प्रतीक्षा खनाल र योगेश लामा (इमेज)
काठमाडौं, साउन २० । काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागमा स्तनपान कक्ष सन्चालनमा ल्याइएको छ ।
विभागमा काम गर्ने आमा तथा सेवाग्राहीहरुलाई आफ्ना सन्तानलाई स्तनपान गराउन सजिलो होस् भनी यो कक्ष स्थापना गरिएको हो ।
स्वास्थ्य सेवा विभागका कर्मचारी आमा तथा सेवाग्राहीले आफ्ना बच्चालाई दूध चुसाउन सकून् भन्ने उद्देश्यका साथ स्थापना गरिएको स्तनपान कक्ष निकै आकर्षक छ ।
दुईजना महिलाले एकैचोटी स्तनपान गराउनसक्ने क्षमता रहेको उक्त कक्षमा बच्चा सुताउने र हात धुने ठाउँसमेत छुट्याइएको छ ।
यस्ता कक्षले आमाको दूध खान पाउने बच्चाको नैसर्गिक अधिकारको संरक्षण गर्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिकस्थल तथा स्वास्थ्य संस्थाहरुमा यस्ता स्तनपान कक्षको स्थापना गर्ने घोषणा गत वर्ष नै गरेको थियो । तर, त्यसअनुरुप स्तनपान कक्ष स्थापना हुन सकेको छैन ।
देशको जनसंख्याको ठूलो हिस्सा स्वास्थ्योपचारका लागि पुग्ने अस्पतालहरुमासमेत स्तनपान कक्ष सन्चालनमा आउन सकेको छैन । सेवाग्राहीहरु कक्षको अभावमा असहजताकैबीच स्तनपान गराउन बाध्य छन् ।
देशकै जेठो अस्पताल वीर अस्पतालमा कार्यरत् महिला कर्मचारीको सुविधाका लागि दिवा शिशु स्याहार केन्द्र सन्चालनमा रहे पनि सेवाग्राहीका लागि छुट्टै स्तनपान कक्ष भने छैन ।
त्रिवि शिक्षण अस्पताल तथा कान्ति बाल अस्पतालमा पनि स्तनपान कक्ष सन्चालनमा छैन ।
असजिलो कुर्सीमा बसेर होहल्लाकाबीच स्तनपान गराउनु असहज हुने हुँदा स्तनपान कक्ष आवश्यक रहेको सेवाग्राहीहरु बताउँछन् ।
कतिपय आमाहरु सार्वजनिकस्थलमा स्तनपान गराउन हिच्किचाउँछन् । त्यसैले अन्य खानेकुरा दिएर बच्चालाई भुलाउने गर्छन् ।
यस्तो अवस्थामा स्तनपान गराउनका लागि छुट्टै कक्ष उपलब्ध हुँदा बच्चालाई दूध चुसाउन महिलाहरुलाई सहज हुने आमाहरुको भनाइ छ ।
प्रतिक्रिया