हावाहुरीबाट प्रभावित धनगढीका बासिन्दाले अझै राहत पाएनन्

news

कैलाली । गत जेठमा आएको विनाशकारी हुरीबाट प्रभावित कैलालीको धनगढी उपमहानगरपालिकाका पीडितले अझै राहत पाउन सकेका छैनन् ।

प्रभावित भएको डेढ महिना बितिसक्दासम्म पनि पीडितको लगत संकलन हुन नसक्दा राहत रकम उपमहानगरपालिकाको खातामै थन्किएको हो ।

गत जेठ २३ गतेको हुरीबाट पीडित बनेकाहरुको राहतको लागि  बैंक तथा वित्तीय तथा अन्य संघसस्थाले सहयोग गरेका थिए ।

सो वापत धनगढी उप–महानगरपालिका प्रकोप व्यवस्थापन कोषको खातामा एक करोड ६१ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।

त्यस्तै प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालयमार्फत् एक करोड २७ लाख ६५ हजार रुपैयाँ सहयोग रकम थपिएपछि कूल दुई करोड ८८ लाख ६५ हजारभन्दा बढी रकम जम्मा भएको धनगढी उपमहानगरपालिका लेखा अधिकृत डिल्लिराज ओझाले जानकारी दिए ।

उप–महानगरपालिकाले पूर्ण, आशिंक र सामान्य क्षतिसहितको विवरण प्रशासनमा पठाएपछि प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको हो ।

वडा कार्यालयहरुले कार्यकर्ता रिझाउन धेरै परिवारको पूर्ण क्षति भएको विवरण पठाएपनि प्रदेश सरकारको मापदण्डमा फरक परेपछि राहत वितरणमा समस्या भएको बताइएको छ ।

विभिन्न संघसस्था र प्रदेश सरकारले पठाएकै राहत रकम वितरण नगरेको उप–महानगरपालिकाले आफूले दिने राहतको पनि टुङगो लगाउन सकेको छैन ।

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड पीडितको लगत संकलन पूर्ण रुपमा नहुँदा वितरणमा ढिलाइ भएको बताउँछन् ।

पूर्ण क्षति भएका घरधनीलाई ६ हजार, मध्यम क्षति भएकाहरुलाई ३ हजार, पशुपंक्षीमा भएको क्षतिलाई ३ हजार र व्यावसायिक खेतीलाई ३ हजार राहत सहयोग गरिने भनिएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...