पाकिस्तानी प्रधानमन्त्री खान पाकिस्तान प्रशासित कश्मिरको भ्रमणमा

news

मुजफरावाद (पाकिस्तान), साउन २९ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी कश्मिरको भ्रमण गरेका छन् ।

प्रधानमन्त्री खानले काश्मिर भ्रमणपश्चात् नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ ।

भारत सरकारले भारत प्रशासित जम्मु कश्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुवै मुलुकबीच तनावको स्थिति छ ।

पाकिस्तानले भारतको यस कदमकाविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब बढाउने निर्णय गरेको छ ।

पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपत्कालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्समक्ष औपचारिक अनुरोध गरिसकेको छ ।

पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुईदेशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ ।

विज्ञहरुकाअनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुनेछैन ।

यसै साताको सुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदमविरुद्ध अन्तर्राष्ट्रियजगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका थिए ।

अगस्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो ।

दुई मुलुकको विभाजनकाक्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए । रासस/एएफपी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...