लामाको ल्हासामा लालसेनाको लल्कार र तिब्बतको तरक्की !

news

राजन कुईंकेल (चीन तिब्बतको भ्रमणबाट फर्केपछि)

तिब्बत । मेरो आफ्नै आँगनदेखि उत्तरतिरको भाग । जसको भौगोलिक सामिप्यमा म जन्मे, हुर्के, पढेँ, बढेँ र संसारका केही देशको भ्रमण गर्ने अवसरहरु पाईरहे ।

मेरा बाले भोट पुगेर नून ल्याएर खुवाएको कथा सुनाउँदा मलाई ल्हासामा सुन खोज्न पुगेका लक्ष्मीप्रसाद देवकोटाको मदनको झल्झली सम्झना आइरहन्थ्यो । कस्तो होला त्यो नून र सुनको संयोगको खानी भन्ने हुटहुटी मनमा चलिरहन्थ्यो । त्यहाँ जीवनकालमा एक पटक पाइलो टेक्ने जिजिविषा थियो नै ।

संसारका विकसित भनिएका, विकास र समृद्धिलाई लपक्कै अँगालेका देशको भ्रमण गरिरहँदा मलाई मेरो देशको नेतृत्व गर्नेहरुप्रति सधैँ सधैं धिक्कार भाव मात्र आइरहन्छ । अझै भनौं ति देशको विकास र प्रगति देख्दा इष्र्याले मन तड्पिन्छ । विकास र समृद्धीका लागि ति देशले गरेका एक एक बुँद देखेर जब म मेरो देशको अवस्था सम्झन्छु हरेक श्वास र पल मेरालागि सिस्नोले पोलेझै भइरहन्छ ।

पहिलो पटक सन् २००९ मा चिलगाडी (गल्फ एअरको विमान) चढेर जब म नेदरल्याण्ड जाँदै थिए, यात्राको मार्ग बदल्ने स्थल अर्थात् ट्रान्जिटका रुपमा जर्मनीको भूमि टेक्न पुगे । त्यहाँको फक्र्याङफर्ट विमानस्थलमा पाइलो हाल्ने वित्तिकै विकास कस्तो हुँदो रहेछ भनेर अचम्मितभन्दा बढी तर्सिएको थिए ।

त्यसक्रममा उच्च विकास गरेका यूरोप, एशियादेखि अमेरिकासम्म दर्जनौं मुलुकको यात्रा गर्ने अवसर प्राप्त भए । तर मेरो मनमा आफ्नै भूगोलसँग जोडिएको चीन त्यसमा पनि तिब्बत मूलतः ल्हासा पुग्ने लालसा सधै रहिरहेको थियो । भनिन्छ समयभन्दा बलवान् केहि छैन । त्यो अवसर जुर्न भने मेरो अन्तर्राष्ट्रिय यात्राको ठ्याक्कै एक दशक कुर्नु पर्यो । 

नेपालस्थित चिनियाँ दुतावासमा काम गर्ने कर्मचारी जीसँगको चिनाजान करिब मित्रतामा बदलिने क्रममा यो यात्रा सन्दर्भ जोडिएको थियो । उनले एक दिन चीन भ्रमणका लागि प्रस्ताव गरे । एक दुई विद्युतीय पत्र लेखन (ईमेल) हुँदै सन् २०१९ को जुलाई ८ देखि १५ अर्थात् २०७६ साल असार २३ देखि ३० सम्म तिब्बत हुँदै बेइजिङसम्मको यात्राका लागि समय व्यवस्थापन गर्न उनले भने ।

मलाई पनि चीन अझ तिब्बत पुग्ने हुटहुटी मनमा थियो नै । कार्यालयीय प्रबन्ध मिलाउँदै नेपालबाट हामी पाँच पत्रकार सिचुआन एअरको विमानमा असार २३ का दिन विहान ११ः३० बजेको समयमा उत्तरतर्फ हान्नियौं ।

काठमाडौंबाट ठीक मास्तिरको तिब्बती राजधानी पुग्न विमानलाई जम्मा साँढे एक घन्टा लाग्ने भएपनि हामी उत्रँदा ल्हासाको घडीले तीन बजाइसकेको थियो । कारण थियो, जसरी कुनैबेला नेपाल निर्भर तिब्बत, बेइजिङको बलमा विकसित हुँदैछ, त्यसैगरी त्यहाँको नाडी घडी पनि थियानमेनकै ईशारामा दौडने बनाइनु ।  

