प्रधानमन्त्री ज्यू, श्राप रोज्ने रहर हुँदैन कसैलाई पनि !

news

 

-सन्जिव कार्की 

प्रिय प्रधानमन्त्री ज्यू,

सादर अभिवादन, 

स्वास्थ्य लाभको कामना ।

सर्वप्रथम हार्दिक धन्यवाद व्यक्त गर्द्छु । आफ्नो उपचार खर्च आफै ब्योहोर्ने तपाईंको निर्णय सुनेर खुसी छु । म जस्तै आम नेपालीलाई खुशीको संचार भएको छ । आफ्नो खर्च आफ्नै सम्पत्ति आर्जन या रिनपानले तिर्ने कुराले पनि खुशी हुनुपर्ने , दङ्ग पर्नुपर्ने र प्रशंसा गर्नुपर्ने हामी नेपालीको खुशीको स्तर कति सानो र कति मजाको, कुन हदको छ । सहजै अनुमान गर्न सकिन्छ । त्यसैले अधिक खुशी र सुखी विश्वका मान्छेहरुमा हाम्रो नाम पनि अघिल्लो पंक्तिमै पर्छ भनेर प्रशंसा हुनेगरेको छ । खुसी हुन दङ्गदास बन्न कुनै ठुलो चमत्कारिक उपलब्धि र आय आर्जन गर्नु पर्दैन, नवीन अन्वेषण र खोजमा लाग्नु पर्दैन । बेस्करी नाम चम्काउनु पर्दैन, सामाजिक सेवा भावमा दत्तचित्त हुनै पर्दैन । सानै झिना मसिना कुराले पनि खुशी र सुखी हुन देखिन सक्ने नेपाली जाति हौं । यसको मतवलव के हो भने हामीले कुनै महान उपलब्धि र कार्य गरेका छैनौं । थोरै कार्य र सफलताले असीमित खुशी मिल्छ । न्यूनतम र आधारभूत दायित्व र कर्तव्य पनि हामीले राम्रोसँग निर्वाह गर्न सकिरहेका छैनौं ।

कहिल्यै भैसीलाई घाँस नहाल्ने छोराले घाँस हाल्दा मख्ख पर्ने वस्तुपालक किसान बाबुको खुशी झैं अनि कहिल्यै एक गाग्रो पानी नल्याउने छोरीले धाराबाट एक गाग्रो पानी ल्याइदिंदा देखिने ग्रामीण आमाको चेहरामा नाच्ने खुशी र सन्तुष्टी जस्तै भएको छ प्रधानमन्त्रीको सिङापुर उपचार खर्च आफैं तिर्ने समाचार पनि ? के ब्यक्तिले आफू बिरामी हुँदा आफ्नो खर्च आफैं ब्यहोर्ने विषय समाचार खुशी र राष्ट्रिय तरंग ल्याउने विषय हो ? विशेष र अचम्म हो ? तर हाम्रा लागि यस्ता विषय र समाचार पनि खुशी र गर्वको कुरा हुन पुगेको छ । कारण हामी आफ्नो न्युनतम दायित्वबाट पनि सधैं च्युत छौं । कर्तव्यबोध बाट जहिल्यै पछि छौँ । अधिकार आवश्यकता भन्दा पनि बढी दावी र माग गर्छौ तर कर्तव्य पालना गर्न हरबखत चुकेका छौ त्यसैले हाम्रो जस्तो देशमा असमचारहरु समाचार बनिरह्न्छ्न । सामान्य समाचार र जानकारीहरु हेड लाइन विशेष बनेर स्थान पाउँछन् । अलि अस्ति नै हाम्रो राष्ट्रपति विद्या भण्डारीले आफैं छाता ओढेको तस्बिर ,समाचार समाचार माध्यमम आयो । खुद्रा मसिना कुरा पनि समाचार बनेर भाइरल भयो । समाचार बन्ने कुराहरू समाचारको प्राथमिकतामा पर्दैनन् ।

