
काठमाडौं, मंसिर २२ । ‘पीसीआर’ रिपोर्ट फरक पर्दा नेपाल वायुसेवा निगम बारम्बार समस्यामा पर्दै आएको छ ।
पछिल्लोपटक निगमको जहाजबाट हङकङ पुगेका पाँचजनामा कोरोना ‘पोजिटिभ’ पाइएसँगै हङकङले दुई साताका लागि उडान प्रतिबन्ध गरेको छ । यसले निगमलाई करोडौंको क्षति भएको छ ।
नेपालबाट कोरोनाको ‘नेगेटिभ’ रिपोर्ट लिएर नेपाल वायुसेवा निगमको जहाजबाट हङकङ गएका यात्रुमा कोरोना पोजिटिभ पाइएपछि हङकङमा निगमले दुई साता उडान गर्न नपाउने भएको छ ।
कोरोनाको रिपोर्टका कारण पटक–पटक उडान रोकिन थालेपछि निगमले सरकारी प्रयोगशालाबाटै परीक्षण सुरु गरेको थियो ।
तर, सरकारी प्रयोगशालाबाटै परीक्षण गर्दासमेत यो समस्या दोहोरिरहनाले परीक्षण र प्रयोगशालामाथि प्रश्न त उठ्ने नै भयो, सम्बन्धित यात्रु पनि सचेत हुनुपर्ने देखिएको छ ।
पटक–पटक यस्तो समस्या देखिएपछि गत मंसिर १५ गतेको निगम बोर्ड बैठकले निजी प्रयोगशालाबाट नभइ सरकारी प्रयोगशालाबाटमात्रै कोरोना परीक्षण गर्न सुरु गरेको थियो ।
तर, फेरि गत शुक्रबार सरकारी ल्याबबाटै परीक्षण गरिएका पाँचजना यात्रुमा हङकङ पुगेछिको टेस्टमा पोजिटिभ पाइएपछि हङकङ सरकारले उडानमा पुनः रोक लगाएको हो ।
हङकङमा संक्रमण रोक्नका लागि त्यहाँको सरकारले जुनसुकै मुलुकबाट गएका नागरिकको पनि कोरोना परीक्षण गर्ने र दुई हप्ता ‘क्वारेन्टिन’मा अनिवार्य बस्नैपर्ने व्यवस्था गरेको छ ।
नेपालमा यात्रुको पीसीआर परीक्षण गर्दा नेगेटिभ आउने तर हङकङ पुगेपछिको परीक्षणमा भने पोजिटिभ आउने गरेको समस्या चारपटक दोहोरिसकेको छ ।
यस्ता कारणले निगमले हालसम्म नौ करोड हाराहारीमा क्षति व्यहोरिसकेको निगमले जनाएको छ ।
तर, भाइरोलोजिस्टहरु भने कतिपय ‘केस’मा स्वाब दिएपछि संक्रमित हुने सम्भावनाले पनि यस्तो समस्या आउन सक्ने बताउँछन् ।
यस्तो समस्या जापान र दुबईमा पनि देखिएको थियो । तर, त्यहाँको सरकारले भने सचेतमात्र गराएकोले घाटा व्यहोर्नुनपरेको र राष्ट्रिय स्वाभिमानमा पनि आँच नआएको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्