विमानस्थलमा ओर्लनेवित्तिकै ल्हासाले आफ्नो परिचय दिइसकेको थियो । नेपालको एकमात्र अन्तर्राष्ट्रिय नाममा रहेको त्रिभुवन विमानस्थलको छबीबाट भुक्तभोगी हाम्रो टोली जिब्रो काढ्दै, हामीलाई कुरिरहेका तिब्बती सूचना विभागका कर्मचारीहरु डिकी हाङ र एन डीको सेतो खाँदाको स्वागत स्वीकार्न पुग्यो ।

विमानस्थलबाट करिब ५० किलोमिटर टाढाको ल्हासा बजारसम्म पुग्दा प्रकृतिको उजाड मरुभूमितुल्य तिब्बत मानिसको मलजलमा कसरी काया फेर्दैछु भन्ने देखाउँदै थियो । जहाँ ल्हासा नदी (आङसी हिमनदीबाट निस्कने यार्लुङ स्याङपो नदीको उत्तरी क्षेत्रको मूल स्रोत हो, यहि यार्लुङ स्याङपो भारतको आसाम पुगेपछि ब्रह्मपुत्रको नाममा कहलिन्छ) को पानी प्रयोग गरेर ल्हासा शहरको हरियाली मात्र होइन कृषिको क्रान्ति नै पनि देखिँदैथियो ।

विकासका दृष्टिले तिब्बत र ल्हासाका बारेमा जुन चित्र मेरो मानसपटलमा थियो, त्यहाँ पुग्दा नपुग्दै परिवर्तन त भएकै थियो । पाँच दिने बसाईंमा विकासको नमूना सजिनु अस्वाभाविक थिएन । किनकी तिब्बत हिजोको थिएन । गरीबीले थिचिएका, च्यातिएका, मैलिएका र थोत्रिएका दुःखी अनुहारहरुको अवरण क्रमशः समृद्धिको बाटोमा हँसमुख रुपमा सजिएको थियो ।
परम्परागत तिब्बती वस्तीहरु विलुप्त हुँदै थिए । त्यसको साटोमा कुनै पश्चिमा मुलुकहरु वा अमेरिकी शैलीका विकासे अवधारणाका गगनचुम्बी भवनहरुले शहरमा स्थान लिएका थिए । एउटा विषयमा भने निकै सतर्कता देखिन्थ्यो । घरका बाहिरी आवरणमा भने तिब्बती शैली झल्काइएको देखिन्थ्यो । त्यो अनिवार्य नै थियो ।

रहस्य खोज्न पुग्नेहरुको लर्को

तिब्बत मेरा लागि जसरी कौतूहलको विषय थियो । त्योभन्दा बढी पश्चिमा मुलुकका लागि रहस्यमयी । कारण थियो, शताब्दीऔं लामो सभ्यता, संस्कृति र समाजिक बनोटमा चिनियाँ कम्युनिष्ट पार्टीको सरकारले सन् १९५९ मा हस्तक्षेप गरी तिब्बतमा शासन गरिरहेको दलाई लामाको सरकारलाई अपदस्थ गर्नु ।

चिनियाँ बोलवाला नसहने निर्णयका साथ १४ औं दलाई लामा सन् १९५९ मा भारत निर्वासनमा गएपछि यो विषय अन्तर्राष्ट्रिय विवादका रुपमा रहिरहेको छ । अमेरिकालगायत पश्चिमा मुलुक तिब्बतलाई स्वतन्त्र राष्ट्रको मान्यता दिनुपर्ने पक्षमा छन् भने चीन यसलाई आफ्नो सार्वभौमिकतामाथिको हस्तक्षेप ठान्छ । र भन्छ, तिब्बत आफ्नो अभिन्न अंग हो । जसको सारा प्रमाण उसले राष्ट्रसंघ लगायतका स्थानमा पेश मात्र गरेको छैन, चीन–तिब्बतका सबैजसो स्थानमा सुरक्षित राखेको छ । तीन दशकभन्दा बढी समय पश्चिमाहरुका लागि बन्द रहेको विश्वको छानो सन् १९८४/८५ बाट जब भ्रमणका लागि खुल्ला गरियो अहिले लाखौंलाख पर्यटकको रोजाईको गन्तव्य बनेको छ ।

