‘खोरको बाख्रो हराउनु र बनको चितुवा कराउनु’ मात्रै कि पाक्दैछ केही खिचडी ?

news

राजन कुईंकेल

नेपाल दक्षिण एशिया वा एशियाको मात्र होइन, संसारकै पुरानो भू–राजनीतिक इतिहास भएको मुलुक हो । यो भू–खण्डमा निकै देशको नक्शा मात्र फेरबदल भएन कतिको त अस्तित्व नै नामेट भयो । दक्षिणी छिमेकी भारत वा उत्तरी छिमेकी चीन इतिहासमा पटक पटक कसै न कसैको शक्तिका अघिल्तिर घुँडा टेक्न बाध्य भए । 

आफ्नो साम्राज्यमा सूर्य नअस्ताउने शक्ति भएको ब्रिटेनले संसारलाई उपनिवेश बनाइरहँदा हाम्रा पुस्ता खुकुरी, घुँएत्रा र अरिंगालको गोला खन्याएर भए पनि ब्रिटिशका गोला, बारुद र तोपविरुद्ध निडर जाइलागिरहे । त्यसैले त आज पनि हामी गर्वका साथ भन्ने गर्छौं, ‘साम्राज्य दुई हारे, हारेन शान हाम्रो’ । 

हुनत समयले ठूलो कोल्टे फेरिसकेको छ । युग विशुद्ध वैश्य बनेको छ । मानक र सम्बन्धहरु पैसाले तय हुन थालेका छन् । भूगोल कब्जाभन्दा प्रविधि र ज्ञानले अरुलाई कज्याउने युगमा छौं, हामी । शक्ति र सत्तासँग सँधै जोडिएर आउने अर्को पक्ष छ षड्यन्त्र । यसलाई अर्को भाषामा कूटनीति पनि भन्न सक्छौं । 

कूटनीति कूटिलता हो । कठोर, षड्यन्त्र, दाउपेच, कपट, छल, वक्र, भ्रम र स्वार्थ मात्र यसको विशेषता होइन, आवश्यकतानुसार कोमलता, ममता, प्रेम, आलिंगन, मुस्कान, मैथुन, मधुर/मिष्ठान्न पनि उत्तिकै घुलित हुन्छ । पूर्वीय सभ्यतामा कौटिल्यले यही स्थापित गरे । पश्चिमा सभ्यतामा सोक्रेटस, प्लेटोदेखि माकियावेलीसम्मले यिनै तथ्यहरुलाई अगाडी बढाउँदै ल्याए । 

जुन जुन देशका शासकले यि तत्वलाई सतर्कतापूर्वक आफ्ना पक्षमा पार्दै गए तिनले धर्तीमा आफ्नो फरक अस्तित्व स्थापित गरे । जसले सकेनन्, डाइनोसरझै विलुप्त भए । त्यसैले त पृथ्वीमा नयाँ नयाँ मुलुक बन्ने र मेटिने क्रम निश्चित कालखण्डमा भइरहे । नक्शाहरु अदल बदलको क्रम रोकिएन । 

नेपाल शताब्दीऔंदेखि त्यस्तै भू–राजनीतिक अक्करमा आफ्नो अस्तित्व जोगाउँदै आएको मुलुक हो । आफ्नो अस्तित्व जोगाउन यहाँका शासकहरुले गुरिल्ला युद्ध मात्र गरेनन्, आवश्यक पर्दा छोरीबेटीको विवाह सम्बन्धमार्फत् पनि भूगोल र सत्ता जोगाउन सफल भए । अनेकन वंश र वादले मुलुकमा शासन गर्दै आयो । युगानुसार राजा मात्र बदलिएनन् रंकले पनि आफुलाई फेर्दै लगे ।  

