तीन तोला सुन, एक कठ्ठा जमिनमा प्रचण्डको मितव्ययी जीवन शैली

news

-सञ्जिव कार्की

राजसी ठाँट, तडक भडक भएका अत्यन्तै खर्चिलो जीवन शैली बाँच्ने पुष्पकमल दाहाल (प्रचण्ड) सम्पत्तिको नाममा जम्मा तीन तोला सुन र एक कठ्ठा जग्गा मात्रै भएका निर्धन नेता हुन । तीन तीन पटक देशको प्रधानमन्त्री भएका हाल सत्ताधारी दलको अध्यक्ष र क्रान्तिकारी ब्यक्तिव प्रचण्डले आफ्नो सम्पत्ति सार्वजनिक गर्ने क्रममा देखाएको सम्पत्ति विवरण यति मात्रै हो जसलाई विभिन्न समाचार माध्यमले प्रकाशित र प्रशारित गरेका छन ।

प्रधानमन्त्रीको रूपमा विश्वमा नै पछिल्लो समयमा कृष्णप्रसाद भट्टराई पछि निर्धन र गरिब प्रधानमन्त्रीको चिनारी र परिचय बनाएका सुशील कोइराला हुन । कोइराला निर्धन र गरिब भए पनि यिनको सामान्य जीवनयापनको शैली र सरलता सबैले नजिक बसेर देखेको सत्य हो यद्यपि कोइराला समेत यदाकदा केही लाख नगद आफ्नो निवासबाट हराएको कारण विवादमा परेका थिए । निर्धन प्रधानमन्त्री कोइरालाले केही लाख हराएको विषयलाई लिएर अनेकन कोणबाट प्रश्नहरु उठे र कोइरालाको सादगी जिन्दगीमा औंला तेर्स्याइयो । विभिन्न लान्छना र आरोपले महिमा मण्डन पनि गरियो ।

राजनीतिमा जतिसुकै विवाद र कमसल नेताको रूपमा चित्रित गरिए पनि सुशीलको सामान्य जीवन यापन शैलीको विपक्षी राजनितिक नेताकार्यकर्ता पनि प्रसंशा गर्थे । देशलाई गुण नै लगाउन नसके पनि बैगुन चै नगर्ने मान्छे, लाभ दिन नसके पनि हानी चै नगर्ने मान्छेको अर्थमा निर्धन सुशील कोइराला परिचित थिए । सुशीलको प्रधानमन्त्रीत्व पनि संविधान जारी गर्नुको जस भन्दा पर केही रहेन भएन । तथापि काङ्ग्रेसहरु उनको पालामा संविधान आउनुलाई नै  महत्त्वपूर्ण र महान उपलब्धि मान्छ्न ।

आजको चर्चा राजनीतिक उपलब्धिको नभएर नेताको सार्वजनिक छवि र सम्पत्ति मोहको हो । सार्वजनिक  मान्छेको निजी जिन्दगी कम र सार्वजनिक जिन्दगी धेरै हुनाले हरेक सार्वजनिक मान्छेको निजी मामला र जीवन सार्वजनिक चियो र चासोको प्रसङ्ग हरपल बनिरहेको हुन्छ । झन भ्रस्टाचार जस्तो अर्बुद रोगले ग्रस्त हाम्रो जस्तो देशमा मान्छेहरुको सम्पत्ति कमाइ र रहनसहन चाल चलनमा आएको परिवर्तनले यस प्रतिको चासो चर्चा झन प्रवल र सबैको चियोको विषय बन्न जान्छ । चुचुरोमा नै पुगेको हुन्छ निन्दा र प्रसंसा ।

