यी हुन् अभियुक्तको ‘स्केच’ बनाउने प्रहरी (भिडियो)

news

गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज)

काठमाडौं, साउन २८ । अपराध अनुसन्धानमा आधुनिक प्रविधि भित्र्याउन नसके पनि ‘स्केच’ अर्थात् कुनैपनि वस्तुको प्रतिरुप बनाउने कलामार्फत् नेपाल प्रहरीले अपराधी पक्राउमा सफलता पाएको छ ।

अपराध अनुसन्धानमा महत्वपूर्ण उपाय मानिने स्केचलाई प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल (इन्टरपोल)लेसमेत निकै प्रयोग गर्ने गर्छ ।

स्केच अर्थात् कुनैपनि वस्तु या व्यक्तिको प्रतिरुप तयार पार्ने कला । स्केचमार्फत् अपराधीसम्म पुग्नु प्रहरीको पुरानो तर निकै सफल अनुसन्धान विधि हो ।

स्केचकै आधारमा विश्वका एकसे एक खुंखार अपराधीहरु पनि प्रहरीको पञ्जामा परेका छन् । कुनैपनि हत्याकान्ड होस् वा लागुऔषध तस्करी वा लुटेरा नै किन नहुन् ।

आपराधिक क्रियाकलापमा संलग्न रहि फरार व्यक्तिको स्केचमार्फत् विश्वभरका प्रहरीले अपराध अनुसन्धानमा सफलता पाएका छन् ।

यसका लागि ‘फाइन आर्ट’ वा त्योभन्दा पनि उच्च प्रकृतिको ‘फरेन्सिक आर्ट’ पढेका व्यक्ति नै स्केच विशेषज्ञ हुने गरेका छन् । जसले तयार पारेको स्केचको आधारमा फरार अभियुक्त पत्ता लगाउन प्रहरी सक्रिय हुन्छ ।

पीडितले दिएको हुलिया बयानको आधारमा स्केच बनाएर थुप्रै अपराधीहरुलाई पक्राउ गर्न नेपाल प्रहरी पनि सफल भएको छ । यसमै खटिएका छन्, प्रहरी नायब निरीक्षक योगेश महर्जन ।

उनले विगत ९ वर्षदेखि अभियुक्तको स्केच तयार पार्ने काम गर्दै आएका छन् ।

घटनास्थलका प्रत्यक्षदर्शी वा पक्राउ परेका अभियुक्तको बयानका आधारमा उनले स्केच तयार पार्ने गर्छन् ।

महानगरीय अपराध महाशाखामा कार्यरत् महर्जनले नेपालमा घटेका ठूला–ठूला अपराधका घटनामा आफूले स्केच तयार पारेको बताउँछन् ।

प्रत्यक्षदर्शीले हुलिया बताएको आधारमा स्केच तयार पार्ने गरेका योगेशले हुलियाकै भरमा आफूले आकृतिको स्वरुप तयार पार्ने गरेको जानकारी दिए ।

स्केच बनाउनुका पनि आफ्नै चुनौती र जटिलताहरु छन् । घटनालगत्तै स्केच बनाउँदा धेरै हदसम्म मिलाउन सकिन्छ ।

यसका लागि प्रत्यक्षदर्शीले अपराधीलाई कति सम्झिएको छ र उसले कति भन्नसक्छ भन्ने कुराले पनि स्केच मिल्ने/नमिल्ने निर्धारण हुन्छ ।

कुनैपनि आपराधिक क्रियाकलापमा सहयोगीकारुपमा रहेको स्केच औंठाछापभन्दा केही हदसम्म कमजोर भएतापनि पछिल्लो समय यसले आपराधिक घटनाहरुको पर्दाफास गर्न भने सघाएको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...