जतिबेला शासकहरु माटोका लागि जन्मन्थे र मर्थे, त्यतिबेला देश र जनताको शान र शौकत वृद्धि हुन्थ्यो । जुन बेला लम्पट शासकको हातमा सत्ता र शक्ति पुग्दथ्यो राष्ट्रकै अस्तित्वमा प्रश्न चिह्न लाग्दथ्यो । यस्ता दृश्य राजतन्त्र र जनतन्त्र दुबै व्यवस्थामा अघाउने गरि देखियो । 

कामूक, लम्पट, आशक्त र अयोग्य शासकका चरित्र लगभग उस्तै देखिए । जसरी शूर, शौर्य र शक्त शासकहरु उस्तै कोटीमा उभिए । अर्काको वैशाखी टेकेर शक्ति हत्याउनु र आफ्नै शौर्यमा शक्ति आर्जन गर्नुबीचको भेद त हुने नै भयो ।  

हामी तीन दशक यता कुनै न कुनै रुपको लोकतन्त्र र डेढ दशक यता त गणतन्त्रकै अभ्यास गरिरहेका छौं । जनता आफै सार्वभौम छौं । जनताकै प्रतिनिधि हौं भन्नेहरुले शासन सत्तामा भोगाधिकार जमाएका छन् । वर्षौवर्ष अरुलाई धारे हात लगाएर सत्तोश्राप गर्नेहरुकै हातमा मुलुक निर्माणको लगाम पुगेको छ । तर देश झन् बढी झन् कमजोर, जर्जर । जनता झनै निःसहाय, निरुपाय ठान्दै छन् । किन ? 

मुलुकको गोप्यतामाथि वाह्य अतिक्रमण कसरी बढिरहेको छ ? सार्वभौम जनताको प्रतिनिधि हौं भन्ने शासकका शयनकक्षसम्म विदेशी जासूसहरु कसरी नाचिरहेका छन् ? रात विरात त्यस्ता जासूसहरुसँग गोप्य भेटका नाममा के कस्ता लेनदेन गरिँदैछ ? यसबारे २१ औं शताब्दीका नागरिक बेखबर रहनुपर्ने कस्तो बाध्यता ?

काठमाडौंको सत्ता राजनीतिमा मुलुक बाहिरको छिटा मात्र होइन पानी नै ओइरिएको घटना ‘सार्वभौम’ नागरिकले ‘स्वाभीमानी’ नेताका हर्कतबाट पटक पटक देखे ब्यहोरेका छन् । पटक पटकको आन्दोलनमा बाहिरियाहरुको योगदान, घूसपैठ वा योजना कति रह्यो त्यो इतिहासले कुनै दिन समीक्षा गर्ला नै । त्यसले हामी कति सार्वभौम ठहरियौं र हाम्रो प्रजातन्त्र कति सामथ्र्यवान् रह्यो भन्ने चाहिं आँखै अगाडी झलझली देखिएकै छ । 

बैरीको उक्साहटमा सहोदर दाजुभाई/दिदीबहिनी मारेर सत्ता र शक्ति हत्याउने पुरुषार्थ गर्नेहरुको भीडमा यि दृश्य दोहोरिरहनु र प्रतिरोधभन्दा दैवको लीला भन्दै कर्मलाई सरापिरहनुचाहिं हाम्रो नियति नै बनेको छ ।      

यस्तो दृश्य पटक पटक देखेकाहरु पछिल्लो हप्ता यस्तै दृश्य दोहोरिएकोमा निकै कौतूहलतापूर्वक हेरिरहेका छन् । कतै मुलुकमा फेरि विभिन्न कुनाबाट केहि न केही रचिँदै त छैन भन्ने सोच्दैछन् । खासमा यहि साउन ४ गते भारतीय जासूसी संस्था ‘रअ’ का नवनियुक्त प्रमुख सामन्त गोयलको आगमन र उनका गोप्य भेटवार्ताहरुले यो आशंका जन्माएको हो । उनको नेपाल आगमन र भारत फिर्तीपछि नेपालमा बढेको सल्बलाहटले पनि अर्को आशंकाचाहिं बढाएकै छ ।  