बिरामी बाबुको उपचार गर्न नसकेर अत्याधिक तनावको कारण आत्महत्या गर्ने छोराको विवशता समाचार बन्दैन । बिरामी छोराछोरीको उपचारमा आफ्नो शरीर वेचेर पनि बचाउन नसक्ने एउटी आमाको कारुणिक वेदना र कथा देशको प्लानिङ कमिसनको आँखामा पर्दैन । राष्ट्रिय समाचारको हेड लाइन बनेर अन्तर्य र कारण खोजिन्न समाजशास्त्रको अध्येताको लागि रोजिने विषय हुँदैन । तुच्छ प्राणीको सामान्य आत्महत्या र देह त्यागको कुरा बन्छ । बिडम्बना ! प्रधानमन्त्री जसले आफ्नो उपचार खर्च पहिलोपटक आफैं तिर्ने विषय समाचारको पहिलो प्राथमिकता बन्यो । समाचारहरु रंगिए । सरकारका प्रवक्ता सुचना तथा सन्चार मन्त्रीले सगर्व घोषणा गरे ,नाक तन्काए । नेकपा कार्यकर्ता उत्ताउलो गरि लेख्न बोल्न थाले, मानौं सरकारको अर्को उपलब्धिले देश समृद्धिको एउटा चरण पार गरेर अर्को खुटकिलोमा पाइला राख्दैछ ।

प्रिय प्रधानमन्त्री ज्यू,

तपाईं अस्वस्थ भएकोबेला हृदयहिन भएर मैले यसो नभन्नु पर्थ्यो तर देश नै बिरामी पारेर आफ्नो सेवा र सुबिधा मात्रै सबथोक ठान्ने, आफ्नो उपचारमा देशको राष्ट्रिय ढुकुटी स्वाहा पार्ने ,राजनीतिकर्मी र नेताहरू भएको देशमा आम नेपालीको अरन्य रोदन बोल्दा पाप लागे पनि सहुँला बुझौंला । जनताका आँसु पनि केवल बर्खाको धमिलो पानी होइन । पीडा दुखेर आँखाको डिल भत्काएर झरेको दुःखको नदी हो । स्मरण गराउन चाहे राज्यको सम्पत्ति जनताका आँशु, रगत र पसिना हुन् । ठुलाठालु राज्यको उपल्लो निकायमा बस्नेहरुको दाइजो र माइती मावलीले दिएको दक्षिणा पेवा र कोसेली होइन । सबैले समयमा नै हेक्का राख्दा हितकर होला । प्रधानमन्त्रीको उपचार खर्च आफैंले तिर्ने जानकारी आफ्ना सरकारी प्रबक्ता मार्फत भन्न लगाउँदा लाज मान्नुपर्ने हो । किनकी आफ्नो उपचार खर्च आफैं गर्ने झन्डै तीन करोड नेपाली छौँ । तपाईंले के अनौठो र त्याग गर्नु भयो र ? देशले गर्व गरोस ? रोगी बाबु आमा, छोराछोरीको लागि उपचार गर्दा घरखेत गुमेका, ऋणै ऋणले मर्नु न बाच्नु भएका धेरै नेपालीको पीडाको दाँजोमा यहाँको पीडा आर्थिक दृष्टिकोणले त्यति पिडादायी नहोला । अरु मानवीय पक्ष र दुःख शारीरिक कष्ट अरुको जस्तै होला, छ हुन्छ त्यो संवेदना म बुझ्छु ।

संवेदनशील तपाईंको स्वास्थ्यबारे हामीलाई पनि चिन्ता र चासो छ । तर आर्थिक ब्ययभार २०४६ पछि तपाईं र तपाईं जस्ता नेताहरूको लागि कदापि छैन, अर्थ अभावको पीडाले आफ्नो आँखा अघि कलकलाउँदा छोराछोरी गुमाउनुको पीडा तपाईंहरुको लागि छैन । समयमा सुत्केरी गराउन सुबिधा सम्पन्न स्वास्थ केन्द्रमा श्रीमती पुर्‍याउन हेलिकप्टर झिकाउन नसकेर श्रीमती र धर्ती हेर्न टेक्न तयार नवजात वच्चाको लास एकैपटक हेर्न अभिशप्त गरिब लोग्नेको मार्मिक दुःख यहाँहरुलाई थाह छैन । मैले दुखका साथ भन्नुपर्छ यो देशले एउटा ब्यक्तिको लागि धेरै रकम करोडौं खर्च गरेर बचाएको महंगो ब्यक्ति तपाईं हुनुहुन्छ । आधिकारिक श्रोत र जानकारीहरु बाहिर आएसम्म आजसम्म १८ करोड भन्दा बढी रकम तपाईंको उपचारको लागि राज्यले आफ्नो भकारी रित्याएर खर्च गरेको छ ।

