रोपेको एउटा, अर्कै उम्रियो ! संघीयता धान्न नसकेकै हो ?

news

काठमाडौं, साउन २९ । संघीयताबारे पछिल्लो समय सर्वसाधारणले गर्ने एउटा टिप्पणी छ– संघीयताको सबैभन्दा बढी फाइदा कसैले लिएका छन् भने तिनै नेता हुन् ।

हुन पनि संघ, प्रदेश र स्थानीय तहसम्म जनप्रतिनिधिको लस्कर हेर्दा लाग्छ– मुलुकमा कायापलट नै हुँदैछ । तर, जब ती जनप्रतिनिधिहरुले आफ्नो सुविधाका लागि वकालत गर्न थाल्छन्, सवारी साधन खरिदमा अरबौं रकम खर्चिएको तथ्यांक सार्वजनिक हुन्छ र प्राकृतिक विपत्तिबाट प्रभावित भएकाहरु हप्तौंसम्म पनि कतैबाट राहत पाउन नसकेको गुनासो गर्छन्– अनि लाग्छ... जुन जोगी आए पनि कानै चिरेका । 

संघीयताको उपलब्धि महसुस गर्न नसकेका जनताले प्रदेशमा मुख्यमन्त्री, प्रादेशिक मन्त्रीहरु, प्रदेशसभा सदस्यहरुको लस्कर, उनीहरुका लागि सुविधा, बजेटलगायतमा ठूलो खर्च हुँदै आएको प्रत्यक्ष महसुस गरेका छन् । त्यसको तुलनामा संघीयताका कारण आफू प्रत्यक्ष लाभान्वित भएको महसुस गर्ने जनसंख्या नगन्य छ ।

जनतामा बढ्दो निराशा, संघीयताप्रतिको वितृष्णालाई मुलधारको राजनीतिक नेतृत्वले पनि महसुस गरिरहेको छ । केहीदिन अघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले यस प्रकारको संघीयता आफूहरुले नसोचेको भन्ने आशयसहितको अभिव्यक्ति दिए । ‘हामीले त जनतालाई घरदैलोमा नै सेवा दिने भनेका हौं,’ उनले भने, ‘हामीले रोपेको एउटा, अर्कै उम्रेलाजस्तो भएको छ ।’

दाहालको यस्तो भनाइप्रति विभिन्न राजनीतिक दलका नेताहरुले नै प्रतिक्रियात्मक टिप्पणी गरेर बहसलाई अझ पेचिलो बनाएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दाहालको भनाइमाथि प्रतिक्रिया जनाउँदै ट्वीट गरेका छन्, ‘कृषिमा स्तानक कमरेडलाई थाहा हुनुपर्ने–जस्तो बीउ रोप्यो त्यस्तै बिरुवा उम्रन्छ ।’

राज्य पुनर्संरचना समिति/आयोगले पहिचानसहित १० प्रदेशको संघीयताको बीउ सिफारिस गरेको जिकिर गर्दै भट्टराईले दाहाललाई लक्षित गरी ट्वीटमा भनेका छन्, ‘तपाईले एमाले/नेकासँग सत्ता बाँडचुँड गर्न पञ्चायती विकास क्षेत्र मोडेलको ७ प्रदेशको बीउ रोप्नुभो ।’ अहिले त्यही फल फलिरहेको भट्टराईको टिप्पणी छ ।

डा. भट्टराईको भनाइप्रति राप्रपा अध्यक्ष कमल थापाले टिप्पणी गर्दै जस्तो बीउ रोप्यो त्यस्तै उम्रन्छ भन्ने जान्नका लागि कृषि स्नातक हुन जरुरी नरहेको प्रष्ट पारेका छन् । ‘वास्तवमा विद्यमान असफलता/अन्तरविरोध प्रदेशको संख्या थपघटले होइन,’ ट्वीट गर्दै उनले लेखेका छन्, ‘नेपालको आर्थिक, सामाजिक परिवेशले संघीयता नै धान्न सक्दैन । त्यसैले यसबारे पुनर्विचार गरौं वा व्यापक बहससहित जनस्वामित्व हुने गरी जनमत संग्रह गरौं ।’

संघीयताको अभ्यासका क्रममा भइरहेका त्रुटि, देखा परेका विकृति, आर्थिक बोझ र जनस्तरमा बढ्दो निराशाले राष्ट्रिय जनमोर्चा पार्टीको अडानलाई पुष्टि गरेको छ । सो पार्टीले सुरुदेखि नै संघीयताको विरोध गर्दै आएको थियो । संघीयता नेपालजस्तो मुलुकले धान्न नसक्ने सो पार्टीको अडान छ ।

उता, आफूहरुकै कारण संघीयता आएको दावी गर्दै आएका दाहालले समेत यतिबेला ‘रोपेको एउटा तर अर्कै उम्रिन खोजेको’ भन्दै आफूहरुको सोचभन्दा विल्कुल फरक परिस्थिति विकसित हुँदै गएको संकेत गरेका छन् । संघीयताका ‘जन्मदाता’ भनिएकाहरु नै ‘त्रुटि’ महसुस गर्न थालिसकेका हुन् भने त्यसलाई सच्याउन ढिला गर्नु हुँदैन ।

संघ र प्रदेशबीच अधिकारका विषयमा बढ्दो विवाद, स्थानीय तह र प्रदेशबीच समन्वयको अभावले यो संयन्त्रमा कतै न कतै समस्या छ भनेर औंल्याइरहेको छ । विश्वप्रख्यात विमान निर्माण कम्पनी ‘बोइङ’ को पछिल्लो उत्पादन ‘७३७ म्याक्स’ मा सुरुमै केही प्राविधिक त्रुटि नदेखिएको होइन । त्रुटिलाई नजरअन्दाज गर्दै बसेका कारण नै एकपछि अर्को गर्दै ठूला दुर्घटना भएपछि उसका सबै विमान ‘ग्राउन्डेड’ भए । हामी त्यही अवस्थामा पुग्ने कि बेलैमा सच्चिने ? राजनीतिक नेतृत्वले मनन् गर्न जरुरी छ ।

राजा–महाराजा र एकात्मक शासन व्यवस्थामाथि तमाम विकृतिको दोष थुपार्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याइएको छ । अब दोष थुपार्नका लागि हामीसँग न राजा–महाराजा छन्, न एकात्मक शासन प्रणाली नै छ । तीन तहका सरकार र तीनै तहमा जनताका प्रतिनिधि छन् । राजनीतिक स्थिरता छ । एउटै पार्टीले सुविधाजनक बहुमतमात्र होइन, झण्डै दुई तिहाइ बहुमत हासिल गरेको अवस्था छ । अब पनि मुलुकमा विकास भएन र जनताले परिवर्तनको महसुस गर्न सकेनन् भने जनताले विकल्प नखोज्लान् भन्न सकिँदैन ।

डा. भट्टराईले व्यक्त गरेको विचारमा आएका सर्वसाधारणका प्रतिक्रिया जस्ताको तस्तै

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...