प्रचण्ड पनि यस कारण सधैं चर्चाको पात्र बनेका छन कि यिनको सार्वजनिक जीवन अत्यन्तै भडकिलो र खर्चालु छ । यिनको हातको घडी देखि सुत्ने पलङ अनि सधैं फेरिरहने सुटको बारेमा कयौं अडकलबाजि र तथ्यहरु बाहिरिएका छन । हरेक पटकको निजी विदेश भ्रमण होस या औपचारिक राज्यको कार्यकारी र कम्युनिस्ट पार्टीको नेताको हैसियतमा भएका भ्रमण । पटकपटक धेरै पटक प्रचण्ड भ्रमण सधैं खर्चिलो र देशलाई नै बोझ पर्ने आर्थिक विवरण बाहिरिन्छ । स्वदेशमै पनि विभिन्न महंगो रिसोर्ट प्रचण्ड रोजाइमा पर्ने गर्छ । प्रायः हिजो कसैले औंला उठाउन सक्ने परिस्थिति नहुँदा राजाको प्रत्यक्ष निगरानीमा शासन ब्यबस्था चल्दा अझ भनौं पन्चायती ब्यबस्थाको निरंकुशता हुँदा पनि राजाहरू, राजपरिवारका सदस्यहरुको यति भड्किलो र खर्चालु दिनचर्या हुँदैनथ्यो जति अहिलेका नेताहरूको छ अझ झन विशेष प्रचण्डको छ ।

एउटा सर्वहारा नेताको जिन्दगीको शैली र राजामहाराजाको शैलीमा ठूलो भिन्नता र फराकिलो अन्तर रहन्छ जुन स्वभावतः अन्यथा हैन तर यहाँनेर विल्कुल फरक दृश्य देखिन्छ । राजाहरू कम खर्चालु, मितव्ययी र कम्जुस तर जनताका प्रतिनिधि, सर्वहारा वर्गको अधिनायकत्वलाई आफ्नो आदर्श र दर्शन सम्झने कम्युनिस्ट नेताहरू ऎयासी सामन्ती प्रथा र ब्यबस्थाका नायक झै प्रतीत भएको छ । आदर्श र व्यबहार बिचको तालमेल अलिकति कहिंकतै र कहिलेकाही पनि मेल नखाने जीवन चरित्र प्रचण्ड कमरेडमा देखिन्छ जुन कम्युनिस्ट आचरण, विचार र दर्शनको खिलाफमा छ । तनाव न्यूनीकरणको बहाना होस या पार्टीको दस्तावेज लेखन प्रचण्ड रोजाइमा पर्छन् देशका ठूला ठूला र महंगा रिसोर्टहरु । आखिर रिसोर्टहरुले आफ्नो स्वार्थलाई केन्द्रमा नराखी या भोलि कुनै पनि बहाना र मुल्यमा क्षतिपूर्ति लिइहाल्छ्न ।

पार्टीको दस्ताबेज लेखनमा समेत रिसोर्ट पुग्ने प्रचण्डपथ गज्जब कम्युनिस्ट आचरण भनेर तत्कालीन एमाले नेताहरू व्यंग्य गर्थे । गरिबको लागि, जनताको लागि लेखिने राजनीतिक दस्तावेज पूँजीवादी सान र शैलीले कसका लागि लेखिन्छ ? रिसोर्टको बसाइ र खुवाइ पियाइबाट रक्सी सेवन गर्ने प्रचण्ड बानीले आजित भएर एकपटक कमरेड माधव नेपालले सार्वजनिक रूपमा नै उनको रक्सी खाने स्वभाव र शैलीलाई सडकमा बर्बराउने मातेको मान्छेको भाषणकै हाराहारीमा भनेर निम्न स्तरको भाषामा खिस्टयाएका थिए ।