इतिहासमा तिब्बतः स्रङचङ गम्पो र शक्तिशाली मध्य एशियाली साम्राज्यको स्थापना

तिब्बतलाई भूबनोटका आधारमा पृथ्वीको तेस्रो ध्रुव अर्थात् थर्ड पोल पनि भन्ने गरिन्छ । यो संसारको छानोको नामले पनि कहलिएको छ । तिब्बत मूलतः हिउँले खाएको उजाड डाँडाहरुको मरुभूमितुल्य पठार मानिन्थ्यो ।
तिब्बत एउटा रणनीतिक र शक्तिशाली राष्ट्रका रुपमा त्यतिबेला उदायो जब, सम्राट स्रङचङ गम्पो (नेपाली उच्चारणमा/सन् ६०४–६५०) ले सातौ शताब्दीतिर यार्लुङ नदीको समथल भूभागस्थित विभिन्न नामका रजौटालाई एकीकृत गर्दै एउटा विशालकाय साम्राज्यको विकास गरे ।


आफ्नो साम्राज्यलाई दीगो र समृद्ध बनाउन सम्राट स्रङचङ गम्पोले लिच्छविकालीन नेपालकी छोरी भृकुटीसँग विवाह गरे । उनले त्यहि समयतिर चीनका शक्तिशाली शासक ताङ वंशकी छोरी वाङचेङसँग विवाह गरी आफ्नो देशको सीमालाई पारिवारिक सम्बन्धको लेपले बलियो बनाए । अंशुबर्माकालीन तात्कालीन नेपाल वैभवको उत्कर्षमा रहेको र मूलतः नेपालबाट कला, कौशल र सीपलाई तिब्बतमा भित्र्याउने उद्देश्यका साथ भृकृटीसँग विवाह गरेको विश्वास तिब्बतीहरुमा अझै छ ।

नेपाली चेली भृकुटीले भने आफुसँगै बोकेर लगेको शाक्यमुनी बौद्ध दर्शन तात्कालीन तिब्बती साम्राज्यभर फैलाइन् । तिब्बतीहरुले पोताला दरबारलाई राजनीतिक–आर्थिक महत्वको माने पनि शाक्यमुनी बुद्ध र भृकुटीको मूर्ति रहेको दरबारलाई नै आफुहरुको आस्थाको मन्दिरका रुपमा पुज्दछन् । यस दरबारमा शाक्यमुनी बुद्ध, सम्राट गम्पो र उनकी रानीहरु भृकुटी र वाङचेङको मूर्ति स्थापित छ । अहिले पनि आमतिब्बतीका लागि यहि मन्दिर नै आस्थाको केन्द्र हो ।

तर करिब दुई शताब्दी पुग्दा नपुग्दै गम्पोले निर्माण गरेको मध्य एशियाली साम्राज्य तिब्बतको नक्शा बदलियो । अनेकन युद्ध सरदारहरुले तिब्बतलाई विभाजित गरे । यद्यपि, अस्थीर तिब्बतको त्यस समयमा पनि बौद्ध दर्शन र धर्मको भने प्रचार र विकास निकै भएको देखिन्छ ।

लामाको ल्हासामा लालसेनाको लल्कार र दलाईको निर्वासन

पछिल्ला केही शताब्दी दलाई लामा र तिब्बत अन्योन्याश्रित रुपमा जोडिएर आउने गर्दछ । दलाई लामा एउटा पद्वी हो । हाम्रा राजाहरुले शाह पद्वी ग्रहण गरेजस्तै । अहिले तेन्जिन ग्यात्सो नामका १४ औं दलाई लामा छन् । सन् १९५९ मा चिनियाँ लालसेनाले तिब्बतमा हस्तक्षेप गरेयता उनी भारत निर्वासनमा छन् । उनी भारतको धर्मशालाबाटै तिब्बती सरकारको नेतृत्व गरेको बताउँदै आएका छन् ।

तिब्बतमा दलाई लामालाई टुल्कुको अवतारका रुपमा लिइन्छ । यसलाई अवलोकितेश्वरको बोधिसत्व प्राप्त पुनर्जन्मको रुपमा विश्वास गरिन्छ । त्यहाँ नयाँ दलाई चुन्ने आफ्नै परम्परा र विशेषता रहेको छ । दलाईलाई ठूला गुरुको रुपमा पुजिन्छ ।
पहिलो दलाई लामाका रुपमा पेमा दोर्जे(१३९१–१४७४ जो बौद्ध दर्शनको अध्ययनपछि गेन्दुन ड्रुपका रुपमा कहिलिन थाले) लाई लिने गरिन्छ । त्यसयता माओ त्से तुङ नेतृत्वको चिनियाँ लालसेनाले सन् १९५९ मा नियन्त्रणमा लिनुपूर्व करिब साँढे पाँच सय वर्ष दलाई लामाहरुले तिब्बतमाथि कुनै न कुनै रुपमा शासन गरेको देखिन्छ ।

