सरकार-विप्लव समूहबीच बार्ताः चर्चा भयो, ठोस पहल भएन (भिडियो)

news

-सरोज अधिकारी/ईमेज

काठमाडौं । प्रतिबन्धित नेक्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ताको चर्चा गरे पनि ठोस पहल भने कतैबाट भएको छैन ।

बरु सत्तारुढ दल नेकपाभित्रै चन्द समूहलाई हेर्ने र उसँगको वार्ताको सर्तका विषयमा मत बाझिएको छ ।

सरकारले गत फागुन अन्तिम साता चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि देशभर सो समूहविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन जारी छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म चन्द समूहका ५८५ नेता कार्यकर्ता पक्राउ परेका छन् ।

जसमध्ये ५४३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ भने ९६ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । ६५ जना अनुसन्धानका क्रममा छन् ।

यो बीचका यी घटनाले प्रतिबन्धित चन्द समूहका केही नेताले सरकारसँग वार्तामा बस्न सकारात्मक भएको सन्देश दिएपछि सरकारले पनि वार्ताको अनौपचारिक पहल सुरु गरेको चर्चा गर्‍यो ।

सरकारले नेकपाका नेता सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित वार्ता टोलीलाई नै पुनः वार्ताको जिम्मेवारी दिइए पनि खासै सो वार्ता टोलीसँग चन्द समूहका एजेण्डामा छलफल हुन सकेन । एकपटक मात्र अनौपचारिक कुरा भयो ।

पछिल्लो समय चन्द समूहका कार्यकर्ताको इन्काउन्टरमा मृत्युका घटना बढ्न थालेपछि सरकारमाथि वार्ताका लागि दबाब बढेको थियो । तर वार्ताका लागि दुवै पक्षले आ आफ्ना सर्त राख्दै आएका छन् ।

वार्ता टोलीका संयोजक पाण्डेले आफूले केही अनौपचारिक पहल गरे पनि ठोस कुरा हुन नसकेको बताए । यद्यपि दुवै पक्ष वार्ताका लागि लचक देखिएको उनको भनाइ छ ।

चन्द समूहका धेरै नेता तथा कार्यकर्ता पक्राउ परिसकेपछि उसले आफूलाई दबाब महसुस गर्दै वार्तामा बस्ने संकेत दिए पनि सरकारले शर्त राखिदिएपछि उसको नेतृत्व फेरी अलमलमा छ ।

चन्द समूहले औपचारिक वार्तामा बस्नुअघि आफूहरुमाथि लागेको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका सबै नेता–कार्यकर्ताको निःशर्त रिहाइ र आफूहरुलाई राजनीतिक पार्टीकै व्यवहार गर्दै कार्यक्रमहरु गर्न दिनुपर्ने माग अघि सारेका छन् ।

तर चन्द समूहले राखेको सर्त मान्न सरकार तयार छैन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सीके राउत समूह जसरी नै चन्द समूह पनि वार्तामा आउनुपर्ने अन्यथा वार्ता हुन नसक्ने बताइसकेका छन् ।

चन्द समूहले वार्तामा बस्ने अनौपचारिक संकेत दिए पनि उसका गतिविधि भने रोकिएका छैनन् ।

पछिल्लो समय कैलालीको धनगढीमा आफैंले बोकेको विस्फोटक पदार्थ पड्किँदा चन्द समूहका कार्यकर्ताको मृत्यु भएको छ ।

त्यसैगरी भोजपुर, खोटाङ, सोलुखुम्बुलगायतका जिल्लामा चन्द समूहका क्रियाकलाप जारी छन् ।

यसले सरकारसँग औपचारिक वार्ताको वातावरण बन्नेमा झन् आशंका उब्जाएको छ ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...