प्रचण्ड नाममा कम्युनिस्ट हुन तर उनको आचरण व्यबहार र शैली पुजीवादी सामन्तवादी चरित्रलाई माथ गर्ने खालको छ । जसलाई उनका विपक्षी आलोचकहरुले होइन सत्तामा बस्ने आफ्नै नेताकार्यकर्ताले स्वीकार गरेका र केहीले विभिन्न माध्यमबाट आलोचना गरेका पनि छन । सम्पत्ति र धनार्जनको विषयलाई लिएर तत्कालीन माओवादीभित्र भयंकर मतभेद आलोचना र निन्दा भएको कारण अमिक शेरचनको संयोजकत्वमा छानबिन आयोग पनि बनेको थियो तर प्रतिवेदन बाहिर ल्याइएन । लहरो, पहरो सबै मुछिने र सबै थर्कने पार्टी नै भताभुङ बन्ने स्थितिको कारण सो प्रतिवेदन तैचुप मैचुप बनाउने अस्त्र बन्यो । आर्थिक विचलन र नैतिक अपचलनमा सबै माओवादी नेताकार्यकर्ता मुछिएर तत्कालिन माओवादीले आफ्नो साख गिरायो । प्रचण्ड नुर गिराएर नै रहे । नेताहरुको जीवनशौली सरलिकृत गर्ने संकल्प पनि गरियो तर कार्यान्वयन भएन । थुप्रैपटक घोषणा गरेर पनि प्रचण्ड शैली परिवर्तन भएन । आज पनि प्रचण्ड शैली, उनको खर्च गराइ लवाइ खुवाइ, घुमाइ डुलाइ सबै निन्दा चर्चा र आर्थिक अपचलनकै कारण भनिन्छ ।

आयश्रोत र सम्पत्ति विवरणमा जे भनिएको छ जे देखिन्छ त्यो विश्लेषण गर्दा प्रचण्ड शैली अत्यन्तै महंगो र विलासी छ जुन उनको आर्थिक हैसियत भन्दा नितान्त बेगल छ त्यो आर्थिक हैसियतले प्रचण्ड जीवन शैलीलाइ छुन त के कल्पना गर्न समेत भ्याउँदैन । पत्नी सीता सधैं रोगी, सँधै महंगो उपचार गर्नुपर्ने, देश विदेश गरिरहनुपर्ने, छोरी–बुहारी सबै राजनीतिमा अहिले जे आम्दानी छ सबै सरकारी पद प्राप्त भएको कारण मात्रै हो । सँधैको लागि निश्चित आयश्रोत ब्यापार ब्यबसाय छैन । ब्यबसाय हुने कै पनि सँधै आय आर्जन हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । यस्तो बेला प्रचण्ड परिवारको आयस्ता र जीवन शैली बिच कुनै पनि तालमेल मिल्न सक्दैन । कुन अर्थशास्त्री र ब्यबस्थापकले त्यस्तो चमत्कारिक ब्यबस्थापन गर्न सक्छ जसको आय र ब्ययमा हजारौं कोषको भिन्नता छ ? आय भन्दा ब्यय हजारौं गुणा फरक हुँदा पनि जिन्दगी सानदार ढंगले चल्छ ? गुप्त धन र रहस्य बिना यो सम्भव हुन्न कुनैपनी हालतमा ?  गरिब देशका गरिब मध्य कै एक प्रचण्डको लिभिङ स्ट्यान्डर्ड पक्कै पनि चामत्कारिक यस कारण छ कि उनको तीन तोला सुन र एक कठ्ठा जमिन सधैं उस्तै छ ।

कहिल्यै कसैगरि पनि नसकिने ‘विद्या धनंं सर्व धनं प्रधान नं’ भने झै छ प्रचण्ड सम्पत्ति जति खर्च गरे पनि नमासिने नसकिने । त्यही आय र आफ्नो संसद्को आयले प्रचण्ड परिवार विलासी जिन्दगी जिउन सक्छ । युरोप अमेरिकी धनी ब्यापारीहरुको भन्दा विलासी जीवन कसरी सम्भव हुन्छ प्रचण्ड सुत्र र मितव्ययीता जनता जान्न चाहन्छन ।  मीत ब्ययिताको उदाहरण र नमूना प्रचण्ड शैली र सम्पत्ति जनताको जान्ने हक भित्र पर्छ पर्दैन ? हामीले कस्तो जादुयी लोकतान्त्रिक गणतन्त्र ल्यायौं जसमा जनता ऋणमा चुर्लुम्म डुब्ने अनि नेताहरू तीनतोला सुन र एक कठ्ठा जग्गा भएकै भरमा संसार भ्रमण, उपचार एसआरामको जिन्दगी बाँच्न सक्ने ? अनि किन लागोस हेगको डर ? अरु हेग पुग्नपर्छ भनेर डराउँछ्न । हेग पुगेर प्रमाण पुग्नेहरु युद्ध अपराधी र मानव अधिकार उलंघनको अपराधमा जेल पर्छन । प्रचण्ड ‘हिरो हुन्छु’ भन्नु हुन्छ आखिर के छ प्रचण्डसँग त्यो चमत्कारीक खुवी ? जसले निहत्था नागरिकलाई क्रान्तिको नाममा कत्लेआम गर्दा पनि पुरुषार्थ ठान्दै पुरस्कार दिनेगर्छ ।