लालसेनाको मार्च र सत्र बुँदे सहमति

सन् १९४९ मा जब चिनियाँ कम्युनिष्ट पार्टीले चीनमा आफ्नो सत्ता कायम गर्यो । त्यसपछि चीनसँग जोडिएका अरु भूभागलाई पनि केन्द्रको अभिन्न अंगका रुपमा जोड्ने नीति बेइजिङको रह्यो । त्यही क्रममा चिनियाँ जनमुक्ति सेनाको एउटा विशाल टुकडी तिब्बततर्फ अगाडी बढ्यो । जनमुक्ति सेनाको उक्त टुकडीले जिन्सा नदी पार गर्दै सन् १९५० को अक्टोबरमा तिब्बती सेनालाई पारजित गर्यो ।

त्यहिबीचमा चीनले सहमतिका लागि वार्तामा आउन तिब्बतलाई खबर पठायो । ल्हासाका तर्फबाट दलाई लामाको प्रतिनिधि बनेर न्गापाई न्गावाग जिग्मे बेइजिङ पुगे । त्यहाँ दुबै पक्षका प्रतिनिधिबीच छलफल र वार्ता भए । सन् १९५१ को २३ मे मा तिब्बती प्रतिनिधिले अध्यक्ष माओसँग भेटवार्ता गरे र त्यहि दिन चिनियाँ तर्फबाट तयार पारिएको १७ बुँदे सहमतिमा हस्ताक्षर भयो ।

चिनियाँ सम्प्रभुताअन्तर्गत तिब्बत रहनुपर्ने, तिब्बतको हैसियत एक स्वशासित प्रदेशका रुपमा रहने, चिनियाँ जनमुक्ति सेनालाई ससम्मान तिब्बतमा प्रवेश गराई उनीहरुको गतिविधिलाई सघाउनुपर्ने, जनताको केन्द्रीय सरकारको नीतिहरु क्रमशः लागु गरिने, तिब्बती जनताले प्रयोग गर्दै आएको धर्म, परम्परा र संस्कृतिको सम्मान गरिने, तिब्बतको विकासमा केन्द्रीय सरकारले क्रमशः सहयोग गर्दै जानेलगायतका विषय १७ बुँदे सम्झौतामा समेटिए ।

तर दलाई लामाले उल्लिखित सम्झौतामा आपत्ति जनाए । उनले सम्झौतामा हस्ताक्षर गर्न आफ्ना प्रतिनिधिलाई बाध्य पारेको दावी गरे । वार्ता समितिलाई सम्झौतामा हस्ताक्षर गर्ने अधिकार नै नभएको जिकिर गरियो । सम्झौताका विषयमा ल्हासास्थित तिब्बती सरकारलाई जानकारी दिने अनुमतिसमेत चिनियाँ पक्षले नदिएकोलगायत तर्क दलाई लामाको रहँदै आएको छ । जबकी चिनियाँ पक्ष भने यो सबै साम्राज्यवादीहरुको उक्साहटमा लामाले लगाएको मिथ्या आरोप हो भन्छन् । यता दलाई पक्षले यो सम्झौता अमान्य रहेको घोषणा गर्यो । उता जनमुक्ति सेना यहि सम्झौतामा टेकेर अक्टोबर १९५१ मा तिब्बतको राजधानी ल्हासा प्रवेश गर्यो । 

तिब्बती लामाहरुको विद्रोह र दपेटिएका दलाई

यो सम्झौताका विपक्षीहरुमा रहेको उकुसमुकुस पाँच वर्ष पुग्दा नपुग्दै देखिन थाल्यो । चीन सरकारले समाजवादी सुधार कार्यक्रम भन्दै भूमिसुधारलगातका नीति अख्तियार गर्न थाल्यो । यसको असर तिब्बतको खाम र आम्दोमा सन् १९५६ मा विद्रोहका रुपमा देखियो । र यो राजधानी ल्हासासम्मै गुरिल्ला विद्रोहको शैलीमा देखियो । तिब्बतीहरुको विद्रोहमा सात समुन्द्र पारको अमेरिकी गुप्तचर निकाय सिआईएसम्मको संलग्नता पनि देखियो ।

