
काठमाडौं, मंसिर १७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बैठक र भेलाहरु पार्टी मुख्यालय धुम्बाराहीमा गर्नुपर्नेमा प्रधानमन्त्री निवास बालुवाटारमा हुँदै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पार्टी बैठकका लागि न त पार्टी कार्यालय धुम्बाराहीमा जानुहुन्छ, न मन्त्रिपरिषद् बैठकका लागि सिंहदरबार नै ।
प्रधानमन्त्रीको सरकारी निवासमा हुने सत्ताधारी दलको बैठक र भेलाहरुले एकातिर सरकारी स्रोतको दोहन हुँदै आएको छ भने अर्कातिर नेकपाले सूचना सम्प्रेषणमा पत्रकारलाई समेत अमर्यादित व्यवहार गर्दै आएको छ ।
समाचार संकलनका लागि बालुवाटार पुग्ने गरेका पत्रकारहरुलाई प्रधानमन्त्री निवासको गेटबाटै प्रवेश गर्न रोक लगाइँदा पत्रकारहरुले सूचना प्राप्त गर्न सडकमै घन्टौंसम्म कुर्नुपर्ने अवस्था निर्माण गरिएको छ ।
मंगलबार बसेको नेकपा सचिवालय बैठकको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुलाई सडकमै उभ्याइएको थियो । बुधबार पनि त्यस्तै व्यवहार गरेर अपमानित गरियो ।
आफूहरुप्रति दुर्व्यवहार भएपछि मंगलबारको बैठकमा पत्रकारहरुले बालुवाटारभित्र प्रवेश गर्न नमान्दा प्रवक्ता नारायणकाजी श्रेष्ठले सडकमै आएर बैठकबारे जानकारी दिनुपरेको थियो ।
पेसागत कर्तव्य पूरा गर्दा आफूहरुप्रति गरिएको व्यवहारले दुःखी भएको पत्रकारहरु बताउँछन् ।
तर, किन यसरी पत्रकारहरुलाई अव्यवस्थितरुपमा सडकमै घन्टौं उभ्याएर राखिन्छ ? के सरकारी निवासमा बस्ने पार्टीको बैठकको सूचना प्रवाह गर्न पत्रकारहरुलाई व्यवस्थित गर्नेबारे नेकपाले ध्यान नदिएको हो ? यस विषयमा प्रवक्त श्रेष्ठ भने आफू बेखबर भएको बताउनुहुन्छ ।
त्यसो त प्रधानमन्त्री ओली सत्ताधारी दलका बैठकमा मात्र पार्टी मुख्यालय नजाने होइन, मन्त्रिपरिषद्को बैठक पनि सिंहदरबारमा गर्न छोडिसक्नुभयो ।
बालुवाटारभित्र गुटका भेला, पार्टी अन्तरसंर्घषका छलफल, कार्यक्रमहरु हुँदै आएपनि सचिवालयको बैठकमा पत्रकारहरुलाई प्रवेश गर्न नदिनुले सत्ताले अझैपनि मिडियाप्रति संकीर्ण भावना राखेको पत्रकारहरुले महसुस गरेका छन् ।
सूचना संकलनमै रोक लगाइनुले पनि पार्टीभित्रको विवादको सत्य कुरा बाहिरिने त्रासको अभिव्यक्ति बुझिन्छ ।
सचिवालय बैठकमा भएका छलफलहरुका सूचना अनौपचारिकरुपमै बाहिरिने गर्छन् । तर, सत्य, विश्वसनीय समाचार संकलनकै लागि भने सञ्चारकर्मीलाई नै रोक लगाउनुले राज्यले अहिलेपनि पत्रकारहरुप्रति कठोर बन्दै गएको आभास पत्रकारहरुले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्