हिरो ठान्दै आकर्षण गर्छ ? किन चुक्यो नोवेल पुरस्कार प्रचण्डको हातमा पर्न ? गौतम बुद्ध समेत प्रायश्चित गर्दै आफुले रोजेको मार्ग र देखाएको मानवतावादी दृष्टिकोण गलत भन्दै प्रचण्डपथ अर्थात हत्या हिंसाको माध्यमबाट मुक्ति छिटो र सम्भव भनेर रुन आइपुग्लान शायद ?

कमरेड प्रचण्ड लगायत सम्पुर्ण नेतागण, म सामान्य नागरिक एक अर्थमा बबुरो प्राणी आजसम्म तपाईंले नमार्नु भएको कारण मात्रै जिवित छु । राज्य दोहन गरेर तपाईंहरुले लिनु भएको सेवा सुबिधामा र्‍याल काढेर बोलेको हैन । गणतन्त्रमा मेरो उपस्तिथि र हाजिरले सत्तासिनहरुको शरीर त के छाया छुने समेत औकात र ल्याकत राख्दैन  तर यति बोल्न र लेख्न भने सक्छु र भन्छु यो आम गरिब नेपालीको भावना हो । भावना यही भएका तर बोल्न नजान्नेहरुको बोलीमा प्राण हालेर बोल्दैछु ।

खासमा म कोही होइन तर जन्मदा भोटो लगाउँदा देखि मर्दा कात्रो किन्दा पनि कर तिर्ने एक आम नेपाली हुँ । बिपत्ति र गरिबी अनि कर्मले थातथलो खोसिएका नेपालीहरुको लवज हो, निन्दा हो, भत्सर्ना हो ,चेतावनी हो । श्राप हो । हामीलाई पनि थाहा छ तपाईंले प्रयोग गर्नु भएको सेवा सुबिधा र सहुलियतमा गरिबको रंगविहीन पसिनाको बुद मिसिएको छ । रोगी निमुखाको रगत परेको छ । चिसो चुल्हो बाल्न खाडी भासिएका झन्डै साठीलाख नेपालीको आँसु लतपतिएको छ । रोदन चिच्याएको छ । दैनिक लास बनेर रातो काठको बाकसमा भित्रने युवाहरूको अनमोल  जोवन छ । बिबिध परिस्थिति र परिबन्दको चंगुलमा फसेर नारकिय जेल जीवन बिताउने नेपालीहरुको आत्माको क्रन्दन छ । विदेशी भूमिमा बलात्कृत चेलीको योनीरस आलो रगतको आहाल छ । बाढीपहिरो, भुकम्पले उठीवास लगाएकाहरुको दारुण कथा र असंख्य सुस्केरा छ । लाज नै बेचेर लाजको वस्त्र कतिन्जेल लगाउनु हुन्छ नेताज्यू ? तपाईंले खाने प्रत्येक गाँसमा माथि उल्लेखित कुराहरू दुःख पीडा, दर्द र कहानीहरु छन । जनताको सेवा सुबिधा भन्दा पर गएर आफ्नै, आफ्नाको मात्रै हित सोच्नुभयो भने दैवी न्यायको लागि मान्छेहरुले भगवान पुकार्न बाध्य हुन्छन् । मान्छेले बनाएको कानुनले पाता कस्न सकेन भने भगवानले बनाएको कानुनले एकदिन जरुर सजाय दिनेछ यही लोकमा यही सबैले देख्नेगरि दन्डीत हुनुपर्नेछ ख्याल गर्नुहोला ।  

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...