विद्रोहको अन्तिम अवस्था भने सन् १९५९ को मार्च दोस्रो साता देखियो । मार्च १० मा ल्हासास्थित चिनियाँ सैनिक मुख्यालयमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा दलाई लामाको सहभागिताका सन्दर्भमा दुई पक्षबीच भएको आशंका र षड्यन्त्र नै १७ मार्चको मध्यरातमा पुगेर दलाईले तिब्बत छाड्नुपर्ने अवस्थामा पुग्यो । मार्च ९ देखि १७ सम्मको नौ दिन पोताला दरबारको आसपासको क्षेत्र अत्यधिक तनावमा रहेको इतिहासकारहरुले बताएका छन् ।

तिब्बतलाई चीनबाट स्वतन्त्र गराउन चाहने विद्रोही र चीनको हातबाट फुत्कन नदिने चिनियाँ जनमुक्ति सेनाबीचको यो द्वन्द्व सन् १९५९ को १७ मार्चको मध्यरातमा १४ औं दलाई लामाले ल्हासा छाडेर भारत निर्वाचसनमा गएसँगै सकियो । दलाईले राति नै ल्हासा छाडे पनि विद्रोही गुरिल्ला र चिनियाँ सेनाबीच २३ मार्चसम्म विभिन्न चरणमा रक्तपातयुक्त संघर्ष जारी रह्यो । अन्ततः जोखाङ मन्दिरमा रहेका विद्रोहीलाई २३ मार्चमा हराउँदै तिब्बतमाथि चिनियाँ लालसेनाले आफ्नो कब्जा जमाएरै छाडे ।

इतिहासकारहरुले स्वतन्त्र तिब्बतको विद्रोहमा ८० हजारभन्दा बढी मानिस मारिएका दावी गरेका छन् । चिनियाँ शासकहरुले भने यसलाई चिनियाँ कम्युनिष्ट पार्टीको सुधारवादी अभियान नरुचाउने तिब्बती उच्च वर्गको विद्रोहको रुपमा ब्याख्या गर्दै आएका छन् । आफुहरुको सुधार अभियानले लाखौं गरीबको उत्थान भएको दावी उनीहरुले गरेका छन् ।

जीवनको उत्तरार्धका दलाई, १५ औं दलाईको पुनर्जन्म संस्कार र अन्यमनस्कता

६ दशकदेखि भारतीय भूमिमा बसेर निर्वासित सरकारको नेतृत्व गर्दै स्वतन्त्र तिब्बतका लागि संघर्ष गरिरहेका दलाई लामाले तीन वर्षअघि तिब्बतमा साच्चिकै स्वायत्तता हुन्छ भने चीनको अंग हुन आपत्ति नरहेको तर यसको संस्कृति र लिपिको संरक्षण गरिनुपर्ने बयान दिए । सन् २०१९ मार्चमा दिएको अर्को बयानमा उनले आफ्नो अन्त्यपछि १५ औं दलाई लामाको पुनर्जन्मको संस्कार आफु रहेको स्थान भारतमै गरिनुपर्ने जिकिर गर्दै यसमा चीनको हस्तक्षेप असह्य हुने चेतावनी दिएका छन् ।

यस विषयमा चीनले लामाको यो चाहना पूरा नहुने भन्दै चिनियाँ भूमि बाहिर दलाई लामाको पुनर्जन्मको प्रक्रिया अर्थात् रिइन्कार्नेसन हुन नसक्ने चेतावनी दिइसकेको छ । हाम्रो भ्रमण टोलीसँगको लामो छलफलमा बेइजिङस्थित तिब्बत अनुसन्धान केन्द्रका पदाधिकारीहरुले लामाको यो चाहना पूरा नहुने भन्दै १५ औं दलाईको पुनर्जन्मसँग सम्बन्धित सबै रीति र संस्कार चिनियाँ भूमिमै सम्पन्न हुने बताए । चिनियाँ भूमिभन्दा बाहिर खोजिएको दलाईले चीन–तिब्बतमा कुनै मान्यता नपाउने प्रष्ट गर्दै उनीहरुले यो प्रक्रियामा भाँजो नहाल्न १४ औं दलाईलाई समर्थन गरिरहेकाहरुलाई सचेत पनि तुल्याए ।

लामापछिको ल्हासा र तिब्बतको तरक्की

६० वर्षको अन्तरालमा शताब्दीऔं शताब्दी दलाई लामाले शासन गरेको ल्हासामा धेरै परिवर्तन आइसकेको छ । हाम्रा पूर्वजले सुनाउने गरेको सुन र नून ल्याउने किस्सामा मात्र यो सीमित छैन । या महाकवि देवकोटाले लेखेको मुनामदनको भोटको कथासँगै अब यो मेल खान्छ !

