युरोपियन च्याम्पियन्स लिग : प्ले अफ् खेल्ने अन्तिम १२ टोलीको टुंगो लाग्यो

news

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल छनौटको प्ले–अफ् समिकरण पूरा भएको छ ।

गएराति भएको दोस्रो चरणको छनौट खेलहरुपछि प्ले अफ् खेल्ने अन्तिम १२ टोलीको टुंगो लागेको हो ।

गत सिजनको च्याम्पियन्स लिगको उपविजेता नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमले प्ले अफ्मा साइप्रसको अपोइल निकोसियासँग खेल्ने तय भएको छ ।

यसैगरी रोमानियाको सि.एफ.आर क्लुजले चेक गणतन्त्रको स्लाभिया प्रागसँग खेल्दा बेल्जीयमको क्लब ब्रुजले अष्ट्रियाको लिन्जसँग खेल्नेछ ।

च्याम्पियन्स लिग प्ले–अफ्का अन्य खेलहरुमा क्रोएसियाको डाइनामो जाग्रेबले नर्वेको रोजनवर्गसँग, स्विट्जरल्याण्डको योङ ब्वाइजले सर्वियाको रेडस्टार बेलग्रेडसँग तथा ग्रिसको ओलम्पियाकोसले रुसको क्रास्नोदारसँग खेल्नेछन् ।

यी ६ वटा प्ले–अफ्का विजेता टोलीहरु च्याम्पियन्स लिग फुटबलका लागि छानिनेछन् ।

पराजित हुने टोलीहरु युरोपा लिगमा झर्नेछन् । च्याम्पियन्स लिगको समुह चरणको खेल तालिका यही अगष्ट २८ तारिखमा सार्वजनिक गरिनेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...