प्रधानमन्त्री ज्यू, यो मुलुक त्यही हो जहाँ दस रुपैंयाँको  जीवनजलको अभावमा अझै हजारौं मान्छेको ज्यान जान्छ अनि एउटा मान्छे बचाउन राज्यले करोडौं खर्च गर्नुपर्छ । के यही हो समाजवाद ? असमानताको यो भन्दा फराकिलो ,ठुलो खाडल र अन्तर अरु के हुन सक्छ ? चोट लाग्दा दुख्ने शरीर, रुने आँखा सबैको एकै होइन र ? जिन्दगीको मूल्य पद र पहुँचले किन निर्धारण गरिन्छ ? गरिबको जिन्दगी जिन्दगी होइन र ? जबसम्म जिन्दगीको मुल्य पद र पहुँचले निर्धारण गरिन्छ तवसम्म मानवीयता जिवित रहन्न । समाजवादको काल्पनिक आदर्श केवल देखाउने हात्तीको दांत जस्तो मात्रै हो । तपाईंको लागि मात्रै खर्च गरीसकेको रकमको मुल्यको मूल्य लेखाजोखा गरौ त ? १८ करोड खर्च गरेर कति नेपालीलाई वचाउन सकिन्थ्यो ? कति जीवनजल र सिटामोल देशको कुना कन्दरामा पुर्‍याउन पाइँन्थ्यो ? कति स्वास्थ्य दरबन्दी गाउँ गाउँमा पुर्‍याउन सहज हुन्थ्यो ? कतिवटा सुबिधा समपन्न स्वास्थ केन्द्र दुर्गममा बनाउन मिल्थ्यो ? धेरै नेता , पहुँचवालाहरुको लागि राज्यले गरेको खर्बौं रकम जनताको स्वास्थ्यको लागि पनि हुन सकेको भए आफ्ना नेताहरुको स्वास्थ्यको लागि गरिएको खर्चमा प्रश्न उठाउनु पर्ने थिएन ।

मैंले यसो लेख्दा हात कमाउनु पर्ने हुन्थ्यो मुटु दुखाउनु पर्ने हुन्थ्यो कतै अमानवीयता ममा हावी भयो कि भनेर तर्सनु पर्ने हुन्थ्यो । मेरा पनि आफन्त नजिकका नातेदार बिरामी छन हुन्छन् भन्ने कुराले अत्याउथ्यो । मानवीय संवेदना भुले कि भनेर डराउन पर्थ्यो । तर असमानताको फरक पनि यतिधेरै र यति ठुलो भए पछि बोल्न मन लाग्यो । तसर्थ विरामी थाहा पाएर पनि प्रधानमन्त्री समक्ष रैतीको विनित वेदना मुखरित गर्दैछु । माफ पाँउ यतिबेला सुस्वास्थ्यको कामना गर्ने समय हो । विद्धानले मुर्खबाट सिक्नुपर्छ रे मैले मान्छे विरामी भएको बेला मुर्खता पूर्वक अमानवीय जस्तो लाग्ने कुरा गरे प्रिय प्रधानमन्त्री ज्यू, यो रैतीबाट केही सिक्नुस ।

प्रिय प्रधानमन्त्री ज्यू,

यदि तपाई निर्धन र सर्वहारा हुनुभएको भए तपाईंको स्वास्थ्य बनाउन, जीवन वचाउन राज्यले गरेको खर्चको बारेमा प्रश्न उठाउँदा मानवीय नैतिकताको सबाल खडा हुन्थ्यो तर तपाईं राजनीति जसको नाममा गरे पनि आफू करोडौं करोड सम्पत्तिको मालिक र हकदार हुनुहुन्छ । भलै दाइजोमा नै प्राप्त भए पनि कमरेड राधिका शाक्यको नाममा भक्तपुरमा रहेको विशाल बंगला र जग्गा सामान्य नेपालीको औकात र कल्पना भन्दा बढीको सम्पत्ति हो । मैंले यहाँनेर भन्नैपर्ने हुन्छ तपाईं बिरामी हुँदा सामान्य नेपालीले आफ्नो रुखोपाखो जग्गा बेचेर आफ्नो स्वास्थ्य किने झै तपाईंले आफ्नो सम्पत्ति वेचेर स्वास्थ्य किन्नु परेको छैन राज्यले नै आफ्नो दायित्व भित्र तपाईंको स्वास्थ्य आजसम्म राखेको छ । तर अरु जनताको पिडा र ब्यथा हेर्नुस त भएभरको जायजेथा सबै सकेर पनि सजिलोसँग उपचार पाउने अवस्था छैन । आखिर यसो किन भयो ? वि.स. २०४६ पछि देशको ब्यबस्थापन सबै तपाईंहरुकै हातले गर्नु भएको होइन र ? आज देश तपाईंको एकछत्र शासनमा छ यो अवस्था जनताले माया गरेर विश्वास र भरोसा गरेर नै प्राप्त भएको हो । आफ्नो रगत, पसिना खर्च गरेर देशको ढुकुटीभरी दिने जनताको आँसु र रगतले तपाईंको प्राण वचाउन योगदान गरेका छन अब जनताको लागि योगदान गर्ने पालो तपाईंको पनि हो । देशको मुल अभिभावक ,कार्यकारी अधिकार प्रयोग गर्ने बैधानिक हैसियत प्राप्त ब्यक्ति यतिखेर तपाईंले चाहेको नहुने केही छैन । तपाईंलाई अलमल्याउने र भुलभुलैयामा राख्ने सामर्थ्य पनि कसैको छैन त्यसैले एउटा उत्कृष्ट भए पनि निकृस्ट भए पनि सुझाव दिंदैछु कृपया यो सुझाव ब्यक्ति केपी ओलीको लागि मात्रै होइन राज्य दोहन गर्न पल्केका सारा नेतागणको लागि हो ।

