राष्ट्रियसभामा बाढी तथा डुबान क्षेत्रमा संसदीय टोलीको स्थलगत अध्ययन प्रतिवेदनबारे जानकारी

news

काठमाडौं, साउन १२ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बाढी र डुबान प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापना सम्बन्धी अल्पकालिन र दीर्घकालिन सुझाव समेटेर तयार पारिएको प्रतिवेदनबारे राष्ट्रियसभामा जानकारी गराएका छन् ।

आज बसेको बैठकमा अध्यक्ष तिमिल्सिनाले आफ्नो नेतृत्वमा सबै दलबाट प्रतिनिधित्व हुने गरी सांसद भ्रमण टोलीले बाढी र डुबान प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी तयार गरेको प्रतिवेदनबारे जानकारी गराएका हुन् ।

प्रभावित क्षेत्रमा गर्नुपर्ने काम र सुझाव कार्यान्वयन गरी त्यसबारे सभामा जानकारी गराउन समेत सरकारलाई उनले निर्देशन दिए ।

यस्तै, बैठकले कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ माथि छलफल गर्ने प्रस्ताव सर्वसम्मत पारित भएको छ । यस्तै, बैठकमा राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको सुशासनसम्बन्धी अध्ययन प्रतिवेदन पेश भएको छ ।

समिति सभापति तारादेवी भट्टले गत चैत १० देखि असार १ गतेसम्म ७ वटै प्रदेशमा गरिएको अध्ययन प्रतिवेदन पेश गरेकी हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसदहरु प्रकाश पन्थ, जितेन्द्रनारायण देव, बद्री पाण्डे र अनिता देवकोटाले संयुक्त रुपमा दर्ता गरेको अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि छलफल भएको छ । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अपाङ्गता भएका व्यक्तिलाई दिने मासिक भत्ता र सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन तथा अन्य सुविधा बढाउन छलफल भईरहेको जानकारी दिइन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...