हो यतिबेला तिब्बत पुग्ने मानिसले एकछत्र विकासले लपेटिएको तिब्बत पाउने छ । शहर मात्र होइन गाउँसम्म पनि विकासको यो लहरो पुर्याउन चिनियाँ सरकारले कुनै कसर बाँकी राखेको छैन । राजधानी ल्हासा मात्र होइन त्यसबाहेकको क्षेत्रमा पनि विकासको आधुनिक सूचक मानिने फराकिला र चौडा सडक, बिजुली, पानी, शिक्षा, स्वास्थ्य जस्ता विषय पुर्याएको देख्न सकिन्छ ।

गरीबीमा पिल्सिएका तिब्बतीलाई नयाँ सरकारको नीति तथा कार्यक्रममा समेट्न चीन सरकारले तिब्बतमा ठूलो लगानी गरिरहेको छ । समग्र तिब्बतको विकासका लागि केन्द्रीय सरकारले ९० प्रतिशतसम्मको व्ययभार बोकेको अधिकारीहरु बताउँछन् ।

पूर्वी तिब्बतका गाउँ शहर हुन् वा पश्चिमी तिब्बतका सबैजसो स्थानमा विकासको पूर्वाधारले पारेको फरक पाउन सकिन्छ । उच्च हिमाली भेगका बालबालिकालाई तल्लो तटीय क्षेत्रमा ल्याएर पूर्ण छात्रवृत्तिमा अध्ययन अध्यापन गराउनेदेखि तिनलाई सीपयुक्त शिक्षा दिनेसम्मको प्रबन्धमा केन्द्रीय सरकारको लगानी छ । समाजिक सुरक्षामा त यसै पनि समाजवादी नामको सत्ता रहेको चीनमा नहुने कुरै भएन ।

त्यहाँको प्रतिव्यक्ति आम्दानी नै दश हजार युआनभन्दा बढी रहेको दावी सरकारको छ । गरीबीको संख्यालाई उल्लेख्य रुपमा घटाइएको दावी गरिएको छ । दश प्रतिशत वृद्धिदर हासिल गरेको तिब्बतको सन् २०१८ मा कूल गार्हस्थ उत्पादन १४० बिलियन युआन रहेको सिह्न्वा समाचार संस्थाले जनाएको छ । सन् २०१८ को एउटा प्रतिवेदनले वार्षिक प्रतिव्यक्ति आम्दानी २ हजार ३०० युआन मात्र रहेको गरीबीको रेखामुनीका तिब्बतीको संख्या अब तीन लाखभन्दा केही बढी मात्र रहेको दावी गरेको छ । सन् २०१४ को जनगणना अनुसार तिब्बतमा ३१ लाखभन्दा बढी मानिस बसोबास गर्दछन् ।

मरुभूमितुल्य माटोमा सुन लहराउँदो तोरीका फाँट

तिब्बत यात्राका क्रममा देखिएको अर्को मनमोहक पाटो के हो भने हिउँले खाएर डढेको पठारका डाँडाकाँढामा फैलाउँदै लगिएको हरियाली । शायद समृद्धिले मानिसलाई मात्र होइन प्रकृतिलाई पनि उत्तिकै छोएको छ कि झै हुन्छ तिब्बतमा यात्रा गरिरहँदा । बन्जर डाँडाहरुमा माटो भरेर सिञ्चाई पुर्याई वृक्षारोपण गरिएको छ । हामी शदीयौंदेखि हुर्के बढेका रुख सखाप पारेर विमानस्थल बनाउने विकासमा जुटिरहँदा चिनियाँहरु उजाड डाँडामा हरियाली छर्ने अभियानमा केन्द्रित छन् ।

यात्राको अवधिभर सफा, फराकिला र चौडा सडकमा दौडिरहँदा सडकका दुबै किनारमा लहलहाएका बालीले मन कल्पिन्छ । तोरी फुलेर सुन तैरिएझै देखिन्छ । तिब्बतको पठारमा तोरी फुलेको देख्दा कुनैबेलाको हाम्रो चितवनको याद आँखाभरी नाचिरहन्छ । तोरीसँगै झुलेको छ, गहुँ, जौं, रुवालगायतका अन्नबाली ।