सर्वप्रथम आजसम्म राज्यको तर्फबाट तपाईंको स्वास्थ उपचारको लागि खर्च भनिएको जति हो एकिन गरेर १८ करोड राज्यको ढुकुटीमा जम्मा गर्नुस जसको लागि बालकोट दरवार पुरै वेच्नु नपर्ला सायद ? कम्युनिस्ट पार्टीको नेतालाई सम्पत्तिको मोह नभएकै बेस । यति रकमको जोहो राज्यको ढुकुटीमा जम्मा गरेपछि तपाईंमा उच्च कोटीको नैतिकता देखिन्छ यो नैतिक तागतको बलले अरु थुप्रै विकृति विरुद्ध जेहाद छोडन मद्दत गर्छ । भुतप्रेत, पिसाच सबैसबै गायब हुनेछन् । अनैतिकताको खेती गर्नेहरू तपाईंको अघिल्तिर पर्न बाट डराउने छन । रोग बिघ्न बाधा अडचनहरु एकाएक गायब हुनेछन् । साच्चै चमत्कारिक परिवर्तन देखा पर्नेछ । जनताको स्वास्थ र  शिक्षाको लागि उदाहरणीय काम गर्नुस सबैभन्दा ठुलो सफलता र खुशी मिल्नेछ । शिक्षा सर्वसुलभ, सस्तो र गुणस्तरीय होस स्वास्थ्य समस्या नबनोस ।

जनताको उपचार स्वदेशमा बिनाभेदभाव, पहुचमा आधारित भएर होइन यो देशको नागरिक हुनुको नाताले उपचार नागरिकको मौलिक हक भनेर होइन गरेर होस । नेताको उपचार विदेशमा मात्रै होइन चन्द्र लोक, मगंललोकमा गरेर गरे पनि जनताको आपत्ति र चित्त दुखाइ हुनेछैन । जनतालाई भेद गरियो भने राज्य जनता स्वास्थप्रति उत्तरदायी नबनेर नेताहरुको लागि मात्रै भयो भने श्राप जनताको मुखमा हुनेछ र त्यसले पिरोल्नेछ नेतालाई । भ्रस्टाचारमा शून्य सहनशीलता नारा भएको छ तर सरकारका मन्त्रीहरू भ्रष्ट छ्न । जुन कुरा मेरो आरोप हैन नेकपाका नेता घनश्याम भुसालको भनाइ हो । उनी भन्छन् मन्त्री अरब कमाउने ध्याउन्नमा अनि मन्त्रीका पिए करोडको धन्दामा, अनि कसरी हुन्छ विकास ,सुसाशन र समृद्धिको यात्रा ? राम्रो काम गर्नुस जनताको आर्शिवाद तपाईंलाई नलाग्ने कुरै छैन । छुट्टै आभा र उचाई प्राप्त हुनेछ । आजसम्म लागेका लान्छना र आरोपबाट मुक्ति मिल्नेछ । विश्वास गर्नुस या नगर्नुस स्वर्गको सहज यात्रा हुनेछ । लोकले सदैव केपीको जय जय गर्नेछ । लोक रिझाउनु जति सम्पत्ति आर्जन अरु के हुन सक्छ र एक नेताको लागि । पार्टीको  नेताबाट प्रधानमन्त्री,  प्रधानमन्त्रीबाट राजनेता बन्नुस, शुभकामना ! दीर्घजीवन र सेवक प्रधानमन्त्रीको दर्जामा राख्न पाइयोस दिलभित्र सदा सदा ।

प्रिय प्रधानमन्त्री ज्यू , श्राप र आशिर्वाद दुवै लाग्ने कुराहरु हुन । रोजाइ आशीर्वाद पाउने कि श्राप त्यो तपाईंको छनौटको अधिकार हो आशा छ श्राप रोज्ने रहर हुँदैन कसैलाई पनि ?

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...