पहिलो पक्ष त गोयलको आगमनलाई यति धेरै गोप्य राख्न खोजियो कि त्यसको सूचना कतैबाट चुहिएला भनेर अत्यधिक सतर्कता अपनाइएको थियो । होटलसमेत गोप्य रुपमा बुक गराइएको थियो । त्यसमा पनि एकातिर होटल बुक गराएर अर्कातिर भेटको चाँजोपाँजो मिलाइएको थियो । 

अर्काे पक्ष देशका प्रधानमन्त्री केपी ओली, सत्तारुढ दलकै अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासम्मले उनीसँग निकै गोप्य ढंगले भेट सकाए । पूर्वराजा ज्ञानेन्द्रले पनि गोयलसँग भेटेको खबर आयो तर उनको सचिवालयले त्यसको खण्डन गर्यो । उनको दर्शन भेटमा पुग्नेमा अरु दर्जनौं नेता रहे । भेटको खबर ‘रअ’ले दिने त कुरा थिएन नै, ‘सार्वभौम’ नेपालीका ‘स्वाभीमानी’ प्रतिनिधिहरुले पनि बिरालाले ‘गुहु’ लुकाएझै लुकाउने प्रयत्न गरे । तर सञ्चारमाध्यमले समाचार छापेपछि पनि त्यसलाई होइन भन्ने असफल प्रयासको ढाकछोपमा उनीहरु जुटे । अघिपछि निकै नै राष्ट्रवादी ठाँटमा पेश हुने सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पनि नेताहरुले ‘रअ’ का प्रतिनिधिलाई भेट्नै नहुने भन्ने के छ र भन्दै बचाउ गर्न भ्याए । 

अनि शुरु भयो नेताहरुको बिदा र उपचारको सिलसिला । सत्तारुढ दलका ‘सर्वहारा’ अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल विरामी पत्नीलाई बिदा मनाइदिन मध्यपूर्वको दुबई हान्निए । सपरिवार चार दिने बिदा मनाएर दाहाल फर्किए लगत्तै अर्का ‘सर्वहारा’ अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर लागे । 

सिंगापुरमा लागेको उपचार खर्च आफै ब्यहोर्ने डंका पिटेर सिंगापुर पुगेका ओली कस्ता व्यक्तिको खर्चमा उपचार गराउँदैछन् भन्ने धोती फुस्कन भने धेरै समय लागेन । ‘मेडिकल माफिया’को ट्याग लागेका बसरुद्दिन अन्सारी स्वाभीमानी प्रधानमन्त्रीको अघिपछि मात्रै देखिएनन्, सेल्फीसमेत हानेर सामाजिक सञ्जालमा पोष्ट गर्न भ्याए । यसले ओलीले आफ्नो उपचार आफ्नै खर्चमा गराउँदै रहेछन् भन्ने जनतालाई राम्रै सूचना मिल्यो । 

साउन १८ गते सिंगापुर हान्निएका प्रधानमन्त्री ओलीले शुक्रवार साउन २४ मा स्वदेश फर्कने भने पनि अरु दुई दिन बसाई लम्ब्याएका छन् । उनी आइतवार २६ गते मात्र स्वदेश फर्कने छन् । बरु यहि बेला ‘नितान्त निजी काम’ भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्डको राजधानी बैंकक हान्निए । 

यसरी ‘रअ’ प्रमुख गोयलको भेटपछि विभिन्न बहानामा एकपछि अर्को गर्दै शीर्ष नेताहरु देशबाट बाहिरिनुमा कुन संयोगले काम गरेको छ ? बिगतमा पनि यस्तै ‘दर्शनभेट’ पछि हुने सल्बलाहटले मुलुकको राजनीतिक पोखरीको पानी धमिल्याएको दृष्टान्त रहेको सन्दर्भमा नागरिकमा आशंका बढ्नु स्वाभाविक हो । यो कतै ‘खोरको बाख्रो हराउनु र बनको चितुवा कराउनु’ मात्रै हो वा पर्दा पछाडी कुनै खिचडी पकाईदै छ ?

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...