प्रविधिको प्रयोगमा प्रकृतिलाई दिँदै चुनौति

चीन यतिबेला पाँच हजार मिटरमाथिका बन्जर सुख्खा डाँडाहरुमा समुन्द्री सतहमा हुने उष्ण मौसमी तरकारी, फलफूल र बालीको उत्पादन गर्ने परीक्षणमा जुटेको छ । त्यहाँ उसले अन्तरीक्षबाट ल्याएको गोलभेडाको उत्पादनका लागिसमेत परीक्षण गर्दैछ ।

यसैगरी खरबुजा प्रजातिको खेतीको अनुसन्धान पनि गरिरहेको छ । उसले माटो बिना र थोपा सिञ्चाईको प्रविधि अपनाएर खेती गर्दैछ । जुन खेतीका लागि आवश्यक पर्ने बलौटे माटो नपाइने स्थानमा पनि गर्न सकिनेमा प्राविधिकहरु विश्वस्त छन् ।

सुन्दर सिगात्से

भ्रमणका क्रममा हामी नेपालको सीमावर्ती केरुङतर्फ निकट मानिएको शहर सिगात्से पनि पुग्यौ । यो शहर ल्हासादेखि २७१ किलोमिटरको दूरीमा रहेको छ । सगरमाथा जाने पर्यटकहरु यहि शहर हुँदै जान्छन् । कैलाश पर्वत र मानसरोवर जानेहरुका लागि पनि यात्रा मार्ग यहि हो । जबकी सिगात्सेदेखि नेपाली सीमानजिकको केरुङ पुग्न भने ५४७ किलोमिटर लाग्दछ । तिब्बत भ्रमण गर्नेहरुका लागि यो महत्वपूर्ण पर्यटकीय स्थल हो । जहाँ पाञ्चेन लामाको दरबार रहेको छ ।

फराकिला, चौडा र सफा सडक मात्र होइन सडककै बीचमा फूलका बगैंचा यहाँको थप आकर्षण हो । सडकको बीच भागमा लहरै सजाइएका फूलदानीयुक्त बगैंचाले शहरको सुन्दरतालाई थप आकर्षक बनाएको देखिन्छ ।

सिगात्से र नेपाली रेल सपनाको साईनो

उसोत सिगात्से नेपाल–चीनको सीमावर्ती चिनियाँ शहर केरुङसम्म रेल ल्याउने विन्दु पनि हो । सन् २०२० सम्ममा सिगात्सेबाट केरुङ रेल जोड्ने चिनियाँ योजना हाललाई केही पछि सारिएको छ । सिगात्सेबाट ५४० मिलोमिटर टाढाको केरुङ रेल पुर्याउन अर्को मिति हाललाई सन् २०२२ तोकिएको छ । यद्यपि, तिब्बतको राजधानी ल्हासाबाट हुईकिएको रेल भने दुई घण्टा १५ मिनेटमा २५३ किलोमिटर दुरी पार गर्दै सिगात्से पुग्न थालेको पाँच वर्ष भैसकेको छ ।

नेपालमा सिगात्से–केरुङ–रसुवागढी हुँदै काठमाडौं रेल हुईक्याउने सपना राजनीति केहि वर्षयता निकै मौलाएको छ । तर संशयचाहिं, सन् २०२० मा केरुङ रेल पुर्याउने घोषित योजना संशोधन गरेको चीनले निकै कठीन मानिने भुगोल छिचोलेर काठमाडौंसम्म रेल पुर्याउन कत्तिको तदारुकता देखाउँला भन्नेमा छ । रेलमा लगानी नेपालले कि चीनले गर्ने भन्ने किचलो टुग्याउन त बाँकी नै छ ।

यद्यपि, नेपाल सरकारले २० वर्षभित्र चीन–तिब्बत जोड्नेसहित चार हजार किलोमिटर रेल सञ्जाल निर्माण गर्ने लक्ष्य लिँदै केहि बजेटसम्म विनियोजन गरिसकेको छ । 

सिगात्से र पाञ्चेन लामा

यहाँ पाञ्चेन लामाको दरबारसँगै मैत्रेय बुद्धको विशाल मूर्ति र थुप्रै बौद्ध गुम्बा संरक्षित गरिएको छ । सिगात्से र ल्हासाको बीचमा रमाइलो के छ भने ल्हासामा पोताला दरबार छ । जहाँबाट दलाई लामाहरुले तिब्बतमा लामो समय शासन गरे । तर सिगात्सेमा पाञ्चेन लामा रहन्छन् । दलाई लामा भारत निर्वासनमा गए । १० औं पाञ्चेनले भने निर्वासन नभई स्वदेशमै बस्ने निर्णय लिए । योसँगै तिब्बती बौद्ध धर्ममा पाञ्चेनको प्रभाव र निर्णायकत्व पनि देखिन्छ ।

