घुस रकमसहित इन्जिनियरहरु समातिए

news
फाइल तस्वीर ।

बर्दिया, काठमाडौं, साउन ४ । कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना कार्यालय, राजापुरका तीनजना इन्जिनियर र एक सवारीचालक १५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालय प्रमुख गणेश गैरेको नेतृत्वमा खटिएको टोलीले इन्जिनियर विश्वेश्वरप्रसाद साह, कमलप्रसाद सिटौला, हरिप्रसाद चौधरी र सवारीचालक टंकप्रसाद ओझालाई गेरूवा गाउँपालिका–१, एचआरपी कटेजबाट शनिबार दिउँसो पक्राउ गरिएको हो ।

आयोजनाको कामको सहजीकरणवापत् घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रमुख गैरेले जानकारी दिए ।

घुससहित तीनजना पक्राउ

यस्तै, अख्तियर दुरूपयोग अनुसन्धान आयोगको टोलीले १४ लाख ६८ हजार रूपैयाँ घुस रकमसहित तीनजनालाई पक्राउ गरेको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका प्रमुख प्रकाश अधिकारी र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह उक्त घुससहित पक्राउ परेका हुन् । त्यस्तै, सवारीचालक सुमन खड्का पनि उनीहरुसँगै पक्राउ परेका छन् ।

दोलखाबाट सरकारी गाडीमा काठमाडौँ आउँदै गरेका उनीहरुलाई शुक्रबार साँझ अख्तियारको टोलीले भक्तपुरको जगातीबाट पक्राउ गरेको जनाइएको छ ।

सिँचाइ प्रमुख अधिकारीको साथबाट १३ लाख ३८ हजार ५०० रुपैयाँ र इन्जिनियर साहको साथबाट एक लाख २९ हजार १०५ रुपैयाँ घुसको रकम बरामद भएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...