर्छन ।

अप्राबिधिक मान्छेले डिजाइन गरेको प्रकृति माथि निर्मम ढंगले चलाएको डोजर र त्यसबाट निर्मित पहाडी र हिमाली भेगको अवैज्ञानिक मोटरबाटोमा हुने दुर्घटना चालकको लापरबाही र नियतिको दोष मात्रै नभएर हाम्रो अविवेकी निर्णय र सरकारको दृस्टीहिनता हो । समयमै अपनाउनुपर्ने शतर्कता र सावधानी नहुनाले गम्भीर र भयंकर दुर्घटनाको शिकार निर्दोष जनता हुनुपर्ने यथार्थलाई सरकार खेलाची गरेर आँखा चिम्लदै रहन्छ । असारे बिकास बिनश भएर देशको ढुकुटी खाली हुँदा किन कुनै नीतिगत परिवर्तन गरेर यो संस्कार बदल्न चाह्दैन कम्यूनिष्ट सरकार ? वर्खे भेलसगै किन बग्छ्न  अनाधिकृत पैसाका बिटाहरु ? देशको सम्पत्ति मुफतमा केही मान्छेहरुलाई बाँड्न किन उदार छ हाम्रो राज्य संयन्त्र ? दस एघार महिना कुम्भककर्ण झैं निदाएर असारको पहिलो हप्तादेखि मात्रै किन जाग्छन ठेकेदार र सरकारी बिकासे अड्डाहरु ?  ठेकेदार, उपभोक्ता समिती र प्राबिधिक कर्मचारीको स्वार्थ मिल्ने उचित मौका र अवसर बनेको छ असार महिना । यसको कारण र नियत स्पष्ट छ जग जाहेर छ तर पनि चूप छौं हामीहरू ?  बिगतदेखि चलेको चलन संकार र परिपाटी भनेर बेखवर बस्छौं हामीहरु । गलत चलन, परिपाटी र संस्कार अझै पनि तोड्न सकिन्न भने किन भिर्नुहुन्छ कम्युनिस्ट सिद्धान्तको सप्तरङी पहिरन, समाजवादी र लोकतन्त्रबादी आवरण ?

वर्ष दिनभरी कामको मुल्यांकन, नियमन र सुपरिवेक्षण नगर्ने सरकारी कर्मचारीलाई किन जुवाइ मेजमान गरेर पालीरहनु हुन्छ ?  लास्ट आवरमा जसोतसो हतार हतारमा प्रक्रिया पुर्याएर बजेट सक्ने थितिको अन्त्य हुन अब कुन ब्यबस्था र अवस्थाको प्रतीक्षा गर्ने हो ? बिगतको गौरवमय अतित किन धुलिसाथ बनाएर बर्तामान कुरुप र बिरुप बनाउन लालायित छन कम्युनिस्ट नेताकार्यकर्ता ? भावी दिन र समयको बिकराल परिकल्पना किन हुन सक्तैन ? मानवमाथि मानवबाट हुने देश समाजमा ब्याप्त सबैखाले उत्पीडन, शोषण, भेदभावपूर्ण स्थितिको समुल अन्त्य गरि समतामूलक , समावेशी ,समृद्धिको दिशातिर राज्यलाई डोहो¥याउने कम्युनिस्ट दर्शन र सिद्धान्तको ध्येय र घोषणापत्रमा अन्तर्निहित यथार्थ बिच मेल कहिले सम्भव हुन्छ ? सेवा प्रदायक बैंकहरुलाई रातभर खुला राखेर असार मसान्तको अन्तिम दिनसम्म भुक्तानी दिन निर्देश गर्ने सराकार ११ महिनासम्म कुनै पनि योजना, आयोजनाको प्रोग्रेस रिपोर्ट हेरेर बस्तुगत मुल्यांकन गरेर, सुपरिवेक्षण गर्न आफू मातहतका निकायलाई जगाउने जमर्को र तदारुकता देखाउन बिर्सन्छ ।

आखिर किन उदासिन बन्छ सरकार वर्ष दिनसम्म ? वर्ष दिन भरी गरिसक्नुपर्ने काम, महिना भित्र असारभरमा सक्ने हतारो देखाउँदा त्यसको गुणस्तर कस्तो हुन्छ त्यो कुराको हेक्का राख्नुपर्ने राजनीतिक नीति निर्माता कहिले ब्युझन्छ्न ?  पूँजीवादी सामन्तवादी ब्यबस्था परिवर्तन गरेर जनताको सर्वोच्चता स्थापित गर्न संघर्ष गर्नेहरू, ब्यबस्था बदल्नेहरु पूँजीवादी भन्दा अनि अनुदार भएर पूंजीवादी मार्गमा आफैं बदलिएको ताजा नमुना नेपालमा प्रयोग भएको छ ।

तथापी, कम्युनिस्ट लोगो र झन्डा बोक्न हिनताबोध छैन । असारे बिकासको रफ्तार हेर्दा लाग्छ देश बिकास हुन समय लाग्दैन तर देश बिनाशको रसातल तर्फतिर उन्मुख छ । पारदर्शिता बिना प्रतिस्पर्धा रातारात ठेक्का दिने, उपभोक्ताको नाममा आफ्ना आसपासमा रहने भक्त र अरिंगालहरुलाई योजना आयोजना कमाइ गरिखाने उदेश्यसहित हात पारिदिने प्रवृतिले इमानको समाजबाद खत्तम पारिरहेको छ । सरकार प्रतिपक्षी सबै असारे बिकासमा आफ्नो उन्नति र प्रगति देख्छन् यसको विपक्षमा बोल्ने हिम्मत गर्दैनन् कारण सबाल छ अर्थको । पार्टी चलाउने, मोजमज्जा गर्ने बजेटको जसको मुख्य श्रोत र उपाय भनेको ठेक्कामा हुने अपारदर्शी र गुणस्तरहीन नाजायज भेरिएसन हो । राज्य दोहनको अघोषित सम्झौता र सहमति हो । राजनीतिक पार्टी र नेताकार्यकर्ताको परोक्ष सहभागीता ठेकेदार संरक्षण, प्रश्रय र आशीर्वाद जबसम्म रहन्छ तबसम्म असारे बिकासको तिब्रताको अर्बुद रोगले देश सधैंसधैं यसरी नै आक्रान्त भैरह्न्छ ।

अर्बुद रोगले ग्रस्त देश अन्ततः अकल्पनीय मोड र घुम्तीमा पुगेपछि पछुताउनु भन्दा ढिलो नगरी अहिल्यै तुरुन्तै ठाँउको ठाँउ केही सोच्ने कि नेताजीहरु ? असारे बिकास र प्रवृतिमा शैली र तौरतरिकामा क्रान्तिकारी छलाङ र क्रमभंगता आजको सबैभन्दा टडकारो खांचो र आवश्यकता महशुस गरेर कदम राजनीतिक नेतृत्व चलाएन भने आर्थिक दुर्दान्त दुर्घट्ना अवश्यम्भावी छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...