पाञ्चेन लामाको पुनर्जन्मको परम्परा पनि दलाईकै झै गरिन्छ । अझ बेइजिङस्थित केन्द्रीय चिनियाँ सत्ता पनि पाञ्चेनको पक्षमा देखिएको छ । सन् १९५९ को तिब्बत विद्रोहका समयमा बेइजिङलाई साथ दिएको आरोप पनि पाञ्चेनमाथि लाग्ने गरेको छ । यद्यपि, उनले पनि चिनियाँ कम्युनिष्ट शासकका तर्फबाट पटक पटक यातना पाएको उनका अनुयायीहरु बताउने गर्दछन् ।

सन् १९८९ मा १० औं पाञ्चेन लामाको असामयिक निधन भएपछि नयाँ पाञ्चेनको नियुक्तिमा भने निर्वासनमा रहेको दलाई लामा र चीन सरकारको आ–आफ्नै दाबा रहेका छन् । दलाई लामाले सन् १९९५ को मे मा निर्वासनबाटै गेधुन चोइकी निइमालाई ११ औं पाञ्चेन लामाको रिइन्कार्नेसनका लागि नाम घोषणा गरे । तर चीनले त्यसलाई मान्यता दिएन । उसले गठन गरेको पाञ्चेन लामा खोज्ने समितिले गेधुनको नाम नै समावेश गरेन । समितिले ग्यानकाइन नोर्बुको नाम पाञ्चेन लामाका रुपमा सोही वर्षको नोभेम्बरमा घोषणा गर्यो । नोर्बु सन् २०१० देखि चाइना बुद्धिष्ट एशोसिएशनको उपाध्यक्ष पनि रहँदै आएका छन् ।
दलाईले घोषणा गरेका पाञ्चेनलाई वेपत्ता बनाइएको आरोप लामा पक्षधर र मानवअधिकारवादीहरुले लगाउँदै आएका छन् । चीनले भने उनी आफ्नै ठाउँमा निजी जीवन यापन गरिरहेको बताउँदै आएको छ । उनको अवस्था के छ भन्नेमा संयुक्त राष्ट्रसंघसहितका मानवअधिकारवादी संघसंस्थाले खोजी गर्दै आए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

के खुशी छन् तिब्बती जनता

तिब्बतमा ६ दशकअघि भएको राजनीतिक परिवर्तन र त्यसयता प्रयोगमा ल्याइएको राज्य व्यवस्थाप्रति तिब्बती जनता खुशी छन् त ? यो प्रश्न स्वाभाविक रुपमा उब्जन्छ नै । हामीले पनि यो प्रश्न चिनियाँ अधिकारीहरुलाई सोधेका थियौं । बेइजिङस्थित तिब्बत अनुसन्धान केन्द्रका अधिकारीहरुले ‘चीनमा सामान्यतया राजनीतिका बारेमा यस्तो अनुसन्धान हुँदैन तर तिब्बतका सन्दर्भमा हामीले जनधारणा बुझ्ने गरेका छौं र उनीहरु खुशी छन्’ भन्ने प्रतिक्रिया दिए ।


उसोत चिनियाँ सरकारको नीति र गतिविधिसम्बन्धि जिज्ञासामा स्थानीयहरु बाहिरी ब्यक्तिहरुसँग कमै मुख खोल्छन् । यसै पनि तिब्बतमा यसबारेमा बुझ्न भाषा र अन्य प्राविधिक कारणबाट कठीन छ । हामीले वर्षौदेखि विभिन्न सिसिलामा त्यही बस्दै आएका केहिसँग यसबारेमा बुझ्ने प्रयास गरेका थियौं । उनीहरुका अनुसार ‘तिब्बती युवा पुस्तामा विकास र समृद्धिको प्रभाव निश्चिय नै परेको छ । रोजगारीका ढोका खुलेका छन् । तर पुराना बुढापाका जसले सन् १९५९ ताकाको दृश्य देखेका, भोगेका वा सुनेका छन्, उनीहरुलाई विकास र समृद्धिमा आफ्नोपन गुमेको गुनासो रहिरहेको छ ।’  
(केही तथ्य तथ्यांकका लागि गुगल/विकिपिडिया स्रोतका रुपमा प्रयोग गरिएको छ ।)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...