संशयमा सिंगापुर यात्रा !

news

प्रज्ञा तिमल्सिना (इमेज)

काठमाडौं, साउन २१ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि भन्दै यही साउन १८ गते सिंगापुर गएसँगै विभिन्न कोणबाट चर्चा चलेको छ ।

चिकित्सकहरुले प्रधानमन्त्रीको उपचार नेपालमा नै सम्भव रहेको बताउँदै आएपनि प्रधानमन्त्री थप उपचारका लागि भन्दै सिंगापुर गएका हुन् ।

उपचारका लागि उनी सिंगापुर जानुमा यहाँका चिकित्सकहरुप्रति विश्वास नभएर हो वा उनीहरु सक्षम छैनन् या अरु नै कुनै कारण छन् कि भन्ने प्रश्नसमेत उठेको छ ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली गत वर्ष दसैंलगत्तै बिरामी परेपछि उपचारमा संलग्न चिकित्सकहरुले उनको नेपालमा नै उपचार सम्भव रहेको बताएका थिए ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले ‘जीवनशैली परिवर्तन गर्नुभयो भने प्रधानमन्त्रीको स्वास्थ्य पूर्णरुपमा ठीक रहेकाले बाहिर लगेर उपचार गराउनु नपर्ने’ बताएकी थिइन् ।

मिर्गौला प्रत्यारोपण गरिएका कारण प्रधानमन्त्रीले जीवनभर औषधि खानुपर्छ भने औषधिलेसमेत समय–समयमा समस्या ल्याउनसक्ने चिकित्सकहरु बताउँछन् ।

पछिल्लो समय नेपालमा नै उपचार गराउँदै आएका प्रधानमन्त्री ओली गत शनिबार थप उपचारका लागि भन्दै सिंगापुर गएपछि भने उनको स्वास्थ्यसँग जोडिएका विषयमाथि टीका–टिप्पणी गरिएका छन्, चिकित्सा क्षेत्रको स्तरीयता र गुणस्तरीयतालाई लिएरसमेत ।

गत असारमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पनि नेपालमा उपचार नभएकै कारण विदेश जाने अवस्था नरहेको र सबै रोगको उपचार नेपालमा नै सम्भव रहेको भन्दै विदेश नजान सबैलाई आग्रहसमेत गरेका थिए ।

स्वास्थ्यमन्त्री यादवले सरकारी कोषबाट विदेशमा उपचारका लागि रकम नदिने कानुन लागू भइसकेको भन्दै आफ्नै खर्चमा जानेलाई भने रोक्न नसकिने बताएका थिए ।

प्रधानमन्त्री ओली पनि सिंगापुरमा आफ्नै निजी खर्चमा उपचार गराउन गएको सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।

नेपालमा उपचार नहुने रोगको उपचारका लागि विदेश जानु स्वाभाविक देखिएपनि यहीँ उपचार सम्भव हुने रोगको उपचारको नाममा विदेश जानु भने स्वाभाविक मान्न सकिन्न ।

नेपालमा अहिले धेरै रोगहरुको उपचार सम्भव भइसकेको छ । तर, उपचारका लागि बाहिर जानुपर्ने अवस्था अन्त्य नभएसम्म यहाँको चिकित्सा क्षेत्रमा थप प्रगति भने हुनसक्ने देखिँदैन ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...