
काठमाडौं, मंसिर २४ । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ ।
दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुनेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहने तर वर्षा भने नहुने बताउनुभयो ।
हाल प्रदेश नम्बर–१, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भूभाग तथा प्रदेश नम्बर–२ मा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।
प्रदेश नम्बर–१, २, वाग्मती र गण्डकी प्रदेशका भूभागमा अपराह्न आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सफा हुने विभागले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.० डिग्री र अधिकतम तापक्रम २०.२ डिग्री सेल्सियस छ ।
त्यस्तै, बुधबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.० डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस छ ।
प्रतिक्रिया दिनुहोस्