कांग्रेसभित्रै आज मेलमिलाप छैन : कांग्रेस नेता भण्डारी

news

दमौली, साउन ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको बताएका छन् ।

‘मेलमिलापको नीति अङ्गीकार गर्ने बिपी र उहाँको पार्टी कांग्रेसभित्रै आज मेलमिलाप छैन । नेता र कार्यकर्ताबीच सम्बन्ध बढाउन आजको दिनबाट प्रेरणा लिनुपर्छ,’ उनले भने ।

जननायक बिपी कोइरालाको ३७ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस तनहुँले व्यास नगरपालिका–५ मा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले शोषित पीडित जनताको मात्र नभई समग्र राष्ट्रको हितका लागि पनि बिपी कोइरालाको विचार आज पनि सान्दर्भिक रहेको बताए ।

भण्डारीले दुई तिहाइ बुहमतको सरकारलाई असफल हुने छुट नरहेको भन्दै वर्तमान सरकार असफल भए लोकतन्त्रमाथि प्रहार हुने बताए । सरकारले जनअपेक्षाअनुसार काम गर्दै जानुपर्ने नेता भण्डारीको भनाइ थियो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देलले राष्ट्र, राष्ट्रियता, लोकतन्त्रका निम्ति संघर्ष गर्ने बिपीको विचार आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताए ।

सिग्देलले राष्ट्रियता संरक्षणमा बिपीको भूमिका अतुलनीय रहेकाले उनको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस तनहुँका पूर्वसभापति ध्रुव वाग्लेले मुलुकको स्वार्थका निम्ति सधैँ लागिरहेका बिपीको विचार आज पनि सान्दर्भिक रहेको धारणा व्यक्त गरे ।

नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले बिपीबाट पाठ सिकेर अहिलेका राजनीतिक दल अघि बढ्नुपर्ने बताए ।

सो अवसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । वडा कार्यालयसँगको समन्वय र सहकार्यमा बिरुवाको संरक्षण गरिने कांग्रेस तनहुँका सचिव विश्व बास्तोलाले जानकारी दिए । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...